पूर्वतयारी राम्रो थियाे अनि कर्णाली सुरक्षित छ : सामाजिक विकास मन्त्री रावल

कोरोना भाइरसको विश्वव्यापी महामारीबाट नेपाल पनि प्रभावित छ। देशभरिमा ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। त्यसमध्ये १६ जना स्वास्थ्यलाभपछि घर फर्किएका छन्। अन्यको उपचार जारी छ। तर, सुखद् संयोग, कर्णाली प्रदेशमा अहिलेसम्म एक जनालाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छैन। जोखिम नहुने भन्ने अवस्था पनि छैन। त्यसैले, कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि प्रदेश सरकारले गरिरहेका प्रयासका सन्दर्भमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलसँग हेल्थपोस्ट नेपालका अशोक अधिकारीले गरेको कुराकानीः

लकडाउनका बेला कर्णाली प्रदेशमा कुनै किसिमको मानवीय संकट उत्पन्न नहोस् भन्नका लागि प्रदेश सरकारले के गरिरहेको छ?

विश्वव्यापी महामारी र नेपालका केही क्षेत्रमा कोरोना भाइरस संक्रमित देखिएपछि लकडाउन अहिलेको आवश्यकता नै थियो। सरकारले लकडाउन गरेपछि यसलाई पालना गर्नु सबै नागरिकको दायित्व थियो र नागरिकस्तरबाट भइरहेको छ। कर्णाली प्रदेशमा लकडाउन प्रभावकारी छ अहिलेसम्म। कर्णाली प्रदेशमा आजसम्म एक जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छैन। नागरिक तहबाट भएको सतर्कता र हामीले गरेको प्रयासबाट यो सम्भव भएको हो। यसलाई कायम राख्नका सबै नागरिकमा आत्मअनुशासन जरूरी छ। सरकारले, सञ्चारमाध्यमले भन्ने भन्दा पनि नागरिकमा आफैं सचेतना आए मात्रै यो रोगको संक्रमणबाट बच्न सकिन्छ। अहिले हाम्रो ध्यान प्रदेशका सीमाहरू व्यवस्थित गर्ने, सकेसम्म संक्रमण भित्रिन नदिने र भित्रिएको खण्डमा व्यवस्थित क्वारेन्टाइनमा राख्ने तयारी छ। तर, यही अवस्था कायम राख्न सके प्रदेशभित्र विकास निर्माणका काम सञ्चालन गर्न सकिने थियो। किसानहरूलाई खेतीको काम गर्न दिने गरी व्यवस्थापन गर्दै जाने कि भन्ने हाम्रो सोच छ। हामीले संघीय सरकारलाई आग्रह गरेका छौं, कर्णाली प्रदेशमा लकडाउन केही खुकुलो बनाउँदै जाने कि भन्ने सोच बनाएका छौं।

लकडाउन खुकुलो बनाउने र अन्य कामलाई निरन्तरता दिने विषयमा चाहिँ प्रदेश सरकारको तयारी के छ?

अहिले लकडाउन जारी छ, यसलाई निरन्तरता दिनुपर्नै नै हुन्छ। वैशाख २५ गतेपछि नेपाल सरकारले लकडाउनका सम्बन्धमा केही निर्णय गर्ला र हामी पनि औपचारिक रूपमा धारणा ल्याउने सोच बनाएका छौं। अहिलेसम्म धेरै मानिस जम्मा हुन नपर्ने, मेसिनले काम गर्ने र किसानले पनि बाहिरका मान्छे नलगाई आफैंले गर्न सकिने कामहरूलाई निरन्तरता दिनेजस्ता सामाजिक दुरी कायम राखेर गर्न सकिने कामहरूलाई अगाडि बढाउने योजना छ। लकडाउनले लामो समयसम्म काम बन्द भयो। अलि उच्च हिमाली क्षेत्र भएको प्रदेश भएका कारणले काम गर्ने समय भएको छ। अरू समयमा उच्च हिमाली क्षेत्रमा हिउँका कारण काम गर्न सकिएन। फागुन, चैत, वैशाख, जेठ महिना काम गर्न सकिने महिना हो। विकास निर्माण र कृषि कर्म पनि यही बेला हुने हो। त्यसैले, लकडाउनलाई अलि व्यवस्थित गरेर काम अघि बढाउने लक्ष्य प्रदेश सरकारको छ। जनजीवनलाई अलि सहज बनाउने भन्ने प्रयत्नमा छौं। ‘पर्ख र हेर’को अवस्थामा छौं हामी। यही स्थितिलाई कायम राख्यौं भने हामी यही योजनामा जान्छौं। तर, स्थिति सोचेभन्दा फरक भइदियो भने फरक योजनाका साथ अघि बढ्छौं। त्यो अवस्थामा लकडाउनलाई अझै कडाइ गर्नुपर्ने हुनसक्छ।

कर्णाली प्रदेशले स्वास्थ्यसम्बन्धी रणनीति कस्तो बनाएको छ?

कर्णाली प्रदेश सरकारका तर्फबाट हुनसक्ने सबै योजनाको अध्ययन हामीले गरेका छौं। कहीँ कतै संक्रमण भेटिएमा त्यो क्षेत्रलाई पूर्ण रूपमा बन्द गरिदिएर त्यहीँ चिकित्सक र स्वास्थ्यकर्मी पुर्‍याएर उपचार गराउने तयारी गरेका छौं। भौगोलिक विकटता कारण टाढा–टाढाबाट बिरामी ल्याउने भन्दा पनि त्यहीँ चिकित्सक खटाएर उपचार सेवा दिने रणनीति हामीले बनाएका छौं।

भारत सरकारसँग समन्वय गरेर त्यहाँ रहेका नागरिकलाई गाँस र बासको प्रबन्ध गर्नका लागि प्रदेश सरकारले संघीय सरकारलाई पटक-पटक आग्रह गरेको छ। संघीय सरकार, प्रधानमन्त्रीज्यूले पनि पटक-पटक वार्ता गरेर सहजीकरण गर्नुभएको छ। भारत सरकार र त्यहाँका प्रदेश सरकारहरू पनि त्यहाँ रहेका नेपाली नागरिकलाई राम्रै ढंगले राखेका हुनुपर्छ। अहिले त्यस्तो धेरै गुनासो पनि आएको छैन।

क्वारेन्टाइनआइसोलेसन बेडको निर्माण र अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीको प्रबन्ध कसरी गर्नुभएको छ?

नेपालका कुनै पनि क्षेत्रमा हेल्थडेस्क राखिएको थिएन। कर्णाली प्रदेशमा पहिलोपटक राखिएको हो। उत्तरतिरका सीमा नाका हिउँका कारण बन्द छन्। दक्षिणतिर कर्णालीसँगका छ वटा सीमा नाकाहरूमा हेल्थडेस्क निम्ति स्थानीय सरकारलाई बजेट पठायौं। जिल्लाका विपद् व्यवस्थापन समितिहरूमार्फत् बजेट पठाएर क्वारेन्टाइन निर्माण गर्न लगायौं। अस्पतालहरूलाई बजेट पठाएर चार सय ६६ वटा आइसोलेसन बेड निर्माण गरायौं। करिब पाँच हजार क्वारेन्टाइन बेड निर्माण गरिएको छ। सुर्खेतस्थित प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चौरबारीको सामुदायिक अस्पताललाई कोरोनाको उपचारका लागि डेडिकेटेड अस्पताल बनायौं। ती अस्पतालमा तीन सय आइसोलेसन बेड बनेका छन्। जिल्लाहरूमा न्यूनतम् पाँच वटा आइसोलेसन बेड निर्माण गर्न लगाएका छौं। आइसियू अलि कम छन् कर्णाली प्रदेशमा। १७ वटाबाट बढाएर ४० वटा बनाउने भनेर टेन्डर भइसकेको छ। भेन्टिलेटर ११ वटा छन्, अरू १४ वटा थपेर २५ वटा पुर्‍याउने भनेर टेन्डर भइसकेको छ। हाम्रो साधनस्रोतले भ्याएसम्म उन्नत ढंगले तयारी गरेका छौं। समग्रमा हामीले पूर्वतयारी अपनाएकै कारण प्रदेशमा संक्रमण आउन नपाएको हो।

कर्णालीका धेरै नागरिक श्रम र व्यापार गर्नका लागि भारत जाने गर्छन्। उनीहरूको उद्धार गर्न र जुन ठाउँमा छन्त्यहीँ खाने बस्ने व्यवस्था गर्न प्रदेश सरकारले कस्तो पहल गरेको छ?

कर्णाली प्रदेशका धेरै नागरिकहरू कालापहाड जाने, दिल्लीसहित विभिन्न सहरहरूमा जाने गर्नुभएको छ। तर, फागुन र चैतको पहिलो सातातिर धेरैजसो फर्किसक्नु हुन्छ। कर्णाली प्रदेश पुरानो मान्यता छ, यसअनुसार चैत १२ गतेभित्र धानको बेर्ना राखिसक्नु पर्छ। त्यसैले अधिकांश मानिस चैतको सुरूमै गाउँ फर्किसक्नु पर्छ भन्ने पुरानो परम्परा हो। साबिकको कर्णालीतिर अहिले पनि त्यो मान्यता स्थापित नै छ। त्यसैले, चैतको सुरूवातसम्ममा धेरै मानिस फर्किसक्नु भएको थियो। तर, अझै पनि केही नागरिक भारतमा लकडाउनमा पर्नुभयो। अहिले त्यहीँ हुनुहुन्छ। हामीलाई त्यसको सूचना आएको छ। तर, यो अन्तर्राष्ट्रिय मामिला संघीय सरकारले मात्रै समाधान गर्न सक्ने कुरा भयो। भारत सरकारसँग समन्वय गरेर त्यहाँ रहेका नागरिकलाई गाँस र बासको प्रबन्ध गर्नका लागि प्रदेश सरकारले संघीय सरकारलाई पटक–पटक आग्रह गरेको छ। संघीय सरकार, प्रधानमन्त्रीज्यूले पनि पटक–पटक वार्ता गरेर सहजीकरण गर्नुभएको छ। भारत सरकार र त्यहाँका प्रदेश सरकारहरू पनि त्यहाँ रहेका नेपाली नागरिकलाई राम्रै ढंगले राखेका हुनुपर्छ। अहिले त्यस्तो धेरै गुनासो पनि आएको छैन। तथापि, नेपाल–भारतका सीमाक्षेत्रमा आएर अलपत्र परेका नागरिकहरूलाई र क्वारेन्टाइनमा बसेर आफ्नो अवधि पूरा गर्नु भएको छ भने नेपाल ल्याएर क्वारेन्टाइनमा राख्ने, घर पठाएर उच्च सतर्कताका साथ राख्ने विषयमा पनि सोच्न सक्छौं।

नागरिकस्तरमा सचेतना जगाउन प्रदेश सरकारले के–कस्ता काम गरिरहेको छ?

नेपालमा कोरोनाको संक्रमण देखिनेवित्तिकै सचेतना अभियान प्रारम्भ भयो। कोरोना के हो? कसरी सर्छ र कसरी बच्ने? भन्ने विषयमा जानकारी दिइरहेकै छौं। सामाजिक दूरी कायम गर्ने, सरसफाइको कार्य, खानपानमा ध्यान दिनेसम्मका कार्यहरूमा वैज्ञानिक ढंगले प्राप्त सूचनाहरूलाई प्रचारमा ल्याएका थियौं। रेडियो, गाउँपालिका र नगरपालिकाहरूबाट प्रचारप्रसार गरिरहेका छौं। स्वास्थ्यकर्मीहरूबाट पनि सचेतना सन्देश दिइएको छ। सचेतनासम्बन्धी सूचनाहरू पर्याप्त रूपमा गाउँ–गाउँमा पुगेको छ। गाउँका मान्छेले पनि पुल बारेर, बाटो बारेर नयाँ मान्छेको प्रवेश निशेष गर्नुभएको छ। यद्यपि, यसबाट साह्रै त्रसित भएर डराउने कुरा पनि हुँदैन। तर, पूर्वसचेतना चाहिँ अपनाउनै पर्छ। आत्मअनुशासन भयो भने कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ भन्ने हो। भिडभाडबाट जोगिनेदेखि सामाजिक दूरी कायम गर्नेसम्मका कार्यहरूमा जनस्तरमा सचेतता आएको छ। कर्णालीमा जागरण आएको छ। यही अवस्था कायम राख्ने नै हाम्रो प्रयास हो र नयाँ संक्रमित नभित्रिएमा कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमणको कुनै जोखिम हुँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय