राहत बाँडेकाे ‘सडेकाे चामल’ सुनसरी खनारका उद्योगबाट किनेको थियो जनकपुर उपमहानगरपालिकाले

जनकपुर उपमहानगरपालिकाले जनतालाई राहतस्वरूप बाँड्दा भेटिएको कुहिएको चामल सुनसरीका उद्योगबाट किनेर ल्याएको पाइएको छ।

जनकपुर उपमहानगरपालिका-१६ मा राहतमा बाँडिएको चामल कुहिएको भेटिएको थियो। केही दिनअघि राहत बाँड्दा कुहिएको चामल भेटिएपछि स्थानीयले फिर्ता गरेका थिए।

जनकपुरका व्यवसायीहरूले चामल उपलब्ध गराउन नसक्ने भनेपछि उपमहानगरपालिकाले सुनसरीका चामल उद्योगबाट किनेको थियो।

उपमहानगरपालिकाले खनारस्थित स्वस्तिक खाद्य उद्योग, गीताञ्जली सेलर मिल र गिरधारी फूड इन्डस्ट्रिज खनारबाट चामल ल्याएको थियो।

ती उद्योगबाट ल्याइएकोमध्ये दुई बोरा चामल कुहिएको भेटिएको थियो। चामल कुहिएको भेटिएपछि वडा नम्बर १६ मा राहत वितरण प्रभावित भएको थियो।

तर, उपमहानगरपालिकाले भने चामल कुहिएको नभएको दाबी गरेको छ। नापतौल तथा गुण नियन्त्रण कार्यालयले पनि गुणस्तर परीक्षण गर्दा मापदण्डभित्रै रहेको दाबी गरेको छ।

‘जनकपुरकै व्यवसायीबाट चामल खरिद गर्न हामीले पटक-पटक छलफल गर्‍यौं, तर उहाँहरूले मजदुरलगायतको समस्याका कारण चामल उपलब्ध गर्न समस्या रहेको बताउनुभयो,’ प्रमुख प्रशासकीय अधिकृत गोपाल रेग्मीले भने, ‘राहत वितरणमा ढिलाइ भइरहेको थियो। त्यसैले, कुनै उपाय नलागेपछि बाहिरबाट चामल झिकाउनु परेको हो।’

जनकपुरका व्यवसायीहरूले दालसमेत उपलब्ध गराउन तयार नभएपछि प्रभावितहरूलाई तीन/तीन सय रुपैयाँ दिने निर्णय भएको उनले बताए।

उपमहानगरले सडेको चामल वितरण गरेको आरोपमा सत्यता नरहेको रेग्मीको दाबी छ। ‘वितरण गर्नुपूर्व हामीले प्रत्येक बोरा जाँच गरेर पठाउने गरेका छौं, गुण नियन्त्रण कार्यालयले पनि चामल मापदण्डअनुसार नै रहेको भनिसकेको छ,’ उनले भने, ‘राहतमा सडेको चामल बाँडिएको सुनेपछि हामीलाई पनि आश्चर्य लागेको छ।’

जनकपुरको राहत : पाउनेले भन्छन्- ‘सडेको चामल’, गुण नियन्त्रण कार्यालय भन्छ- ‘गुणस्तरीय!’

जनकपुर उद्योग वाणिज्य संघका अनुसार यहाँका उद्योगमा स्टक चामल थिएन। लकडाउन सुरू भएपछि उद्योगमा रहेको भुस बाहिर पठाउन पाइएन।

‘नयाँ उत्पादन गर्न भुस बाहिर निकाल्नुपर्छ, प्रशासनलाई हामीले भुस निकालिदिने व्यवस्था गरिदिन अनुरोध गर्‍यौं। तर, प्रशासनले मानेन,’ संघका अध्यक्ष ललितकुमार साहले भने, ‘त्यसकारण हामीले चामल दिन सकेनौं।’

अधिकृत रेग्मीले भने थोरै पनि गुणस्तर र तौलमा कमी पाइए पैसा भुक्तानी नदिने बताए।

उपमहानगरपालिका कार्यालयले राहतमा बाँड्न फेरि मोरङ र सुनसरीको दुई मिलबाट सोना मन्सुली चामल मगाएको छ। प्रमुख प्रशासकीय अधिकृत रेग्मीले बोरा र प्याकिङ खर्चसहित प्रतिकेजी ४२ रुपैयाँको दरले चामल खरिद गरिएको बताए।

‘१५/१५ केजी चामल बोरामा प्याकिङ गरेर प्रतिकेजी ४२ रुपैयाँको दरले खरिद गरिएको छ,’ उनले भने, ‘जनकपुरसम्मको ढुवानी खर्चप्रति १० टन १४ हजार परेको छ।’

उपमहानगरले राहतको लागि करिब १ करोड ७ लाख १० हजार मूल्य बरारबरको चामल सुनसरीबाट मगाएको छ। यसैगरी, सुनसरीबाट जनकपुरसम्म राहत झिकाउन करिब साढे ३५ हजार ढुवानी खर्च तिर्नुपर्ने छ।

प्रमुख प्रशासकीय अधिकृत रेग्मीले उपमहानगरभित्र राहत बाँड्न तीन करोडभन्दा बढी खर्च लाग्ने अनुमान रहेको बताए। राहत वितरण गर्न उपमहानगरपालिकाको कोषमा रकमसमेत अपुग रहेको उनको भनाइ छ।

गुण नियन्त्रण कार्यालयले राहतमा वितरण गरिएको चामल मापदण्डभित्रै रहेको प्रतिवेदन दिए पनि स्थानीय भने ढुक्क हुनसकेका छैनन्। गुण नियन्त्रण कार्यालयले राहतमा वितरण गरिएको सडेको चामलको नमूना परीक्षण नगरेर उपमहानगर कार्यालमा राखिएको चामलको नमूना परीक्षण गरेको नेपाल चेम्बर अफ कमर्स धनुषाका सचिव सरोज मिश्र दाबी गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय