कोरोना सन्त्रास : प्रशासनको निर्देशनविपरीत राजमार्गमै ढाट राखेर सडक अवरोध

झापाका राजमार्ग, सहर, बजार र ग्रामीण क्षेत्रका चोक, गल्ली जताततै बार लगाइएको छ। कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण उत्पन्न त्रासका कारण झापाका सबैजसो क्षेत्रका नागरिकले सडक अवरुद्ध हुने गरी बार लगाएका हुन्।

यद्यपि, स्वास्थ्य सतर्कता अपनाउनतर्फ ध्यान पुर्‌याउनु पर्ने धारणा अगुवाहरूको छ। विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको निर्देशनात्मक स्वास्थ्य सन्देश पालना गरे मात्रै कोरोना संक्रमणबाट जोगिन सकिने स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन्।

झापाको धुलाबारीमोड,चारआलीचोक, सुरुङ्गा क्षेत्रको राजमार्गमा बार लगाइएको छ। मेचीको मुख्य व्यापारिक केन्द्र बिर्तामोड–४ को अन्नपूर्णचोक पश्चिम र त्यहीँबाट दक्षिण सडक, गोमेन्द्र कलेज प्रवेशमार्ग, गजुरमुखी टोल, न्युटन्स् प्रवेशमार्ग, आदर्श टोल, कञ्चनजंगा चोक लगायत दर्जन बढी स्थानमा बार लगाएर सडक अवरुद्ध गरिएको छ।

ढाट तेर्साएको ठाउँमा स्थानीय रुगेर बस्ने गरेका छन्। उनीहरुलाई सोध्दा जनप्रतिनिधिको आदेशमा बार लगाएको भनेर धम्क्याउने गरिएको छ।

तर, बिर्तामोड–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाले बाटो रोक्न आफूले सल्लाह नदिएको बताए। उनले बाटो अवरुद्ध गर्नुभन्दा सतर्कता अपनाउन सुझाव दिएका छन्।

लकडाउनको सुरुआती दिनदेखि नै झापाका सहर तथा ग्रामीण क्षेत्रका चोक बजार र वस्तीमा बार लगाइएपछि स्थानीय सरकार र प्रहरीको सक्रियतामा बार हटाउन सुरू गरिए पनि त्यो प्रभावकारी हुन सकेको छैन।

झापाका प्रहरी प्रमुख कृष्णप्रसाद कोइरालाले प्रहरीले परिचालन गरेर सडकका बार हटाइएको र कहिँ कतै भए तत्काल हटाउने बताए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक प्रकाश जवेगुले सडक अवरुद्ध गर्नु सरासर गल्ती र सामाजिक हित प्रतिकुल भएको बताए।

दमकका बुद्धिराज न्यौपानेले त्यहाँका केही भित्री सडकमा स्थानीयले बाटोमा समेत हिड्न अवरोध गरेको बताए। आफूहरुले त्यसको प्रतिवाद गरेपछि अहिले त्यस्तो अवस्था न्यूनीकरण हुँदै गएको न्यौपानेको भनाइ छ।

प्रहरी, जनप्रतिनिधिले बार हटाइएको र तत्काल हटाउने बताए पनि झापाका सहरी र ग्रामीण क्षेत्रमा त्यस्ता बार अझै पनि धेरै ठाउँमा छन्। यसले अत्यावश्यक सेवा र आवागमनमा अप्ठ्यारो सिर्जना गरेको छ।

बन्दाबन्दीले जनजीवन कष्टकर बन्दै गएको छ। दैनिक ज्यालादारी गर्ने र अतिविपन्न परिवारमा बिहान, बेलुका जोड्न समस्या परिरहेको छ। ३९ दिनदेखि जारी लकडाउनले हिँडडुल गर्नेको संख्या न्यून छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय