नाकाबाट लुकिछिपी नेपाल प्रवेश, कहाँ चुक्यो सशस्त्र?

भारतमा कोरोना संक्रमणको गति दिनहुँ बढ्दो छ। भारतको महाराष्ट्र, दिल्ली, मध्य प्रदेशलगायतका राज्यमा कोरोनाको बढ्दो प्रभाव देखिए पनि विहार भने जोगिएको थियो। तर, पछिल्लो पटक विहारमा समेत कोरोना संक्रमण देखिन थालिएको छ।

भारतमा कोरोना संक्रमण बढ्न थालेयता नेपाली सीमामा कडाइ गरिएको छ। प्रदेश २ को पर्सादेखि सप्तरीसम्म आठवटै जिल्ला भारतको सीमाना भारतको विहारसँग जोडिएको छ। विहारमा समेत कोरोना संक्रमण देखिन थालेपछि प्रदेश २ मा थप जोखिम बढेको छ। यद्यपि पछिल्लो केहीदिनयता सीमामा कडाइ गरिएपछि आवतजावत भने सहज पक्कै छैन्।

दुईतर्फबाट आवतजावत रोक्न नाकामा उल्लेख्य संख्यामा सशस्त्र प्रहरी खटाइएको छ। यसअघि मुख्य नाकामा मात्र बस्ने सशस्त्र प्रहरीलाई अहिले चोरबाटोमा समेत परिचालन गरिएको छ। सशस्त्र प्रहरीका अधिकारीहरूका अनुसार हरेक एक किलोमिटरको दूरीमा सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन भएको छ। एक स्थानमा गस्ती गर्ने प्रहरीले अर्को स्थानमा भएकालाई सहजै देख्नसक्ने गरी दूरी रहेकोले चोरबाटो भएरसमेत नाका प्रवेश गर्नु सजिलो नरहेको दाबी गरिएको छ।

तर, शनिबार चारजना नेपाली भारतबाट नेपाल प्रवेश गरेका छन्। नाकामा उच्च सुरक्षा रहेको बेला धनुषा घर भएका चारैजना सशस्त्र प्रहरीलाई छलेर चोरबाटो हुँदै जनकपुरसम्म आइपुगेका हुन्।

धनुषाको सबैला नगरपालिका–१३ बस्ने ४२ वर्षीय रामअशिष महतो, ४० वर्षीय जवाहरलाल महतो, ३० वर्षीय जानिफ राइन र ४० वर्षीय तिरथलाल महतो चोरबाटो हुँदै नेपालसम्म प्रवेश गरेको बताइएको छ।

चारैजना विहारको मुजफ्फरपुरमा मजदुरी गर्दै आइरहेका थिए। भारतमा कोरोना महामारी फैलिएपछि ‘लकडाउन’ हुँदा साहुले काम बन्द ग-यो। र, उनीहरूको हिसाब किताब गरेर छुट्टी भएको सुनायो। केही दिनसम्म मुजफ्फरपुरमै बसे पनि काम बन्द हुँदा उनीहरू समस्यामा परे। अरु देशमा भोकभकै मर्नुभन्दा आफ्नै देशमा मर्नु राम्रो भनेर चारैजना नेपाल पुग्न त्यहाँबाट पैदल हिँडे।

मुजफ्फरपुरबाट जनकपुरसम्म झण्डै तीन सय किलोमिटरको दूरी पैदल हिँडेर उनीहरूले चारदिनमा पूरा गरे। नाकासम्म आइपुगे पनि नेपाल प्रवेश गर्न सजिलो थिएन् उनीहरूलाई। मुख्य नाकासहित चोरबाटोहरूमा समेत सशस्त्र प्रहरीले गस्ती गर्ने गरेको सुनेका थिए, चारैजनाले।

मुख्य नाकाबाट नेपाल प्रवेश गर्न कठिन रहेको बुझेपछि उनीहरूले चोरबाटो रोजे। एक/एक किलोमिटरको दूरीमो गस्ती रहे पनि रातिको समयमा सशस्त्र प्रहरीलाई छलेर चारैजना नेपाल प्रवेश गर्न भ्याए। उनीहरू नाका कटेको कहिँकतै प्रहरीले चाल पाएन।

चारैजना महोत्तरीको सम्सी नाका वरिपरीबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेको बताइएको छ। महोत्तरीको सम्सीहुँदै उनीहरू शनिबार जनपकपुर आइपुगे। बिहान जनकपुर आइपुगेका उनीहरू करिब २० किलोमिटरको दूरीमा आफ्नो गाउँ नगएर रामानन्द चोकमा ‘लकडाउन’ पालन गराउन खटिएका नेपाल प्रहरीको सम्पर्कमा पुगे। उनीहरूले ‘आफूहरू भारतबाट चोर नाकाहुँदै यहाँसम्म आइपुगेको र कोरोना परीक्षण गराइदिन’ प्रहरीसँग अनुरोध गरे।

भारतबाट जनकपुरसम्म आइपुगेका चारैजनालाई प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन वार्डमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले बताएका छन्।

‘चारैजना नेपाली हुन्, रोजगारीको लागि भारतमा रहेका उनीहरू ‘लकडाउन’ पछि समस्यामा परेका रहेछन्,’ कार्कीले भने,‘महोत्तरीको सम्सी नाका वरिपरिबाट चोरबाटो प्रयोग गरेर यहाँसम्म आइपुगेको बताएका छन्।’

चारजना नेपाली चोरबाटो प्रयोग गरेर नाका प्रवेश गरेको पछिल्लो घटनाले नाकामा कडाइ गरिएको सुरक्षा निकायले दाबी गरिरहेपनि थप सतर्कता र चनाखोपन आवश्यक रहेको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय