अमेरिकामा कोरोना जित्ने डा. पौडेल भन्छन् – ‘ढिलाचाँडो नेपालमा पनि फैलिन्छ सजग रहौं’

जुन दिन मेरो शरीर दुख्न सुरू गर्‌यो, त्यो दिन म कोरोना संक्रमित बिरामीको उपचारमा थिएँ।

काममा गएको दिन मार्च ३० मा १२ जना कोरोनाका बिरामीको स्वास्थ्य अवस्था बुझेर नोट लेख्दा असहज महसुस हुन थाल्यो। त्यसपछि अस्पतालमा रहेको ड्राइभ थ्रुर टेस्ट (गाडीबाट ननिस्कि स्वयम् गरिने परीक्षण) गरेर घर गएँ। मलाई १०३ डिग्रीसम्म ज्वरो आए पनि दुईचार दिनमा काममा जान सक्छु भन्ने लागेको थियो।

ज्वरो सञ्चो नभए पनि मैले आफ्नो मनोबल उच्च राखेको थिएँ। परिवारमा सदस्यलाई भन्ने वा नभन्ने दोधारमा थिएँ। लक्षण देखिएको छैठौं दिनमा खाना रुच्न छोड्यो। सुरुमा खोकी थिएन। खोकी सातौं दिनबाट सुरु भएको थियो। १० औं दिनमा खोकी बढ्यो र अक्सिजन खस्न थाल्यो।

म त्यो दिन सुत्न पनि सकिनँ। डर लाग्न थाल्यो। म आफैंले जाँचेका कति बिरामीलाई मैले मेडिकल वार्डबाट आइसियूमा पठाएको थिएँ। त्यो बेला मलाई राम्रोभन्दा नराम्रो भएका बिरामीको याद आउन थाल्यो। घरमा बसेर कोरोनाविरुद्ध लडौं वा अस्पताल जाऔं भन्ने लागेको थियो। पछि मेरो श्रीमतीले यहाँको इमरजेन्सी सर्भिसलाई बोलाइन् र मलाई अस्पताल लगियो।

घरबाट नजिकैको अस्पतालमा पुर्‌याइयो। त्यहाँ जाँच गरेपछि मलाई घर जानसक्ने अवस्था छ भनियो। तर, कमजोरी महसुस भइरहेको थियो। त्यसले गर्दा मैले दुई दिनका लागि अस्पताल बस्ने निधो गरें। सँगै काम गर्ने साथीहरूबीच रहें भने राम्रो हुन्छ भनेर काम गर्ने अस्पतालमा बेड खाली भए त्यहीँ बस्ने इच्छा देखाएँ। तर, त्यो बेला मेरो अवस्था निकै कमजोर थियो।

साधारण लक्षण भएकालाई अन्य ठाउँमा राखेर उपचार गर्न सकिन्छ भने, अस्पतालमा राखेर पिपिई किन खर्च गर्ने? अहिले संक्रमितको संख्या कम भएकाले सबैलाई अस्पतालमा रालखेर उपचार गर्न सम्भव छ तर त्यो दिगो हुँदैन।

इच्छाअनुसार मलाई त्यही अस्पतालमा लगियो। साथीहरूले मेरो ख्याल राखे। १३ औं दिनमा मेरो ज्वरो ९९ डिग्रीसम्म आयो। त्यो देख्दा मेरो मनोबल बढेको थियो। त्यसपछि मैले सिटामोल प्रयोग गरिनँ। सायद जिन्दगीमा मैले दैनिक ४ वटासम्म सिटमोल खाएको थिइनँ।

अस्पतालमा कसैसँग पनि भेट्न पाइँदैनथ्यो। त्यहाँभित्र र बाहिर फोन राखिएको हुन्थ्यो। त्यसबाटै साथीहरूसँग कुराकानी गर्ने गर्थ्यौं। १६ औं दिनमा मेरो उपचार गरिरहेको साथीले मलाई घर जाने कि के गर्ने भनेर सोध्यो। अस्पतालमा बेड ओगटेर बस्नभन्दा घर जानै ठिक हुन्छ भनेर घर जाने निर्णय गरें। अहिले हामी ३०–४० जनाको समूह छ। हाम्रोमा पिपिई थियो तर पर्याप्त थिएन।

दिनमा एउटा मास्क दिइन्थ्यो। एकपटक लगाएपछि त्यसलाई खोलेर केही खाने भन्ने सम्भव थिएन। मास्कबाहिर भाइरस हुनसक्छ, हातमा भाइरस हुनसक्छ भनेर बिहान आएको खाना सिधै बेलुका खाना खान्थें। कतै केही छोइहाले पनि हात धुन्थें।

तर, त्यति गर्दासमेत संक्रमण देखियो भनेपछि कति खतरनाक भाइरस होला! पर्याप्त सुरक्षा सामग्री भएका बेला ८ हजार स्वास्थ्यकर्मीको परीक्षण गर्दा ९ सय जनालाई देखियो भनेपछि यो भाइरस कतिको संक्रामक छ भन्ने आफैं अनुमान लगाउन सकिन्छ।

कोरोनासँग जुध्न नेपालले के गर्ने सक्छ?

स्वास्थ्य क्षेत्रमा राम्रो लगानी भएका अमेरिकासँगै युरोपका देशलाई अहिले कोरोनासँग लड्न गाह्रो भएको छ। कोरोनाविरुद्ध लड्ने तयारी गर्न युरोपसँग प्रशस्त समय थियो तर यसलाई हलुका रुपमा लिइयो। अब पिपिई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर नेपालले सोच्नुपर्छ। उत्पादन संख्या धेरै भएका छिमेकी राष्ट्र चीन र भारतले नेपाललाई सहयोग गर्न सक्छन्।

साधारण लक्षण भएकालाई अन्य ठाउँमा राखेर उपचार गर्न सकिन्छ भने, अस्पतालमा राखेर पिपिई किन खर्च गर्ने? अहिले संक्रमितको संख्या कम भएकाले सबैलाई अस्पतालमा रालखेर उपचार गर्न सम्भव छ तर त्यो दिगो हुँदैन। यो संख्या ढिलो चाँडो बढ्छ। यसका लागि विकल्प खोजी गर्नुपर्छ। समुदायमा कोही संक्रमित छ भने उनीहरूलाई छुट्टै घरमा राख्नुपर्छ।

त्यो सम्भव नभए स्थानीय तहले होटल वा सरकारी भवनको व्यवस्था गनुपर्छ। अस्पतालमा बस्न आवश्यक नभएका बिरामीलाई समुदायमा जान नदिई त्यहाँ आइसोलेट गर्नुपर्छ। बिरामी कुन अस्पताल जाने, कसरी जाने र कसरी अरुको सम्पर्कमा नआउने भनेर योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने लाग्छ। ज्वरो आएका १० जना एकैचोटी दौडिन लागे भने सबैलाई सर्न सक्छ। चीनमा ४० जना हुँदा अमेरिकामा दुई जना मात्र संक्रमित थिए। भविष्यमा संक्रमित बढ्न सक्छन् भन्ने लागेर हामीले तयारी गरिरहेका थियौं। ढिलोचाँडो नेपालमा पनि फैलिन्छ भन्ने सोचेरै सजग रहेर र तयारी गर्नुपर्छ ।

मैले आफ्नै परिवरलाई पनि बुझाउन समय लाग्यो। म स्वयम् संक्रमित भएपछि मेरो परिवारका सदस्य र साथीहरू सतर्क हुनुहुन्छ। नेपालीको रोग प्रतिरोध क्षमता बढी छ, कोरोना लाग्दैन र मौसमले साथ दिन्छ भनेर बस्नु गलत हो।

मलेरियाको औषधिले कोरोनालाई काम गर्छ?

अहिले कोरोनाका लागि भ्याक्सिन बनाउने काम तीव्र छ। यदि बनेको भ्यक्सिन सफल भयो भने विश्वका सबै देशमा र्पुयाउँदा अर्को १२ देखि १८ महिनासम्म लाग्छ। सबै मानिस एकैपटक संक्रमित भए भने संसारका सबै देशको स्वास्थ्य क्षेत्र कोल्याप्स हुन्छ।

त्यस्तो अवस्थामा घर बसेर बाँच्यो भने भगवान भरोसा नभए मृत्यु हुन्छ। प्रायजसो देश आफैं लडिरहेकाले अहिले सहयोग गर्न पनि गाह्रो छ। हाल मलेरियाको औषधिको बारेमा अनुसन्धान भइरहेको छ। म आफैंले १० दिनसम्म मलेरियाको औषधि खाएँ। यसले बाथका लागि पनि काम गर्छ। मेरो आमाले बाथका लागि यही औषधि प्रयोग गर्नुहुन्थ्यो।

यो सकभर खाने औषधि होइन। किनकि, यसले मुटुका बिरामीलाई असर गर्न सक्छ। मैले त्यो औषधी खाएँ र सुधार भयो। तर, औषधीले नै हो वा रोगको अवधिले हो भन्ने चाहिँ गाह्रो छ।

नेपालीलाई सन्देश

मैले आफ्नै परिवरलाई पनि बुझाउन समय लाग्यो। म स्वयम् संक्रमित भएपछि मेरो परिवारका सदस्य र साथीहरू सतर्क हुनुहुन्छ। नेपालीको रोग प्रतिरोध क्षमता बढी छ, कोरोना लाग्दैन र मौसमले साथ दिन्छ भनेर बस्नु गलत हो। कोरोनाले धनी, गरिब, अमेरिकन, नेपाली केही भन्दैन।

युवालाई लाग्दैन भन्ने गरिए पनि ती उमेर समूहका मानिसको पनि मृत्यु भएको छ। युवापुस्ता अझ बढी सतर्क हुनुहोला। किनकि, तपाईंमा लक्षण नदेखिए पनि अरुलाई सार्न सक्नुहुन्छ। हात धुनुस् र सोसियल आइसोलेट गर्नुस् भन्ने मेरो सुझाव छ।
यो जति शारीरिक समस्या हो त्यति नै मानसिक समस्या पनि हो। मनोबल बढाउन घर परिवारको साथ आवश्यक हुन्छ। प्रत्यक्ष भेटेर कुरा गर्न नसके पनि फोनबाट कुरा गर्न सकिन्छ। आशा छ, छिट्टै यसको भ्याक्सिन बन्नेछ।

(डा. पौडेल अमेरिकाको बोस्टन राज्यमा कोरोना संक्रमित बिरामीको उपचारमा खटिएका बेला स्वयम् संक्रमित भएका थिए। १६ औं दिनमा कोरोनालाई जितेर अस्पतालबाट घर फर्किएका उनी अहिले स्वस्थ्य छन्।)

प्रस्तुतिः अनुप पौडेल/पोखरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय