धनुषा सीमाको दशगजामा २४ नेपाली अलपत्र

भारतबाट आएका २४ जना नेपाली धनुषा सीमास्थित दशगजा क्षेत्रमा अलपत्र परेका छन्। भारतको विभिन्न स्थानबाट पैदल हिंडेर आएका उनीहरु सुरक्षा निकायले नेपाल प्रवेश गर्न रोक लगाएपछि दशगजामै रोकिएका हुन्।

भारतमा कोरोना महामारीसँगै ‘लकडाउन’ हुँदा कामबाट हटाइएको उनीहरु पैदल हिंडेर नाकासम्म पुगेपनि सशस्त्र प्रहरीले उनीहरुलाई नेपाल प्रवेश गर्न दिएको छैन्।

धनुषाको महिनाथपुर नाकामा १३ र इनरवा नाकामा ११ जना रोकिएका छन् । महिनाथपुर नाकामा १३ जना आइतबार रातिदेखि अलपत्र परेका छन् भने इनर्वा नाकामा सोमबार बिहान ११ जना आइपुगेको बताइएको छ।

भारतबाट कोशौं हिंडेर गाउँ नजिक आइपुगेका उनीहरु दशगजामै रोकिएपछि घरसम्म पुग्न पाएका छैनन् । महिला तथा बालबालिकासहित रहेका उनीहरुलाई तत्काल स्थानीय तहले पालको टांगेर बस्ने व्यवस्था मिलाइ दिएको छ । दशगजामा फसेकाहरुलाई खानापीनको व्यवस्थापनि स्थानीय तहले गरिदिएको बताइएको छ ।

विदेह नगरपालिकाअन्तर्गत रहेको महिनाथपुर दशगजामा दुई बालबालिकासहित विदेह नगरपालिकाका २, सवैला नगरपालिकाका ३, औरही गाउँपालिकाका ३ र महोत्तरी भंगहा नगरपालिकाको ३ जना अलपत्र परेको विदेह नगरपालिकाका मेयर बेचन दासले जानकारी दिए।

दशगजामा अलपत्र परेकाहरुलाई नेपाल प्रवेश गर्न दिन आफूहरु आइतबार रातिदेखि प्रयासरत रहेको दासले बताए । ‘प्रमुख जिल्ला अधिकारीसँग कुरा गरेको छु,’ उनले भने, ‘उहाँले माथिको आदेश नआएसम्म नाका प्रवेश गर्न नमिल्ने बताउनु भएको छ । उनीहरु जहाँ छन् त्यहिँ रोक्न भन्नु भएको छ।’

१८ दिनअघि नेपालतर्फ आउँदा गर्दा सशस्त्र प्रहरी र भारतको एसएसबीले समन्वय गरेर उनीहरुलाई क्वारेन्टिाइनमा बस्न लगाएको भन्दै उनले क्वारेन्टाइनमा बसेर आएकाहरुलाई दशगजामा अलपत्रपार्न नहुने बताए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले अहिलेको अवस्थामा सीमा कटेर नेपालतर्फ आउन नसकिने बताए । ‘कोरोना महामारीका कारण दुई देशबीच आवतजावत पूर्ण रुपले बन्द भएको छ, अहिलेको अवस्थामा सीमा कटेर आउन मिल्दैन,’ उनले भने ।

११ भारतीय नियन्त्रणमा

लुकिछिपी सीमा पार गर्न खोजेका ११ जना भारतीयलाई महोत्तरीबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरीको मनरासिस्वा नगरपालिका–९ बथनाहा हुँदै नेपालबाट भारत जान खोजेका ११ भारतीयलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो । पश्चिम बंगाल कोलकत्ता घर भएका उनीहरु महोत्तरीको एकडारा गाउँपालिका–५ कोल्हुवा बगेयामा लामो समयदेखि जस्तापाताका भाँडाकुँडा र ड्रम बनाउने काम गर्दै आइरहेको मनरासिस्वा नगरपालिका–९ का वडाध्यक्ष बलिराम रायले बताए ।

नियन्त्रणमा लिइएका उनीहरुलाई सम्बन्धित गाउँ एकडारा नै पठाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । उनीहरुलाई क्वारेन्टाइनमा नराखेर तत्काल जुन गाउँबाट आएका हुन त्यहिँ पठाइएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय