महामारीमा अर्काे हतार : बनेपामा प्रतिरक्षा विश्वविद्यालय खोलिने

सरकारले दुई वर्षभित्र काभ्रेकाे बनेपामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेकाे छ। कोरोना भाइरस (कोभिड-१९) महामारी चलिरहँदा सरकारले पूर्वरथी बालानन्द शर्माकाे अध्यक्षतामा प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समिति गठन गरेको छ।

वैशाख १४ गतेको मन्त्रिपरिषद बैठकले गठन गरेकाे समितिमा शर्मालाई उपकुलपतिकै हैसियत दिइएकाे छ। समिति सदस्यमा पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौला र पूर्वराजदूत शम्भुराम सिंखडालाई नियुक्त गरिएको छ।

समितिलाई दुई वर्षभित्र विश्वविद्यालयका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार तयार पार्ने कार्यादेश रहेको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ।

नेपालको आन्तरिक सुरक्षा सुदृढीकरण, राष्ट्रिय एकता अभिवृद्धि साथै एकेडेमिक रूपमा सुरक्षाकर्मीलाई विज्ञता हासिलका लागि सरकारले प्रतिरक्षा विश्वविद्यालयको अवधारणा ल्याएको हो।

सरकारले अघिल्लो वर्षको नीति तथा कार्यक्रममै राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्ने घोषणा गरेको थियो। त्यही कार्यक्रम कार्यान्वयनका लागि अहिले प्रक्रिया अघि बढाइएको रक्षा मन्त्रालयका एक उच्च अधिकारीले बताए।

‘आन्तरिक सुरक्षा, राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर नीतिगत रूपमै जनशक्ति तयार गर्ने उद्देश्य राखिएको छ,’ रक्षाका ती अधिकारीले भने।

विश्वविद्यालयको महानिर्देशक नेपाली सेनाका रथी रघु भण्डारी र कार्यकारी निर्देशक सहायक रथी विष्णु राउतलाई तोकिएको छ।

अन्य पदेन सदस्य रहने गरी समिति गठन गरिएको छ। त्यसमा रक्षा, गृह, परराष्ट्र, शिक्षा, अर्थ र कानुन मन्त्रालयका प्रतिनिधि रहनेछन्।

विश्वविद्यालयका लागि सरकारले यो वर्ष २० करोड रूपैयाँ विनियोजन गरेको छ। विनियोजित बजेटबाट यसपालि डिपिआर तयार गर्ने, मास्टर प्लानलगायत तयार गर्ने रणनीति रहेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।

सैन्य ‘हर्कत’ का लागि नभएर विश्वव्यापी ज्ञान दिने थलोका रूपमा विश्वविद्यालय खोल्नु जायज नै रहने अधिकारीहरू बताउँछन्। तर मोडल, पाठ्यक्रम कस्ता ल्याइन्छन् त्यसले नै विश्वविद्यालयको ‘चरित्र’ उजागर गर्ने पूर्वरक्षासचिव देवेन्द्र सिटौलाले बताए।

दुई वर्षमा यो समितिले विश्वविद्यालय ऐनको मस्यौदा पनि बनाउने छ। वाह्य देशका अभ्यास अध्ययन-अनुसन्धान गरेर यो समितिले पाठ्यक्रमको मोडल पनि तयार गर्ने रक्षा मन्त्रालयले जनाएकाे छ।

विश्वविद्यालयका लागि सरकारले बनेपा-१३ मा ७ सय ५० रोपनी जग्गा टुंगो लगाएको छ। सरकारले पेरूङ्गा सामुदायिक वन उपभोक्ता समितिकाे उक्त जग्गामा विश्वविद्यालय बनाउने छ।

विकसित मुलुकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा छन्। नेपालजस्तो सानो मुलुकमा प्रतिरक्षाका लागि विश्वविद्यालय कति आवश्यक भन्ने विषय भने बहसमा आएकै छैन। सरकारले प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्न विज्ञहरूसँग परामर्श गरेको छैन।

सम्बद्ध अधिकारीहरूका अनुसार प्रतिरक्षा विश्वविद्यालय स्थापनाबारे पहिलेदेखि नै छलफल भइरहेको भए पनि नीतिगत रूपमै कार्यान्वयनमा भने ल्याइएको थिएन।

सैन्य ‘हर्कत’ का लागि नभएर विश्वव्यापी ज्ञान दिने थलोका रूपमा विश्वविद्यालय खोल्नु जायज नै रहने अधिकारीहरू बताउँछन्। तर मोडल, पाठ्यक्रम कस्ता ल्याइन्छन् त्यसले नै विश्वविद्यालयको ‘चरित्र’ उजागर गर्ने पूर्वरक्षासचिव देवेन्द्र सिटौलाले बताए।

नेपाल शक्ति राष्ट्र विशेषगरी भारत र चीनको राजनीतिको सामरिक प्रभाव पर्ने देश हो। ‘नेपालको छिमेकमा भारत र चीन दुई शक्तिशाली राष्ट्र छन्, नेपाल त्यहाँको राजनीतिक महत्व रहने देश हो, यी देशसँग सैन्य हिसाबले नेपालले धान्ने अवस्था रहेन,’ सिटौलाले भने, ‘आन्तरिक सुरक्षा र सेवा चाहिन्छ, त्यसकारण यसलाई एउटा सेन्टर अफ एक्सपेरिएन्सको रूपमा विकसित गर्न सकिन्छ।’

आन्तरिक सुरक्षा मजबुत पार्ने मामलामा विश्वविद्यालय उपयोगी नै हुने सिटौलाले बताए। ‘नेपालका सुरक्षामा सेना रणनीतिक रूपमा अग्र भूमिकामा छ, यसलाई एकेडेमिक रूपमै दक्ष बनाउने कुरा सकारात्मक हो,’ उनले भने।

शान्ति स्थापनार्थ विश्वमा खटिने जनशक्तिलाई विशेष तालिम दिन काभ्रेको पाँचखालमा सेनाको तालिम केन्द्र छ। यहाँ दुई दर्जन देशका सेनाहरू सैन्य तालिम लिन आउने गरेका छन्।

नेपाली सेना विश्व शान्ति स्थापनार्थ सेना खटाउने मुलुकको सूचीमा चौथो स्थानमा छ। नेपाली सेनाले हालसम्म विश्वका ४३ वटा शान्ति मिसनमा काम गरिरहेको छ।

‘यस हिसाबले पनि नेपाली सेनाको गुणस्तर व्यावसायिक छ भन्न सकिन्छ, विश्वविद्यालयलाई गुणस्तर अभिवृद्धिमा प्रयोग गर्न सकिन्छ,’ सिटौलाले भने।

अमेरिका, चीन, कोरिया, पाकिस्तान, इन्डोनेसिया, ताइवान, इरान, श्रीलंका, मलेसिया, रोमानियालगायत मुलुकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय छन्। भारत, बंगलादेश, केन्या, क्युबा, युगान्डा, फिलिपिन्सलगायत मुलुकमा भने कलेजमात्र सञ्चालनमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय