महामारीका बेला सीमामा गएकाे सशस्त्र प्रहरी के अब सधैं उतै बस्छ?

नेपाल भारत सिमाना विवाद अहिलेको होइन। सुगौली सन्धिपछि लगभग ह्वाङ्गै भएको ‘सिमाना’ का कारण दुवै देशबीच बेला-बेलामा निकै तिक्तता आउँछ।

सीमा स्तम्भ गायब पारिनु, सिमानाका भूभाग मिचिएका खबरहरू लगभग नौला हुन छोडिसकेका छन्।

र, अहिले कोरोना संक्रमण नियन्त्रण गर्ने सवालमा फेरि एकपटक ‘सीमा’ सुरक्षा बहस एकपटक सतहमा आएको छ।

कति सिमाना कति सुरक्षाकर्मी?

नेपाल भारतबीच लगभग १ हजार ८ सय ८० किलोमिटर सिमाना जोडिएको छ। योमध्ये करिब ६ सय ४७ किलोमिटर जति सिमाना नदीसँग गाँसिएका छन्। जहाँ प्रदेश १, २, ५ सुदूरपश्चिम प्रदेशका गरी २६ जिल्ला जोडिएका छन्।

यो सिमानामा भारतले करिब ५० हजारभन्दा बढी सीमा सुरक्षा बल (एसएसबी) तैनाथ गरेको छ। केही वर्षदेखि भारतले प्रत्येक डेढ किलोमिटर फरकमा एउटा अब्जरभेशन पोस्ट खडा गरेको छ। यस्ता पोस्ट लगभग ५ सयजति छन्।

भारतका यी सीमा सुरक्षा पोस्ट धेरैजसो त दशगजासँगै जोडिएका छन्, अनि कतिपय लगभग एक किलोमिटर दुरीमा छन्। कतिपय ठाउँमा त नेपालीको आँगनमै बसेर उनीहरूले ‘पहरा’ दिइरहेका हुन्छन्।

अनि नेपाली सुरक्षाकर्मी?

नेपालका सुरक्षाकर्मी भने सिमानादेखि निकै टाढा छन् र भारतीयको तुलनामा निकै थोरै छन्।

यहाँसम्म कि सशस्त्र प्रहरीका कतिपय सीमा सुरक्षा बलका मुख्यालय बसेको ठाउँबाट सिमानामा पुग्नै पाँच-सात घन्टा लाग्छ।

नेपालमा निकै धेरै दूरीको फरकमा कम्तिमा ९० वटामात्रै सुरक्षा पोस्ट छन्। यी पोस्टमा पनि निकै कम सुरक्षाकर्मी छन्।

अहिलेको सन्दर्भ

यस्ता अनेकन सन्दर्भमा ब्यूँतिइरहने ‘सिमाना’का कुरा अहिलेको यो कोरोना महामारीका बेला पनि जोडतोडले उठेको छ।

खासगरी खुला सिमानाका कारण भारतबाट धेरै मानिस नेपाल भित्रिए। ती धेरैजसो त नेपाली नै थिए जो भारतमा मजदुरीका लागि गएका थिए।

अनि कतिपय भारतीय र तेस्रो देशबाट आउनेहरूसमेत थिए। नेपालमा अहिले देखिएका कोरोना संक्रमितहरू पनि अधिकांश भारतीय र भारतबाट फर्किएका नेपाली नै देखापरेका छन्।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि मुलुकमा लकडाउन सुरू भएको एक महिनाभन्दा बढी भइसकेको छ। भारतबाट प्रवेश गर्ने व्यक्तिहरूलाई रोक्ने शक्तिको रूपमा अहिले सशस्त्र प्रहरी देशैभरि सक्रिय छ।

अहिलेकै अवस्थालाई निरन्तरता दिने हो भने सशस्त्र प्रहरीको भूमिका दीर्घकालीन रूपमा सीमा सुरक्षामा हुनेछ। सशस्त्र प्रहरी बल पनि आफ्नो कार्यक्षेत्रबारे स्पष्ट हुनेछ।

सशस्त्र प्रहरी बलका अनुसार लकडाउन सुरू भएपछि यसको ८० प्रतिशत जनशक्ति सीमामा परिचालन गरिएको छ। सशस्त्र प्रहरीमा अहिले ३४ हजार जनशक्ति छ।

प्रवक्ता डिआइजी प्रवीण श्रेष्ठका अनुसार यो जनशक्तिमध्ये २२ हजार बढी त सीमामै परिचालन भएको छ।

‘अहिले कोभिड-१९ नियन्त्रणमा ३१ हजार जनशक्ति खटिएको छ, त्यसमध्ये २२ हजार चाहिँ सीमा नाकामा छ,’ प्रवक्ता श्रेष्ठले भने।

अहिले कोभिड-१९ नियन्त्रणमा सीमा नाकालाई लामो समय सिल गर्नुपर्ने आवश्यकता छ। विशेषगरी, प्रदेश नम्बर १, २, ५ र ७ नम्बर प्रदेश भारतसँग जोडिएका छन्।

त्यसबाहेक ३ र ४ नम्बर प्रदेश पनि आंशिक रूपमा भारतसँग सीमा जोडिएका क्षेत्र हुन्।

अहिले १,२,५ र ७ मा सशस्त्र प्रहरी प्रभावकारी रूपमा सीमामै खटिएको श्रेष्ठले बताए।

कोरोना जोखिमपछि कारागार सुरक्षा अब सेनाको जिम्मामा, सशस्त्र र जनपद प्रहरीलाई सीमामा खटाइने

देशभरका सीमा नाकामा सशस्त्र प्रहरीले १ हजार २१३ वटा चेकप्वाइन्ट राखेको छ। यसमा पिकेट गस्ती, अस्थायी पोस्ट, चेकप्वाइन्ट, मोबाइल गस्ती, पैदल गस्ती, मोटरसाइकल गस्तीलगायत छन्।

यस्तै, कोरोना नियन्त्रणमै एम्बुलेन्स, आइसोलेसन, क्राइसिस रेस्पोन्स टिम, कोअर्डिनेसन टोली खटिएको छ। बलम्बुमा सरकारले कोरोना विशेष अस्पताल सशस्त्र प्रहरीको नेतृत्वमा स्थापना गरेको छ।

‘त्यहाँ पनि हाम्रो जनशक्ति अब प्रभावकारी रूपमा खटिने छ,’ श्रेष्ठले भने। यहाँ तीन सयको संख्यामा सशस्त्र प्रहरीको मेडिकल टोली खटाउने तयारी छ।

श्रेष्ठका अनुसार सशस्त्र प्रहरी ७७ वटै जिल्लामा छ। भन्सार राजश्व गस्ती र सीमामा सुरक्षामा बाहेक विपदमा आवश्यक हुने ठानेर सरकारले सबै जिल्लामा सशस्त्र प्रहरीलाई विस्तार गरेको हो।

कोभिड-१९ मा परिचालन हुनुअघि सशस्त्र प्रहरी गुल्म, भन्सार राजश्व गस्तीबाटै परिचालन हुन्थे। ‘आवश्यकताअनुसार त्यहाँबाटै डिउटी खटाइन्थ्यो,’ श्रेष्ठले भने, ‘अहिले भने सीमामै एकतृत गरिएको छ।’

यसबाहेक संयुक्त युनिफाइड कमाण्डको रूपमा पनि सशस्त्र प्रहरी खटिरहेको छ। कोभिड-१९ कै अनुगमन तथा कार्यान्वयनका लागि गठित सिसिएमसीमा पनि सशस्त्र प्रहरीले काम गरिरहेको छ।

सशस्त्र प्रहरीको भूमिका

सशस्त्र द्वन्द्वमा माओवादीसँग लड्नका लागि प्रहरी ‘असक्षम’ हुँदै गएको विश्लेषण गर्दै सरकारले बनाएको सुरक्षा संगठन हो- सशस्त्र प्रहरी बल (एपिएफ)।

तर, यसले पनि ‘पार’ लगाउन नसकेपछि अन्तिममा नेपाली सेना नै परिचालन गर्नुपरेको थियो। अग्रमोर्चाको सैनिक रहँदा सशस्त्र प्रहरी बल युद्धमोर्चामा वैकल्पिक फोर्स भने बनेको थियो।

युद्धपछि सशस्त्रको भूमिका के? भन्ने विषयमा निरन्तर राष्ट्रिय बहस हुँदै आएका छन्।

कहिले विपद्का बेला उद्धार बल बनाउने वा ‌औद्योगिक सुरक्षा बलका रुपमा रुपान्तरण गर्नेजस्ता बहस नचलेका होइनन्।

योसँगै एकदमै चलेको बहस हो- सशस्त्रलाई सीमामा पठाऔं।

र, अहिले सशस्त्रको लगभग ८० प्रतिशत जनशक्ति सिमानामा छ, भलै त्यो महामारीकै बहानमा किन नहोस्।

युद्धपछि सशस्त्र प्रहरी बल अक्सर विपद् व्यवस्थापनमा बढी खटिने गरेको संगठन भनेर पनि चिनिन्छ।

विपद् जतिबेलै भइरहने हैन। द्वन्द्वबाट मुलुक शान्ति स्थापनातर्फ उन्मुख भएपछि यो संगठनलाई छुट्टै अस्तित्वमा राज्यले राखिरहेको छ।

२०६२/२०६३ सालको जनआन्दोलनपछि यसलाई भन्सार राजश्व गस्तीमा बढी केन्द्रित गरिएको छ। सीमा सुरक्षामा भनेर पनि खटाइने गरिएको छ।

तर, यसको प्रभावकारी भूमिका भने विपद व्यवस्थापनमै बढी देखिने गरेको छ। भन्सार राजश्व संकलनमा सशस्त्र प्रहरीको काम पहिलेदेखि नै सन्तोषजनक छैन।

सीमा त यसले पिलर रूँघ्ने काम पनि राम्रोसँग नगरेको देखिन्छ। किनभने, यो फोर्सलाई राज्यले सीमा सुरक्षामा अधिकारसम्पन्न बनाएको छैन।

नेपाल प्रहरी के गर्छ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सीमा सुरक्षाका लागि नेपाल प्रहरीले ३ हजार ५४२ जना सुरक्षाकर्मी खटाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार सातै प्रदेशका सीमा नाकामा जम्मा ५०६ वटा प्रहरी कार्यालय तैनाथ छन्।

अन्तर्राष्ट्रिय सीमा नजोडिएका काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त युनिट विमानस्थलमा छ, त्यहाँ ३१३ जना सुरक्षाकर्मी छन्।

यसबाहेक प्रदेश १ मा जम्मा २०३ वटा सीमा प्रहरी कार्यालयमा १ हजार २६ जना प्रहरी खटिएका छन्।

प्रदेश २ मा १०९ प्रहरी कार्यालयमा ८२७ जना सुरक्षाकर्मी खटिएका छन्। बागमती प्रदेशका चार नाकामा ४१, गण्डकी प्रदेशका ४६ नाकामा ४२ जना, पाँच नम्बर प्रदेशका ७० वटा प्रहरी कार्यालयमा ७२८ जना सुरक्षाकर्मी छन्।

कर्णाली प्रदेशमा ८ वटा प्रहरी कार्यालयमा ३६ जना सुरक्षाकर्मी छन्। सुदूरपश्चिम प्रदेशका ६५ प्रहरी चौकीमा ५२९ जना प्रहरी खटाइएको छ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाहीका अनुसार कोभिड-१९ महामारी सुरू हुनुअघि खटिएका प्रहरी युनिटको तथ्यांक हो। ‘कोभिड-१९ महामारी सुरू भएपछि नाका कडाइ गर्न प्रदेश र जिल्ला प्रहरी मातहतबाट उल्लेख्य संख्यामा प्रहरी खटाइएको छ,’ शाहीले भने।

नेपाल प्रहरीको जनशक्तिले सीमामा हुने अपराध नियन्त्रण, गस्तीलगायत गर्छ। आवश्यकताअनुसार सीमा नाकामा भइरहेका गतिविधिबारे सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई रिपोर्टिङ गर्छ।

नेपाल प्ररीले दसगजा वा पिलर सुरक्षा भने गर्दैन। त्यसका लागि सशस्त्र प्रहरी खटिएको हुन्छ।

अब के गर्ने?

कोभिड-१९ को महामारीमा समेत सीमा नाकाबाट आवतजावत नरोकिएको विश्लेषण आएपछि गृह मन्त्रालयले सीमामा थप जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ। मन्त्रालयले यो बेला सीमा सुरक्षामा सशस्त्र प्रहरीको भूमिका  देखेको छ।

आइतबार गृहमन्त्री रामबहादुर थापाले गरेको उक्त निर्णयअनुसार अब कारागार सुरक्षा हेरिरहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षामा खटिन्छ।

कारागार सुरक्षाबाहेक औद्योगिक सुरक्षा, विकास निर्माणलगायत ठाउँका सशस्त्रका युनिटहरू उठ्छन्। मन्त्रालयले महत्वपूर्ण ठाउँहरूमा खटिएको नेपाल प्रहरीलाई पनि सँगसँगै उठाएर सीमामा खटाउने निर्णय गरेको छ।

तर, महत्वपूर्ण भनिएका ठाउँहरूमा प्राय: सशस्त्र प्रहरी बल खटिएको छ।

‘यही बहानामा सशस्त्रलाई सीमा सुरक्षाको पूरै जिम्मेवारी दिएर अब त्यहीँ स्थायी गरिनुपर्छ,’ पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार ध्रुबबहादुर प्रधान भन्छन्, ‘यो महामारीपछिको सुरक्षा चुनौतीलाई पनि हामीले ख्याल गर्नुपर्ने हुन्छ।’

उनका अनुसार आम नागरिकले पनि यो कुरामा अहिले समर्थन गरेकै छन्। जनस्तरबाट पनि माग भइरहेको छ।

‘यो कुरालाई अनेकन बाहानामा राजनीतिकस्तरबाटै दबाइएको थियो। अब यो राजनीतिक कुरो रहेन। सिमाना सुरक्षित हुनुपर्छ भन्ने चेत त अब आएको हुनुपर्छ नि?,’ उनको तर्क छ, ‘सम्बन्ध रोटी-बेटीको मात्रै होइन। बिहेवारी वा रोजगारीको सम्बन्ध भारतसँग मात्रै होइन, अरु देशसँग पनि हुन्छ। तर, यो त आफ्नो भूमिको सुरक्षाको कुरा हा। सिमानाको कुरा हो।’

प्रहरी संगठनको नेतृत्व समेत गरिसकेका प्रधानका अनुसार अहिले सिमानामा सुरक्षाकर्मी राख्ने कुरा बाध्यात्मक पनि हो। त्यसैले, अब सुरक्षाकर्मीहरू बढाएर सिमानामै स्थायी गरिनुपर्ने उनको तर्क छ।

‘अहिले एउटा वडापालिका समेत आफ्नो वडाको सिमाना सुरक्षामा लागिरहेको छ,’ उनी भन्छन्, ‘अनि हामी सिङ्गो र राष्ट्र र जनाताकै सुरक्षासँग जोडिएको राष्ट्रको सीमा सुरक्षामा ध्यान किन नदिने?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय