कोरोनासँग जुधिरहेका विश्वका पाँच अग्रणी महिलामा नेपालकी डा. रुना झा

कोभिड-१९ ले निम्त्याएको संकटका कारण अहिले विश्वभर महिला र युवतीहरूको जीवनमा परिवर्तन हुँदैछ। केहीका लागि आफ्ना कार्यक्षेत्र तथा व्यक्तिगत जीवन ठप्प भएका छन् भने अन्यले बढी तनाव र नयाँ चुनौतीहरूको सामना गरिरहेका छन्। विश्वभर लाखौं महिलाहरू कोभिड-१९ विरूद्ध अग्रपंक्तिमा रही अभिन्न अंगका रुपमा कार्यरत छन्।

विश्वमा स्वास्थ्य र सामाजिक क्षेत्रमा बहुसंख्यक महिला कार्यरत छन्। करिब हरेक तीनमध्ये एक महिला कृषि पेशामा संलग्न छन् भने पुरुषको दाँजोमा महिलाले तीन गुणा बढी बिना पारिश्रमिक काम गर्छन्।

यस महामारीका दौरान खेतीपातीदेखि पहिलो–प्रतिक्रिया सेवालगायत त्यसबीचका सम्पूर्ण कार्यमा महिलाहरूले आफ्नो समुदायलाई सुरक्षित र संयमित राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्दैछन्।

नेपालमा कोरोना भाइरस परीक्षणको अग्रणी भूमिकामा डा.रुना

डा. रुना झा नेपालको एक मात्र अधिकृत कोभिड–१९ प्रयोगशालाका प्रमुख प्याथलोजिष्ट तथा निर्देशक हुन्। उनी र उनको समूहले अहिले दैनिक लगभग ७० नमूनाको परीक्षण गरिरहेका छन्। प्रायः अनियमित अन्तरालमा आउने ती नमूनाहरूका कारण सो समूहका सदस्यहरुले प्रायः २४ घण्टा काम गर्नुपर्ने हुन्छ।

‘प्रयोगशालामा ढिला बस्नु सामान्य कुरा भएको छ। प्राविधिक कार्यको अतिरिक्त, मैले आफ्नो समूहको लागि यातायात र खानाको पनि व्यवस्थापन गर्नुपर्छ,’ उनी भन्छिन्।

झाले आफ्नो टोलीलाई उच्च प्राथमिकता राखेकी छिन्। यसको सुरुवात फेब्रुअरीको मध्यतिर भयो जब उनको समूह चीनको वुहानबाट उद्धार गरेर ल्याइएका १७५ नेपाली विद्यार्थीहरूलाई राखिएको क्वारेन्टाइन केन्द्रमा पहिलो पटक प्रवेश गर्‍यो।

‘मेरो टोली नमूना संकलन गर्न हिचकिचाएन, सबै जना तयार थिए। हामीले रातभर काम गरेर भोलिपल्टै १७५ रिपोर्ट सार्वजनिक गर्‍यौं,’ उनले भनिन्।

महामारीको घोषणा भएको महिना दिन बितेपनि कामको दबाब भने झन बढेको छ। झालाई कामका मागहरू चुनौतीपूर्ण भएका छन्।

भाइरसको संक्रमण जोखिमका कारण उनी अहिले छोरी र श्रीमानबाट अलग्गै बसेकी छिन्। उनी आफ्ना बुबा–आमालाई हप्तामा तीनपटक भेट्ने गर्थिन् तर अहिले त्यसो गर्न सक्दिनन्।

‘म मेरो छोरीलाई अंगालो हाल्न चाहन्छु र मेरा बाबु–आमाको हेरचाह गर्न चाहन्छु। तर, उनीहरू र अरूलाई सुरक्षित राख्न यो त्याग आवश्यक छ,’ झा भन्छिन्।

नवीन प्रविधि अपनाई जोर्डनमा महिलालाई सुरक्षित राख्दै

अमल अल–महायरा र हदील दबइवेह संकट सम्बोधनसँग परिचित छन्। युएन विमेन फिल्ड असिस्टेण्टका रूपमा उनीहरूले प्रत्येक दिन जोर्डनका कमजोर महिला र सिरियाली शरणार्थीहरूका लागि अत्यावश्यक र जीवन बचाउने सेवाहरू प्रदान गर्छन्। यद्यपि, यस महामारीले उक्त रेखालाई अझै घर नजिक ल्याएको छ—क्याराभान र समुदायिक केन्द्रहरूदेखि तिनीहरूको हातका मोबाइल फोनसम्म।

अमलले आफ्नो डेस्कबाट दक्षिणी जोर्डनको आइन अलबायदामा बस्ने ५४ वर्षीया सिहाम अलकातामिनलाई फोन लगाउँछिन्। फोनमा अमलले सिहामलाई कोभिड–१९ रोकथाम र सेवाहरूबारे परामर्श र मनोसामाजिक सहयोग उपलब्ध गराउँछिन्।

युएन विमेन फिल्ड स्टाफले सिहामलगायत आठ सय बढी सेवाग्राहीलाई मोबाइल फोनमार्फत् सेवा तथा आवश्यक स्रोत उपलब्ध गराइरहेका छन्।

यस संकटको घडीमा डिजिटल प्रविधि जोर्डनका असुरक्षित महिला र शरणार्थीहरूको लागि निर्बाध सेवा उपलब्ध गराउन एक अत्यावश्यक उपकरण सावित भएको छ। घरेलु हिंसाबाट पीडित महिलाका लागि २४ घण्टा हटलाइन उपलब्ध गराउनुका साथै युएन विमेनले ‘ब्लकचेन’ प्रणालीको प्रयोगद्वारा सिरियाली शरणार्थीहरूलाई नगद वितरण गरिरहेको छ। प्रत्येक शरणार्थीको खाता ब्लकचेनसँग जोडिएको छ, जुन विश्व खाद्य कार्यक्रमद्वारा सञ्चालित सुपरमार्केटमा आइरिस स्क्यानिङ प्रणालीसँग जोडिएको छ। यसले शरणार्थीहरूलाई बिना झन्झट पैसा उपलब्ध गराई लकडाउनका बाबजुद खाना र अन्य उपभोग्य वस्तु खरिद गर्न मद्दत पुर्‍याएको छ।

चीनको ग्रामीण भागमा जनसेवा 

यान शेङ्गलियान चीनको उत्तरपश्चिम प्रान्त किनघाइमा अवस्थित दुर्गम गाउँ सियारुयावोको बोर्डर नाकामा उभिएकी छिन्। आवत–जावत गर्ने मानिसहरूको घुइँचो छिचोल्दै यान तिनीहरूको शरीरको तापक्रम नाप्दै गाडी नम्बर दर्ता गर्दै गरेकी देखिन्छिन्। कोरोनाभाइरस फैलाव कम गर्न आवश्यक उक्त काम उनका लागि भने बिल्कुलै नयाँ हो। उनी चीनमा मेडिकल पृष्ठभूमिबिना कोभिड–१९ विरुद्धको लडाइँमा होमिएका असंख्य महिलाहरूमध्ये एक हुन्।

यान पेशाले सुँगुरपालक किसान हुन्। केही समयअघिसम्म गाउँका अन्य महिलाजस्तै उनको सोच पनि सार्वजनिक क्रियाकलापको जिम्मेवारी पुरुषको मात्र हो भन्ने थियो। तर, २०१९ मा लिएको सिप प्रशिक्षणपछि उनको दृष्टिकोण परिवर्तन भयो।

संयुक्त राष्ट्र संघको महिला सहयोगी कार्यक्रम अन्तर्गत यानले जैविक रूपमा सुँगुर पाल्ने, अनलाइन प्लेटफोर्ममा गाईवस्तु बेच्ने तरिकालगायत नेतृत्व सम्बन्धि प्रशिक्षण लिए।

‘केही पुरुषहरू यसलाई स्वीकार गर्न चाहँदैनन्, तर तिनीहरू चुपचाप मेरो विधिहरू अनुकरण गर्दैछन्,’ उनी भन्छिन्। अब उनको क्षमतालाई कसैले प्रश्न गर्दैनन्। उनी अगाडि भन्छिन्, ‘गाउँमा सामुदायिक पहलमा महिलाको नेतृत्वलाई स्वीकार्न थालियो।’

कृषक तथा सामुदायिक स्वयंसेवकको दुबै भूमिकामा यानले महत्वपूर्ण सेवा दिइरहेकी छिन् र कोभिड–१९ रोकथामका लागि थप कदम चाल्दैछिन्।

कजाकस्तानमा बाँचेकाहरूलाई सहयोग गर्दै

क्वारेन्टाइनअघि कजाकस्तानको नेमोल्ची (चुप बस) आन्दोलनद्वारा सञ्चालित हेल्पलाइनले मुख्यतया यौन हिंसा पीडितहरूको फोन आउने गर्थ्यो। अहिले दिनमा १०–१५ पटक फोन बज्ने गर्छ र फोन गर्ने लगभग सबैजसो घरेलु हिंसा पीडित महिलाहरू हुन्छन्।

भाइरसको फैलावटलाई रोक्ने उपायहरू अपनाइरहँदा, हिंसापीडित महिलाहरू प्राय:जसो मद्दत र स्रोतसाधनबाट टाढा हुन्छन्।

‘प्रायः महिलाहरू प्रहरीलाई खबर गर्न चाहँदैनन्, किनकि उनीहरू एक्लोपना, कहिलेकाँही ठूला परिवारमा आफ्ना सासु-ससुरा र अन्य आफन्तहरूसँग एकै घरमा बसेका हुन्छन्,’ नेमोल्ची आन्दोलनका नेता र कजाख कार्यकर्ता दीना स्मेलोवा भन्छिन्।

गत दुई वर्षमा नेमोल्चीले १२० महिलालाई निःशुल्क कानुनी सहायता प्रदान गरेको छ। तीमध्ये ४७ मुद्दामा बलात्कारको दोषी साबित भएको छ, तर कोभिड–१९ को संकटले दीनासामु नयाँ चुनौतीहरू खडा गरेको छ।

‘क्वारेन्टाइनको अवधिमा अदालतले काम गर्दैन, दाबीहरू स्वीकार्य हुँदैन, दुराचारीहरूलाई अलग गरिएको हुँदैन। र महिलाहरू सजिलै हिंसाको शिकार हुन्छन्।’

यस्तो गम्भीर अवस्थाका बाबजुद दीना कजाकस्तानमा महिलाको न्याय र नीतिका लागि जोड दिन्छिन्, ‘कजाकस्तानमा अहिले पनि घरेलु हिंसालाई अपराधमा गनिँदैन, जसका कारण यस महामारीका दौरान हिंसाका घटना अझै बढेका हुन सक्छन्।’

क्यारिबियन समुदायको आशा जगाउँदै

कोभिड–१९ प्रकोपका कारण जब क्यालिफोर्नियामा आफू काम गर्ने होटल बन्द भयो, त्यहाँ हाउसकीपिङ निर्देशकका रूपमा काम गर्दै आएकी र्‍यानसिया हेनरीले एन्टिगुवा एण्ड बार्बुडामा आफ्नी आमालाई फोन गरिन्। ‘तुरुन्त घर फर्क,’ उनकी आमाले मलिन स्वरमा भनिन्, ‘म तिमीलाई सुरक्षित भएको हेर्न चाहन्छु।’

तर, सबै अन्तर्राष्ट्रिय उडानहरू निलम्बन गरिएका कारण र्‍यानसियाको स्वदेश फर्किने प्रयास बिफल भयो। उनी संयुक्त राज्य अमेरिकामा एक्लै बस्न बाध्य भइन्।

कोरोना प्रकोपका कारण र्‍यानसियाजस्तै बेरोजगार भएका लाखौं कामदारहरू यस संकटमा आफूलगायत आफ्ना कामदार, परिवार र साथीभाइहरूमा पर्न सक्ने दीर्घकालीन प्रभावले चिन्तित छन्। अन्य प्रवासी कामदारहरू झैं उनी पनि आफ्नो परिवारलाई आर्थिक सहयोग गर्न थप जिम्मेवारी बहन गर्छिन्।

‘हस्पिटालिटी क्षेत्रमै यति ठूलो आर्थिक असर परेको छ, म यो परिस्थिति कति लम्बिएला भन्नेमा चिन्तित छु। यस्तो बेला आर्थिक रुपमा सबल रहन मैले गर्ने निर्णय र त्यसबाट मेरो टोलीमा पर्ने प्रभाव पनि मेरो चिन्ताको विषय बनेको छ। आमालाई सहयोग गर्न केही रकम घर पठाएकी छु। साथै आफ्नो खर्चका बारेमा पनि चिन्तित छु,’ र्‍यानसिया भन्छिन्।

उनको चिन्ता त्यहीँ समाप्त हुँदैन। उनी आफ्नो स्वदेशको बारेमा पनि चिन्तित छिन्। ‘म यस कोभिड–१९ मा सीमित संसाधन भएका साना देशहरूका लागि पनि चिन्तित छु। एन्टिगुवा पर्यटनमा निर्भर छ। होटल, रिजोर्टहरू बन्द भएपछि हाम्रो मुख्य उद्योग बन्द भएको छ,’ उनी थप्छिन्।

यद्यपि, भाइरसको फैलावट रोक्न घरमै बसी शारीरिक दूरीको अभ्यास गर्दै गरेकी र्‍यानसिया आशावादी छिन्। उनले परिवारसँग लगातार सम्पर्कमा बस्ने, सामाजिक सञ्जालमा सन्देशहरू सात्ने र एन्टिगुवा एण्ड बार्बुडामा पर्यटन उद्योगका साथीहरूसँग विचार आदानप्रदान गर्ने गरेकी छिन्। ‘मलाई थाहा छ, यस टापुका मानिसहरू कति अडिग छन्। यस टापुमा जन्मेकाले म भित्र अतिथि सत्कार र प्रशस्त आँट बाँकी छ।’

(युएन विमेनबाट अनुवादित सामग्री)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय