संक्रमणपछि बौरिने प्रयासमा कोरोना ‘हटस्पट’ भुल्के

कोरोना भाइरसबाट २८ संक्रमित उदयपुर त्रियुगा नगरपालिका–३ भुल्केमा अहिले पनि संत्रास कायमै छ। यद्यपि, जनस्वास्थ्य प्रतिनिधिहरू स्थिति शान्त बनाउने प्रयासमा लागिरहेका छन्।

त्रियुगा नगपालिका–३ का वडाध्यक्ष अवधेश चौधरीका अनुसार वैशाख ११ देखि सिल गरिएको त्रियुगा नगरपालिकास्थित भुल्के क्षेत्रमा विभिन्न चरणका परीक्षणपछि अहिले स्थिति सामान्य बनाउने प्रयत्न भइरहेको छ।

‘स्थिति सामान्य बनाउन सहजीकरण भइरहेको छ। खाद्यान्न र अत्यावश्यक सामग्री उपलब्ध गराउने काम जारी छ। यसअघि पनि राहत वितरण भइसकेको थियो,’ चौधरीले भने, ‘अहिले स्थिति सामान्य बन्नेतर्फ उन्मुख छ।’

झन्डै ७ सयजनामा ¥यापिड डाइग्नोस्टिक टेस्ट र पोलिएमरेक्स चेन रियाक्सन पिसिआर परीक्षण गरेपछि संक्रमण देखिएकालाई कोभिड अस्पताल विराटनगर पठाइएपछि र अन्यलाई संक्रमण नदेखिएकाले पनि स्थिति सामान्य बन्न थालेको चौधरीले बताए।

‘२८ जनामा कोरोना भाइरस संक्रमण देखिए पनि कसैलाई कुनै किसिमको स्वास्थ्य समस्या भएको छैन। अन्य नागरिकलाई कोरोना संक्रमण नदेखिएपछि संत्रासको जुन माहोल थियो, त्यो हटेको छ,’ चौधरीले भने।

कोरोना भाइरसबाट संक्रमितलाई उच्च सावधानीसाथ उपचार गराइरहेको चौधरीले बताए। अधिकांशको अवस्था सामान्य रहेकाले परिवारमा पनि अवस्था सामान्य रहेको उनले बताए। केही परीक्षण रिपोर्ट ‘सकारात्मक’ आइरहेकाले संक्रमितहरू पूर्ण स्वास्थ्यलाभपछि चाँडै घर फर्किने अपेक्षा उनले व्यक्त गरे।

‘राहतमा फलफूल पनि दिइयोस्’

त्रियुगाको भुल्के क्षेत्रमा मुस्लिम समुदायको उल्लेख्य बसोबास छ। अहिले मुस्लिम समुदायको चाड रमजान चलिरहेको छ। यसमा मुस्लिम समुदाय व्रत बस्ने गर्छन्।

त्यसैले राहतमा फलफूलको समेत माग भएको जानकारी वडाअध्यक्ष चौधरीले दिए। ३ नम्बर वडामा ८ हजार जनसंख्या छ। भुल्के क्षेत्रमा ३ सयभन्दा धेरै घरपरिवार छन्।

‘५७ घर मुस्लिम समुदायको बसोबास रहेको गाईघाट, जलजलेलगायत क्षेत्रमा २ सय ८६ परिवार बसोबास गर्छ,’ चौधरीले भने, ‘तीन चरण राहत वितरण गरिसकेका छौं। ३ सय २२ घरधुरीलाई राहत दियौं। चामल, दाल, चाउचाउ, बिस्कुट बाँडिसकेका छौं।’

राहत वितरण गरे पनि मुस्लिम समुदायको रोजा चलिरहेकाले फलफूलको प्रबन्ध गरिदिन माग आएको चौधरीले बताए। सागसब्जी पर्याप्त रहेकाले खाद्यान्न र फलफूलको व्यवस्था गरिदिन स्थानीयले माग गरेको उनले बताए।

प्रदेश सरकारसँग नागरिक अपेक्षा

भुल्केबासीले हरेक घरका सदस्यको कोरोना भाइरस परीक्षणको माग गरेका छन्। तर, आवश्यक किट पर्याप्त नहुँदा त्यो कामले पूर्णता पाएको छैन।

‘प्रदेश सरकारसँग स्थानीयको माग सबैको स्वास्थ्य परीक्षण होस् भन्ने छ। प्रदेश सरकारसँग समन्वय भइरहे पनि परीक्षण कार्यले पूर्णता पाउन सकेको छैन,’ उनले भने।

मुख्यमन्त्री शेरधन राईले पनि भुल्के पुगेर स्थानीयबासीको अवस्थाबारे विस्तृत जानकारी लिएका थिए। यद्यपि, स्थानीयको मागबमोजिम कोरोना परीक्षणको कार्य हुन सकेको छैन।

यसैबीच, स्थानीय तहले अन्य आवश्यक सामग्री र केही रकमसमेत स्थानीयलाई उपलब्ध गराउन पहल गरिरहेको छ। सिल गरिएको क्षेत्रमा आवश्यक खाद्यान्नको सूची मागिएको र सूची आएपछि अर्को चरणमा त्यही आधारमा राहत सामग्री प्रदान गरिने चौधरीले बताए।

‘स्थानीयले सकेको रकम संकलन गरेर पठाउनु हुनेछ। बाँकी हामीले व्यवस्था गरेर अत्यावश्यक सामग्री उपलब्ध गराउँछौं,’ उनले भने, ‘नगरपालिका र वडाको समन्वयमा स्थानीयको समस्या हल गर्छौं।’

भारतबाट नेपाल आएका १२ जनामा वैशाख पहिलो साता कोरोना संक्रमण पुष्टि भएको थियो। भुल्केस्थित मस्जिदमा बसिरहेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण देखिएको थियो।

वैशाख ५ पछि ११ गते अरू आठजनामा कोरोना संक्रमण देखिएको थियो। त्यसपछि अरू आठजनामा कोरोना संक्रमण देखिएपछि भुल्केमै संक्रमितको संख्या २८ पुगेको हो। संक्रमित सबैलाई कोसी अस्पतालस्थित कोभिड अस्पतालमा राखिएको छ।

यसैबीच, जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले आवश्यक जनशक्ति र किटको व्यवस्था गरी अन्यको पनि परीक्षण गरिने बताए। अहिले सन्त्रासको वातावरण विस्तारै साम्य हुँदै गएको जानकारी सुवेदीले दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय