जनकपुरको राहत : पाउनेले भन्छन्- ‘सडेको चामल’, गुण नियन्त्रण कार्यालय भन्छ- ‘गुणस्तरीय!’

जनकपुरधाम उपमहानगरपालिकाले बाँडेको राहतमा बाँडेको सडकेको चामललाई गुणनियन्त्रण कार्यालयले ‘गुणस्तरीय’ भनेको छ।  राहतको नाममा उपहाननगरले सडेको चामल दिएको भन्दै स्थानीयले विरोध गरेका थिए र कतिपयले राहत फिर्तासमेत गरेका थिए।

सडेको चामल वितरण गरिएको भन्दै चौतर्फी विरोध भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले नमूना परीक्षण गरेका थियो।  गुण नियन्त्रण कार्यालयले ‘नेपाल सरकारले चामलको लागि तोकेको अनिवार्य गुणस्तर मापदण्ड परिधिभित्र पाइएको’ प्रतिवेदन दिएको छ ।

यसैगरी सूर्यमुखी तेलको लागि तोकिएको अनिवार्य गुणस्तर मापदण्ड परिधिभित्रै रहेको कार्यालयको प्रतिवेदनमा भनिएको छ ।

गुण नियन्त्रण कार्यालयले ‘उपमहानगरपालिका कार्यालयमा राहत वितरणको लागि राखिएको चामल र प्रशोधित सूर्यमुखी तेलको नमुना संकलन गरेर विश्लेषण गरिएको’ जनाएको छ।

गुण नियन्त्रण कार्यालयले राहतमा वितरण गरिएको चामल मापदण्डभित्रै रहेको प्रतिवेदन दिएपनि स्थानीयवासी भने ढुक्क हुनसकेका छैनन् । गुण नियन्त्रण कार्यालयले राहतमा वितरण गरिएको सडेको चामलको नमूना परीक्षण नगरेर उपमहानगर कार्यालमा राखिएको चामलको नमूनमा परीक्षण गरेको नेपाल चेम्बर अफ कमर्स धनुषाका सचिव सरोज मिश्र बताउँछन् ।

जनकपुरधाम उपमहानगरले बाँडेको राहतमा ‘सडेको’ चामल

‘राहत वितरण गर्दा सडेको चामल फेला परेको सबैले देखेको छ, एकजनाले त तत्काल राहत फिर्ता पनि गरे,’ उनले भने, ‘नमूना परीक्षण वितरण गरिएको चामलको हुनुपर्दथ्यो । तर, गुण नियन्त्रण कार्यालयले फरक बोराबाट चामल लगेर परीक्षण गरेको छ।’

‘लकडाउन’को अन्तिम चरणमा जनकपुरधाम उपमहानगरपालिकाले राहत वितरण सुरु गरेको थियो। तर, सामाजिक संघसंस्थाहरुले भने पहिलादेखि नै राहत वितरण सुरु गरिसकेका थिए।

विभिन्न वडा कार्यालयमार्फत राहत पाउनेहरुको तथ्यांक संकलन गरिएको छ । र, वडा कार्यालयहरुले बुझाएको तथ्यांकअनुसार उपमहानगरपालिकाभित्र करिब १७ हजार घरधुरीमा राहत बाँड्नुपर्ने छ ।

उपमहानगरले अहिले वडा कार्यालयहरु मार्फत राहत वितरण गरिरहेको छ । उपमहानगरले प्रति घरधुरी १५ किलो चामललगायतका सामग्रीसहित तीन सय रुपैयाँ वितरण गरिरहेको छ । चाहिएको जति उपलब्ध हुन नसकेपछि दाल खरिद गर्न तीन सय रुपैयाँ वितरण गरिएको वडाध्यक्षहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय