स्वास्थ्यचौकीविहीन कोरोना ‘हट स्पट’ भुल्केमा परीक्षण टोली नपुग्दा झन् त्रास

कोरोना भाइरसको ‘हट स्पट’ उदयपुर त्रियुगा नगरपालिका-३ भुल्केमा प्राथमिक स्वास्थ्य केन्द्रसमेत छैन।

भुल्केमा २८ जना कोरोना संक्रमित रहेको पुष्टि भएको छ।

कोरोना भाइरस संक्रमण पुष्टि भएको केही समयपछि भुल्केमा दादुरा तथा झाडापखाला समेत देखिएको थियो।

भुल्केलगायत उदयपुरका अन्य वडामा पनि स्वास्थ्य संस्था छैनन्। सामान्य बिरामी हुँदा जिल्ला अस्पतालकै मुख ताक्नुपर्ने बाध्यता छ।

‘भुल्केका सर्वसाधारण सबैले स्वास्थ्य परीक्षण गरिनुपर्ने माग भए पनि वडामा न स्वास्थ्य संस्था छन् न त स्वास्थ्यकर्मी नै,’ भुल्के वडा नम्बर ३ का अध्यक्ष अवधेशकुमार चौधरीले भने, ‘स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको अभाव हुँदा सर्वसाधारण झन् त्रसित बनेका छन्।’

चौधरीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य उपकरणका लागि नगरपालिका तथा अन्य निकायहरूसँग समन्वय गरेको भए पनि अहिलेसम्म परीक्षण टोली र स्वास्थ्य सामग्री नआएको बताए।

त्रियुगा नागरपालिकाभित्र १६ वडा कार्यालय छन्। जसमध्ये कोरोना भाइरसको ‘हट स्पट’ भुल्के, वडा नम्बर ४, ६,८,९,१० र वडा नम्बर १२ गरी ७ वडामा  प्राथमिक स्वास्थ्य केन्द्र वा स्वास्थ्य चौकी छैनन्।

स्वास्थ्य केन्द्र नभएका वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने भनेपनि लकडाउनले काम गर्न सकेका छैनौं, स्वास्थ्य प्रमुख सुवेदीले भने, ‘स्वास्थ्य केन्द्र स्थापनाका लागि केही वडामा औषधि पठाइसकेका छौं काम गर्न सहज भएपछि स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउछौं।

भुल्केको जस्तै समस्या छ, ८ नम्बर वडामा। वडाले सर्वसाधारणको स्वास्थ्य परीक्षणका लागि सबैलाई गुहारे पनि अहिलेसम्म स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी आएका छैनन्। त्रियुगा-८ का वडाध्यक्ष कमलकुमार राउतले स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीको अभावले कसैको स्वास्थ्य परीक्षण गर्न नसकिएको बताए।

वडा ६ नम्बरमा करिब दुई सय घरधुरी मुस्लिम समुदायको बसोबास छ। त्यहाँ  तीन वटा मस्जिद छन्। स्वास्थ्य सामग्री अभावले उनीहरूको स्वास्थ्य परीक्षण गर्न सकिएको छैन।

‘मुस्लिम समुदाय कोरोना भाइरस संक्रमणको जोखिममा छन्, उनीहरू स्वास्थ्य परीक्षण गर्न पर्खिरहेका छन्,’ वडा नम्बर ६ का अध्यक्ष निर्मलकुमार चौधरीले भने।

वडा नम्बर ९ का अध्यक्ष धनबहादर दनुवारले कोरोना भाइरसको जोखिम रहे पनि अहिलेसम्म कसैको स्वास्थ्य परीक्षण गर्न नसकिएको बताए।

उनले सरकारले कोरोना भाइरसको परीक्षणमा लापरबाही तथा ढिलासुस्ती गरेको गुनासो गरे। वडा नम्बर १ का अध्यक्ष मनोजकुमार चौधरीले स्वास्थ्यकर्मीसमेत जोखिममा परेको भन्दै थर्मोमिटरले काम चलाइरहेको बताए।

त्रियुगा नगरपालिकाका स्वास्थ्य प्रमुख मोहन सुवेदीले स्वास्थ्य संस्था नभएका वडाहरुमा आधारभुत स्वास्थ्य संस्था राख्ने निर्णय गरेको भएपनि लकडाउनका कारण काम गर्न नसकिएको बताए।

‘स्वास्थ्य केन्द्र नभएका वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने भनेपनि लकडाउनले काम गर्न सकेका छैनौं, स्वास्थ्य प्रमुख सुवेदीले भने, ‘स्वास्थ्य केन्द्र स्थापनाका लागि केही वडामा औषधि पठाइसकेका छौं काम गर्न सहज भएपछि स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउछौं।’

आधारभुत स्वास्थ्य केन्द्रका लागि नगरपालिकाले २ जना स्वास्थ्यकर्मी तथा १ जना कार्यालय सहयोेगी र औषधिसहित ३ जनाको व्यवस्था गरिएको सुवेदीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय