स्वास्थ्य सामग्रीबिनै उदयपुरको भुल्केमा खटिँदा…

कोरोना भाइरसको संक्रमणले बिरामी तथा स्वास्थ्यकर्मीको मृत्युको खबर सुन्दा त्रसित हुने नागरिकले एकै दिन आफ्नो जिल्लामा ११ जनामा कोरोना भेटिएको त्रासदीपूर्ण खबर सुनेका थिए।

उदयपुरको त्रियुगा नगरपालिकाका स्वास्थ्य शाखा सह-संयोजक नारायण चौधरीलाई यही त्रासदीको ‘हटस्पट’ भुल्केमा खटिनुपर्‍यो।

उदयपुरकेन्द्रित भएर सञ्चारमाध्यममा हेडलाइनको रफ्तार चल्न थाल्यो। सामाजिक सञ्जालमा त झन् बढी। ती हेडलाइनहरूको भीडमा उनी ‘तथ्यहीन’ सूचना पनि यदाकदा देख्थे।

यी सबबाट गिजोलिएका चौधरीले केही दिन सामाजिक सञ्जालबाट ध्यान भंग गरे।

सुरूमा ११, त्यसपछि चार गर्दै संक्रमित क्रमश: बढ्न थाले। अरू रिपोर्ट के आउला भन्दै उनी सोचनीय बन्थे।

‘सुरूवाती दिनहरू हाम्रा लागि कठिन तथा जोखिमले भरिपूर्ण थिए, दिमागले के-के सोचिसक्या हुन्थ्यो,’ चौधरीले जिल्लामा कोरोना महामारी देखिएपछिको मनोविज्ञान व्यक्त गरे।

लकडाउनको एक महिनासम्म ‘प्रभाव शून्य’ देखिएको उदयपुरमा वैशाख ९ गते एकै दिन ११ जना संक्रमित देखिएका थिए।

यो घटनापछि नगरपालिका कोरोना नियन्त्रणमा जुट्यो। तर, पूर्वतयारी थिएन।

नगरपालिकामा न चिकित्सक न स्वास्थ्य सामग्री नै थियो। यस्तो बेलामा संक्रमितसँग सम्पर्क तथा सरोकार राख्ने व्यक्तिको पहिचान गरी नमूना लिने जिम्मेवारीमा उनी थिए।

नगरपालिकाले जिल्लाकै केही जनशक्ति खोजखाज गरी परिचालन गर्‍यो।

भुल्केलगायत सबै वडामा उनी पुग्थे। अहिले पनि परीक्षणहरू भइरहेकै छन्।

चौधरी सर्वसाधारणको स्वाब परीक्षण तथा स्वास्थ्य जाँचमा कतिपय ठाउँमा आफैं टिन्छन्।

‘स्वाब परीक्षणका लागि स्वास्थ्य टोली लिएर कार्यक्षेत्रमा पुग्छु,’ चौधरी भन्छन्, ‘सर्वसाधारणको स्वाब परीक्षण, ज्वरो तथा खोकी चेकजाँच तथा स्यानिटाइजर छर्कने काम गर्छु, धेरै ठाउँमा आफु नगई काम नहुने भएकाले आफैं खटिनुपर्छ।’

चौधरी क्वारेन्टाइनको व्यवस्थापन, स्वास्थ्य परीक्षणदेखि हेल्थ डेस्कको निगरानी तथा स्वास्थ्यकर्मीलाई सरसल्लाह दिनुका साथै सर्वसाधारणलाई हौसला दिन्छन्।

त्रियुगा नगरपालिकामा परीक्षणको ल्याब भने छैन। ल्याब नभएकाले भाइरस परीक्षणमा समस्या भएको छ।

‘स्वास्थ्य उपकरण बिना कोरोना महामारीमा चेकजाँच गर्न डर लाग्थ्यो, स्वास्थ्यकर्मी सबै जोखिममा थिए, तैपनि उनीहरू बिना कुनै गुनासो काम गर्थे,’ चौधरी भन्छन्, ‘डरलाई दबाएर काम गर्‍यौं, आजभोलि त सामान्य लाग्न थालेको छ।’

‘दैनिक १२–१३ घण्टा काममा खटिइरहेका छौं। पहिलेको भन्दा केही राहत महसुस गरेका छौं, स्वास्थ्यकर्मी मात्रै नभई सिंगो उदयपुरले एक डेढ महिनाको कठिन समय पार गरिसकेको छ,’ उनी भन्छन्, ‘ उदयपुर तथा भुल्केको अवस्था सामान्यतिर गइरहेको छ।’

२८ वर्षको स्वास्थ्य सेवाका सिलसिलामा उनले कहिल्यै यस्तो महामाहरी भोगेका थिएनन्।

‘स्वास्थ्य सेवामा प्रवेस गरेपछि झाडापखाला तथा दादुराजस्ता सामान्य रोगको संक्रमणमा त काम गरेको थिएँ। तर, यस्तोसम्म महामारी आउला भनेर कल्पनै गरेको थिइनँ,’ उनले भने, ‘डर-त्राससँगै नयाँ अनुभव लिन पाएँ।’

भुल्केमा कोरोना भाइरसका संक्रमित भेटिँदा स्वासथ्यकर्मीसँग पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पिपिई), थर्मल गन, ग्लोब्स, स्यानिटाजर केही थिएन।

रित्तो हात फिल्डमा खटिँदा घर-परिवारमा डर छायो। भाइरस सर्ला भन्ने पिर बढ्यो। आफू सुरक्षित रहेर घर-परिवारलाई सुरक्षित राख्नुथियो।

आफू तयार हुनु मात्र पुग्दैनथ्यो। सहकर्मीलाई पनि आवश्यक थियो साहस र आत्मबल।

उनी सहकर्मीलाई हौसला, उत्प्रेरणा दिई काममा लगाउँथे। आत्मबल जुटाएर स्वास्थ्यकर्मीले कुनै स्वास्थ्य उपकरण बिना पनि काम गर्न सकेको उनी बताउँछन्।

‘दैनिक १२–१३ घण्टा काममा खटिइरहेका छौं। पहिलेको भन्दा केही राहत महसुस गरेका छौं, स्वास्थ्यकर्मी मात्रै नभई सिंगो उदयपुरले एक डेढ महिनाको कठिन समय पार गरिसकेको छ,’ उनी भन्छन्, ‘ उदयपुर तथा भुल्केको अवस्था सामान्यतिर गइरहेको छ।’

भाइरस नियन्त्रण तथा रोकथामका लागि भुल्केलाई सिल गरिएको छ। अन्य वडाहरुलाई पनि आवश्यक कामबाहेक बाहिर नआउन आग्रह गरिएको छ।

‘सुरूवाती दिनहरूमा बिनास्वास्थ्य सामग्री, बिना कुनै योजना काममा खटियौं,’ उनले भने, ‘अहिले त अलिअलि भए नि स्वास्थ्य सामग्री छ,  स्वास्थ्यकर्मीले थोरै भए पनि राहत महसुस भएको छ।’

आफू पनि बाँच्ने र अरुलाई पनि बचाउने प्रण गरेर स्वास्थ्य सेवामा लागेको चौधरी सम्झिन्छन्।

‘एक दुई गर्दै भुल्केमा २८ जनामा कोरोना भाइरसका संक्रमित भेटिएपछि हामी झन् आत्तिन थाल्यौं, तर आफ्नो काम, सेवा, धर्म नै त्यही भएकाले महामारी नियन्त्रण गर्नमा लाग्यौं,’ चौधरी भन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय