वीरगञ्जमा छुटै कोरोना अस्पताल बनाउन माग गर्दै कांग्रेसको प्रदर्शन

वीरगञ्जको नारायणी अस्पताललाई ‘कोभिड–अस्पताल’ बनाइएपछि अरु सेवाबाट सर्वसाधारण बञ्चित हुनुपरेको भन्दै नेपाली कांग्रेस पर्साले प्रदर्शन गरेको छ।

सहरको बीचमा रहेको नारायाणी अस्पताललाई कोभिड अस्पताल बनाएपछि अरु बिरामीको बिचल्ली भएको कांग्रेसको आरोप छ। त्यसैले कांग्रेसले यो निर्णय सच्याउन माग गर्दै धर्ना दिएको कांग्रेसका जिल्ला सभापति अजय द्विवेदीले जानकारी दिए।

‘यो हाम्रो सांकेतिक विरोध र निर्णय सच्याउन गरिएको माग हो। निर्णय नसच्याएर जनतालाई यसैगरी उपचारबाट बञ्चित गरिरहे हामी अझैं कडा आन्दोलन गर्छाैं’ उनले भने।
नारायणी अस्पतालको गेट वरिपरि ‘दूरी’ कायम गर्दै प्लेकार्डसहित कांग्रेसले आफ्ना कार्यकर्ता प्रदर्शनमा उतारेको थियो।

कांग्रेसको यो प्रदर्शनपछि दिउँसो वीरगन्जका मेयर बिजय सरावगीले सर्वदलीय बैठक बोलाएका थिए। बैठकले नारायणी अस्पतालाई कोभिड अस्पताल बनाउने निर्णय गलत भएको भन्दै सच्याउन माग गर्ने निर्णय गर्‌यो। पर्साका सबै राजनीतिक दलको निर्णय अनुसार बैठकपछि मेयर सरावगीकै अगुवाईमा जिल्ला प्रशासनमार्फत संघीय सरकारलाई ज्ञापनपत्र पठाइएको छ।

‘यो अस्पताललाई कोभिड अस्पताल बनाएपछि अरु बिरामीहरु सेवाबाट बञ्चित भएका छन्, अरु ठाउँमा उपचार छैन’ उनले भने ‘निजी अस्पतालमा महंगो तिरेर उपचार गर्ने क्षमता सबै नागरिको हुँदैन, त्यसैले हामीले मन्त्रालयलाई यस्तो निर्णय सच्याउन भनेर ज्ञापनपत्र पठाएका हौं।’

ज्ञापनपत्र बुझाउनका लागि नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, नेपाली कांग्रेसका पर्सा सभापति अजयकुमार द्विवेदी, जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेशप्रसाद यादव, जगदिश पटेललगायत सहभागी भएका थिए।

नारायणी अस्पताललाई कोभिड संक्रमणको उपचार गर्ने अस्पतालमा परिणत गरिएपछि यहाँका बिरामीलाई वीरगञ्जको नेसनल मेडिकल कलेजमा सारिएको थियो।

वीरगञ्ज महानगरपालिकाले केही दिनअघि स्थानीय गण्डक अस्पताललाई कोभिड अस्पताल बनाउने भन्दै सम्झौता गरिसकेको थियो। तर, सरकारले भने नारायणी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेपछि अहिले कोभिडका बिरामीको उपचार नारायणीमै हुँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय