कोरोना भाइरस सम्बोधन गर्न समय खेर फालेको छैन : विश्व स्वास्थ्य संगठन

कोरोना भाइरस नियन्त्रणका लागि आफ्नो भूमिकामाथि भइरहेको आलोचनाको प्रतिरक्षा गर्दै विश्व स्वास्थ्य संगठनले यसलाई सम्बोधन गर्न ‘समय खेर नफालेको’ जनाएको छ।

विश्व स्वास्थ्य संगठनले ३० जनवरीमा नै यो भाइरसलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गरेकाले ‘विश्वभरका राष्ट्रलाई यसका विरुद्ध लाग्न पर्याप्त समय भएको’ संगठकका प्रमुख डा. टेड्रोस अधानोम गेब्रेएसियसले भनेका छन्।

त्यतिबेला चीनबाहिर ८२ वटा मात्रै संक्रमणका घटना थिए भने कुनै मृत्युको खबर आएको थिएन। आज विश्वभर ३२ लाख बढी संक्रमण तथा दुई लाख ३४ हजार मृत्युका घटनाहरू दर्ता भइसकेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संगठन आफ्नो कर्तव्यबाट ‘नराम्ररी चुकेको’ र ‘चीनपरस्त’ भएकाे जस्ता आरोप लगाएका छन्।

अमेरिका संगठनको सबैभन्दा ठूलो दातृराष्ट्र हो र राष्ट्रपति ट्रम्पले हाललाई सहयोग रकम रोक्का गरेका छन्।

शुक्रबार एक पत्रकार सम्मेलनमा संगठनको कडा प्रतिरक्षा गर्दै डा. टेड्रोसले उसले कोरोना भाइरसविरुद्ध कसरी प्रतिक्रिया दियो भन्नेबारेमा प्रष्ट पारे।

उनले आपतकालीन घोषणा गर्नुअघिको समय डब्ल्यूएचओले बुद्धिमानीपूर्वक प्रयोग गरेको र त्यस दौरान चीनको समेत भ्रमण गरी यो भाइरसको उत्पत्तिबारेमा अझ बढी जानकारी हासिल गरेको बताए।

डा. टेड्रोसले महामारी घोषण भएको तीन महिनापछि पनि यो ‘सार्वजनिक स्वास्थ्य आपतकाल अन्तर्राष्ट्रिय चिन्ता’ को विषय रहेको पुष्टि गरे।

‘असाधारण’ परिस्थितिमा गरिने यस्ता घोषणामा विश्वव्यापी प्रतिक्रियाको आवश्यकता पर्छ ।

डा. टेड्रोसले कमजोर स्वास्थ्य प्रणाली भएका देशहरूमा यसको संक्रमण बढेसँगै यो भाइरसको सम्भावित प्रभावमाथि ‘गहिरो’ चिन्ता व्यक्त गरे।

स्वास्थ्य अधिकारीहरुले हाइटी, सोमालिया र सुडानजस्ता कमजोर स्वास्थ्य संरचना भएका मुलुकहरूमा भाइरस तीव्र रुपमा फैलिरहेको चेतावनी दिएका छन्।

विश्व स्वास्थ्य संगठनले कतिपय मुलुकहरूले लकडाउन सहज गर्ने प्रक्रियामा सामाजिक दूरीका उपायहरू हटाउँदै गर्दा संक्रमणका नयाँ घटनाहरूको अनुगमनको आवश्यकता औंल्याएको छ।

संयुक्त राज्य अमेरिकासँगको सम्बन्ध बारेमा पुनः सोधिएको प्रश्नको जवाफमा डा. टेड्रोसले संयुक्त राष्ट्रको स्वास्थ्य निकाय लगातार सम्पर्कमा रहेको बताए।

बिहीबार राष्ट्रपति ट्रम्पले आफ्ना गुप्तचर संस्थाहरूको भनाइलाई अघि सार्दै आफूले कोरोना भाइरसको उत्पत्ति एक चिनियाँ प्रयोगशालामा भएको प्रमाण देखेको दाबी गरेका थिए।

डब्ल्यूएचओका हेल्थ इमर्जेन्सीका प्रमुख डा. माइकल रायनले शुक्रबार उक्त दाबी सम्बोधन गरे।

‘वुहानमा भाइरसको उत्पतिको बारेमा हामीले थुप्रै वैज्ञानिकहरूलाई बारम्बार सुनेका छौं, जसले अनुवांशिक सिक्वेन्सहरू हेरेका छन्, यस भाइरसलाई हेरेका छन् र हामी पनि यो भाइरसको उत्पत्ति प्राकृतिक हो भन्नेमा आश्वस्त छौं,’ उनले भने।

डा. रायनले अगाडि भने, ‘हामीले पशु ‘होस्ट’को बारे र भाइरस जनावरबाट मानिसमा कसरी सर्छ भनेर बुझ्न ‘आवश्यक’ छ।’

चीनले भने प्रयोगशालाको सिद्धान्तलाई अस्वीकार गरेको छ र कोभिड-१९ प्रतिको अमेरिकी प्रतिक्रियाको आलोचना गर्दै आएको छ।

  • एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय