कोरोना जोखिमपछि कारागार सुरक्षा अब सेनाको जिम्मामा, सशस्त्र र जनपद प्रहरीलाई सीमामा खटाइने

भारतसँग सीमा जोडिएका क्षेत्रबाट लुकिछिपी नेपाल छिर्नेले कोरोना संक्रमण बढाएको निष्कर्षसहित सरकारले सीमामा कडाइ गर्ने निर्णय गरेको छ।

सीमा कडा पार्न सरकारले कारागार तथा विमास निर्माण आयोजनालगायत महत्वपूर्ण संरचनामा रहेका सशस्त्र र जनपथ प्रहरीलाई सिमानामा खटाउने निर्णय गरेको हो। सरकारले कारागार, विकास निर्माण आयोजनालगायतमा सेना खटाउने निर्णय गरेको छ।

गृहमन्त्री रामबहादुर थापाले आइतबार मन्त्रालयमा बैठक राखी ती निकायको जिम्मा नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेका हुन्। त्यस्ता ठाउँका सुरक्षाकर्मीलाई अब सीमामा खटाइने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ। बैठकमा गृहमन्त्री थापाले कहाँ कति सुरक्षाकर्मी छन् त्यसको विवरण दुई दिनभित्र बुझाउन दुबै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन्।

निर्वाचनको समयमा महत्त्वपूर्ण संरचनाको जिम्मा सेनालाई दिएर प्रहरीलाई निर्वाचनमा परिचालन गरिने विगतको नजिर अनुरुप अहिले कोरोनाले निम्ताएको महामारी नियन्त्रण गर्न सीमामा थप कडाइ गर्ने उद्देश्यले निर्णय गरिएको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टाईले बताए।

बैठकले सीमाबाट लुकिछिपि प्रवेश गर्नेक्रम नकिएको भन्दै त्यसरी प्रवेश गर्नेलाई कडा कानुनी कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको। ‘बैठकले भारतमा रहेका नेपालीलाई कोरोनाबाट सुरक्षित राख्न आवश्यक पहल तथा सीमा सुरक्षाका विषयमा भारत सरकारसँग छलफललाई तीव्रता दिने निर्णय गरेको छ,’ उनले भने।

बैठकमा गृहमन्त्री थापाले संक्रमणको केन्द्र चीन, युरोप अमेरिका हुँदै अब दक्षिण एसियातर्फ बढ्न लागेको भन्दै खुला सीमा रहेको कारण नेपालले अब विशेष सावधानी अपनाउन आवश्यक रहेको बताए। उनले सीमामा थप कडाइ गर्न र रातको समयमा थप गस्ती बढाउन सुरक्षा निकायलाई निर्देशन दिएका थिए।

थापाले सिमावर्ती जिल्लामा सुरक्षाकर्मीको समन्वयमा सबै वडास्तरमा समुदायको सहयोगमा स्वयंसेवक परिचालन कमिटी गठन गरी सीमाबाट हुने अवैध प्रवेशलाई निरुत्साहित गर्ने कार्यक्रम बनाउन निर्देशन दिएका थिए। सीमामा खटिएका सुरक्षाकर्मीका लागि आवश्यक स्रोतसाधनको व्यवस्थापनका लागि गृहमन्त्रालय प्रक्रिया अघि बढाएको उनले बैठकमा जानकारी गराए।

बैठकमा गृहसचिव, परराष्ट्र सचिव, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका रथीलगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय