राजासँग कर्णालीलाई अस्पताल माग्ने डाक्टर

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले वैशाख १२ गते फेसबुकमा एउटा पत्र पोस्ट गरे।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई सम्बोधन गरेर लेखेको उक्त पत्रमा कोभिड–१९ आइसोलेसनसमेत रहेको बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसी)मा चिकित्सक व्यवस्था गरिदिन वा आफैंलाई पिएचसीमा सरुवा गर्न भनिएको थियो।

उनले मन्त्रालयमा त्यो पत्र पठाएका पनि थिए। मन्त्रालयको एउटा कुनै आकर्षक महाशाखामा रहेर नेतृत्व गर्नसक्ने क्षमता भएका पब्लिक हेल्थ एड्मिनिस्ट्रेटरको उक्त पत्रमा थोरै ‘आक्रोश’ पनि मिसिएको थियो।

किनभने, स्वास्थ्य मन्त्रालयले त्यहाँ चिकित्सक पठाउन गरेको प्रयास असफल भएको थियो। कोभिड-१९ को महामारीको चलिरहँदा त्यस्तो समस्या देखिएपछि एघारौं तहका डाक्टर अवस्थी रन्थनिएका थिए।

अवस्थी सुदूरपश्चिमको स्वास्थ्य सेवामा देखिएको जटिलता बुझेका डाक्टर हुन्। उनी सुदूरपश्चिमका हरेर समस्यामा लड्न तम्सिन्छन्, पद, शक्ति,  योग्यताको भन्दा नागरिकको स्वास्थ्य पहिलो प्राथमिकता ठान्छन्।

‘काम गर्न सुगम वा सुविधा सम्पन्न अस्पताल चाहिन्छ भन्ने कहिल्यै लागेन, न महत्वपूर्ण महाशाखा वा चिल्ला गाडीले नै आकर्षित गर्‍यो,’ अवस्थीले हेल्थपोस्ट नेपालसँग भने।

यति लामो चिकित्सकीय सेवामा डा. अवस्थीले खटाएको ठाउँमा गएर सेवा गर्नु आफ्नो प्रमुख दायित्व ठाने। उनको जन्म मात्रै नभएर कर्म थलो पनि सुदूरपश्चिम हो।

महाकालीपारिको दुर्गम जिल्ला दार्चुलाको तत्कालीन शंकरापुर गाविसमा २०१९ कात्तिकमा जन्मेका अवस्थीको परिवार राम्रै सामाजिक प्रतिष्ठाको हो। एसएलसीसम्मको अध्ययन उनले स्थानीय शंकरपुर माध्यामिक विद्यालयबाट गरे। पढाइमा अब्बल भएकै कारणले उनलाई छात्रवृत्तिमा पढ्ने अवसर जुर्‍यो।

तत्कालीन राजा ज्ञानेन्द्र जुम्ला गएको समयमा अञ्चल प्रशासकले राजालाई भेटाउने कार्यक्रम थियो। उनले राजासामु एक सूत्रीय माग भन्दै जुम्लामा अञ्चल अस्पताल खोल्न माग गरे। उनको कुरा सुनेर ज्ञानेन्द्र मुसुक्क हासे। कुनै प्रतिक्रिया दिएनन्। दुई वर्षपछि त्यहाँ कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठान नै खुल्यो।

उनको भित्री इच्छा कालो कोट लगाउने थियो। अर्थात्, उनी कानुन पढ्ने इच्छा राख्थे। तर, समयले उनलाई सेतो कोटतिर डोर्‍यायो।

परिवारका अगुवा आफ्नै दाइ डा.जयराज अवस्थी (हाल सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति)ले नै उनलाई डाक्टर पढ्न सुझाएका रहेछन्।

२०३९ सालमा शिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरबाट आइएस्सी गरेका अवस्थीले छात्रवृत्तिमा शोभियत संघको अजरबैजान बाँकुबाट एमबिबिएस गरे।

एमबिबिएस पूरा गरेर २०४७ सालमा फर्किंदा डा. अवस्थीको पहिलो पोस्टिङ अस्थायी मेडिकल अधिकृतका रूपमा भेरी अञ्चल अस्पतालमा भएको थियो।

क्लिनिकल विषयभन्दा उनलाई जनस्वास्थ्य विषय मन पर्‍यो। २०६१ सालमा उनले एमपिएच (मास्टर अफ पब्लिक हेल्थ) बंगलादेशबाट गरे। दुर्गममा सेवा गर्ने इच्छा भएका डा. अवस्थीलाई आमा बच्चाको ज्यान जोगाउनका लागि पनि मातृस्वास्थ्यमा ज्ञान र सिप हासिल गर्न मन लाग्यो। उनले प्रसूति गृहबाट डिप्लोमा तहको तालिम (डिजिओ) गरे।

जहाँ जाने, राम्रो गर्ने

दुर्गममा जन्मे पनि पारिवारिक अवस्था राम्रो भएकाले उनले जीवनमा खासै अभाव भोगेनन्। बाल्यकालदेखि नै एउटा संस्कार सिके- जे काम गरे पनि राम्रोसँग गर्नुपर्छ भन्ने।

चिकित्सकीय पेशामा प्रवेशका क्रममा उनले अधिकांश समय दुर्गममै बिताएका छन्। दैलेख, बैतडी, जुम्ला जहाँ पुगे, त्यहाँ उनले उत्कृष्ट काम गरेर देखाएका छन्। ‘म चिप्लो र अरुलाई के मनपर्छ भनेर कुरा गर्दिनँ, सत्य जे हो त्यही बोल्छु, जे सही ठान्छु गरिहाल्छु,’ उनी भन्छन्, ‘त्यही स्वभावले नै मैले जहाँ पोष्टिङ भए पनि राम्रो काम गर्न सकेको छु।’

२०४७ मा अस्थायी मेडिकल अधिकृतका रूपमा डा. अवस्थी पहिलो पटक भेरी अञ्चल अस्पतालमा पोष्टिङ भएका थिए। नेपालगञ्जमा मात्रै उनले लगातार नौ वर्षसम्म सेवा प्रदान गरे। सेवामा लागे पनि उनलाई सुरूका दिन लोकसेवा लडेर स्थायी हुने सोच नै आएनछ।

उनले त्यसरी लोकसेवा नलड्नुको एउटै कारण थियो- २० वर्ष सरकारी सेवा गरेर सेवानिवृत्त हुने र धेरै पेन्सन नबढाउने। त्यसैले, उनले अध्ययन सकेर पनि १३ वर्षसम्म लोकसेवा भिडेनन्।

उनले सेवामा लागेको धेरै वर्षपछि २०५७ सालमा लोकसेवा दिएका थिए।

बैतडीलाई जसरी पनि ‘टप वान’मा ल्याउनुपर्छ भन्ने उद्देश्य उनको थियो। तत्काल नवजात शिशु कार्यक्रम र खोप कार्यक्रम सुरू गरे। जिल्लामा त्यो कार्यक्रम प्रभावकारी बन्यो। उनको प्रयासले त्यहाँको स्वास्थ्य सेवामा एउटा आशा भरिदियो।

लोकसेवा पास भएपछि २०५८ सालमा उनको टिकापुरमा सरुवा भयो। त्यतिबेला बेला टिकापुरमा प्राथमिक स्वास्थ्य केन्द्र मात्र थियो। ग्रामीण क्षेत्रको बजार, जहाँ गरिब जनताको उपचारका लागि अत्यधिक चाप हुन्थ्यो।

प्राथमिक स्वास्थ्यले मात्रै त्यस क्षेत्रमा बिरामीको चाप थेग्न सक्दैन भन्ठानेर  अस्पताल स्थापना गर्न उनी लडे। धेरै लामो प्रयासपछि उनकै पहलमा टिकापुर अस्पताल ठूलो अस्पताल बन्यो।

अस्पताल चाहिन्छ भनेर माग गर्दा मन्त्रालयले नसुनेपछि उनी आफैंले प्राथमिक स्वास्थ्य केन्द्रलाई टिकापुर अस्पताल भनेर बोर्ड नै टाँगिदिएका थिए। स्वीकृति नै नदिएको ठाउँमा बोर्ड टाँगेको भन्दै मन्त्रालयले कारबाहीका लागि सिफारिस समेत गरेको थियो।

तर, आफ्नो उद्देश्यबाट बिचलित नभइकन सेवा गरिरहे। एक महिनामा नै प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति भयो। टिकापुर अस्पताल खोलियो।

कर्णालीमा राजासँग राखेको त्यो एक सूत्रीय माग

टिकापुरमा दुई वर्ष काम गरेपछि डा. अवस्थीको जुम्ला सरुवा भयो। त्यहाँ जानेवित्तिकै पनि उनलाई एउटा कुराको अभाव खड्कियो। अन्य अञ्चलहरूमा अञ्चल अस्पतालहरू थिए। तर, कर्णालीमा अञ्चल अस्पताल थिएन। उनलाई त्यो कुराले निकै पिरोल्न थाल्यो।

तत्कालीन राजा ज्ञानेन्द्र जुम्ला गएको समयमा अञ्चल प्रशासकले राजालाई भेटाउने कार्यक्रम थियो। उनले राजासामु एक सूत्रीय माग भन्दै जुम्लामा अञ्चल अस्पताल खोल्न माग गरे। उनको कुरा सुनेर ज्ञानेन्द्र मुसुक्क हासे। कुनै प्रतिक्रिया दिएनन्।

दुई वर्षपछि त्यहाँ कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठान नै खुल्यो।

कर्णालीमा हुँदा उनले २७ महिनासम्म गाउँ-गाउँमा खोप क्लिनिक र गाउँघर क्लिनिक चलाए। काम नगर्ने चिकित्सकलाई उनले अस्पतालको सेवामा कसे। स्वास्थ्य सेवा अभाव भएको ठाउँमा अवस्थीको प्रयासले ‘वाहवाही’ पायो।

देशकै शिक्षा र स्वास्थ्यमा निकै पछाडि परेको जुम्ला उनको कार्यकालमा  स्वास्थ्य मन्त्रालयको मूल्यांकनमा नेपालकै राम्रो काम गर्ने जिल्लाको सूचीमा पर्‍यो

दैलेखमा झण्डा गाड्दा

जुम्लाबाट उनको सरुवा दैलेख भयो। बाल तथा मातृ मृत्युदर सबैभन्दा उच्च भएको दैलेखमा पुगेपछि पनि उनलाई त्यहाँको त्यो समस्या कसरी समाधान गर्ने भन्ने कुराले पिरोल्न थाल्यो। र, उनले थुप्रै जनचेतनामूलक कार्यक्रम ल्याए। स्थानीय रेडियोमा सुरक्षित मातृत्वका बारेमा प्रभावकारी कार्यक्रम नै चलाए। राजनीतिक दलका प्रतिनिधिलाई यस बारेमा सचेत गराउने अनेक उपाय खोजे।

गर्भवती भएका हरेक घरको कौसीमा नीलो झन्डा गाड्न लगाए। अहिले यो झण्डा गाड्ने ‘मोडल’ देशभरि फैलिएको छ। यसरी नीलो झन्डा राखेपछि सबैलाई उक्त घरमा गर्भवती रहेको थाहा हुने र गाउँमा अगुवा, शिक्षक तथा स्वास्थ्यकर्मीले आउँदा आइरन चक्की खाए-नखाएको, नियमित स्वास्थ्य संस्थामा गएर चेक गरे-नगरेको बुझ्न थाले। यसले गर्भवती महिलाले विशेष महत्व पाउन थाले। सुरूमा बोल्न र आफ्नो समस्या भन्न लजाउने महिलाहरू सहज महसुस गर्दै खुल्न थाले।

त्यसपछि सबैले स्वास्थ्य संस्थामा आएर नियमित चेक गरेको र अधिकांशले अस्पतालमै बच्च जन्माएको अहिले पनि डा. अवस्थीको मानसपटलमा ताजै छ।

उनी जाँदा दैलेखमा स्वास्थ्य संस्थामा सुत्केरी हुन आउनेको संख्या चार प्रतिशत मात्रै थियो। त्यो अभियानबाट संस्थागत सुत्केरी गराउनेको संख्या ४ प्रतिशतबाट बढेर ६७ प्रतिशत पुग्यो। बर्थिङ सेन्टर अनि नीलो झन्डा अभियानकै कारण दैलेख सबैभन्दा बढी संस्थागत सुत्केरी हुने जिल्लामा गनिएको उनको बुझाइ छ।

७२ नम्बरको बाजुरालाई पाँचौं स्थानमा ल्याउँदा

अवस्थी २०६६ साल पुसमा बाजुरा सरुवा भएका थिए। बाजुरा जाँदा देशमा सबैभन्दा नाजुक स्वास्थ्य अवस्था सोही जिल्लाको थियो। स्वास्थ्य सूचकांकमा बाजुरा ७२ नम्बरमा रहेको बेला जिल्लामा उनले २०६७ असारमा आफ्नै पहलमा टाँटे स्वास्थ्य चौकीमा आकस्मिक रक्त सञ्चार केन्द्र स्थापना गरे। त्यहाँ पनि उनले थुप्रै जनचेतनामूलक अभियान चलाए। विस्तारै जिल्लाको स्वास्थ्य अवस्था सुधार हुँदै गयो। स्वास्थ्य सूचाङ्कमा बाजुरा देशमै पाँच नम्बरमा पर्न सफल भयो।

कामको ‘इन्टिग्रिटी’ देखेर सरकारले २०६८ साल भदौमा उनलाई बैतडी पठायो। अवस्थी जानुपूर्व त्यहाँको स्वास्थ्य क्षेत्र निकै पछाडि थियो। स्वास्थ्य सूचकांकमा बैतडी ६८ औं नम्बरमा थियो। बैतडीको स्वास्थ्य कसरी सुधार्न सकिन्छ भनेर उनी कस्सिए। उनी ‘दत्तचित्त’ भएर त्यहाँको स्वास्थ्य सुधार अभियानमा लागे।

बैतडीलाई जसरी पनि ‘टप वान’मा ल्याउनुपर्छ भन्ने उद्देश्य उनको थियो। तत्काल नवजात शिशु कार्यक्रम र खोप कार्यक्रम सुरू गरे। जिल्लामा त्यो कार्यक्रम प्रभावकारी बन्यो। उनको प्रयासले त्यहाँको स्वास्थ्य सेवामा एउटा आशा भरिदियो।

सरुवा वा शल्यक्रिया सेवा?

डा. अवस्थीले अहिले मात्रै होइन, सेवा वा सरुवाको अडान राख्ने गरेको पहिल्यैदेखि हो। डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला गुनासो राख्न थाले। ‘हेलो सरकार’मा फोन गरेर कि जिल्लामा शल्यक्रिया गरी बच्चा जन्माउने मेसिन पठाउन पर्ने कि आफ्नो सरुवा गर्न प्रस्ताव राखे। त्यसको केही समयभित्रै सरकारले जिल्लामा सुत्केरीको आकस्मिक शल्यक्रियाका लागि चाहिने औजारको व्यवस्था गर्‍यो।

बैतडी एक वर्षपछि उत्कृष्ट दसभित्र पर्न सफल भयो। सबैभन्दा बढी संस्थागत सुत्केरी हुने जिल्लामा पनि त्यही जिल्ला भयो। क्रमिक रुपमा बैतडी स्वास्थ्य सूचकांकमा तेस्रो नम्बरमा पर्न सफल भयो। यो सबै हुनुमा अवस्थीको मेहनत कामकाजी बनेको थियो।

समयबद्ध अवस्थी

डा. अवस्थीको अर्को विशेषता भनेको उनी समयका निकै पक्का मान्छे हुन्। आफू पनि समयको रफ्तारसँगै चल्छन् र अरूलाई पनि सोहीअनुसार चलेको रुचाउँछन्। एक मिनेट ढिला हुनु भनेको त्योभित्र थुप्रै सेकेन्ड र निमेष ढिला हुने भएकाले त्यो समय फर्केर नआउने भन्दै उनी सबैले समयसँगै आफूलाई अगाडि बढाउनु पर्ने बताउँछन्।

कुनै बिरामीको एक मिनेटकै फरकमा पनि ज्यान जाने भएकाले चिकित्सकहरूले त समयको महत्वलाई झनै बुझ्नुपर्ने उनको तर्क छ। उनी अरुका कार्यक्रममा पनि समयमै पुग्ने र आफूले आयोजना गरेका कार्यक्रममा पनि समयमा नपुग्ने जोसुकैलाई स्थान नदिने बताउँछन्। उनी समयसँग नचलेको भए सायद यतिधेरै काम गर्न नै सक्ने थिएनन्।

महामारीको सामना

२०५५ सालको हुम्लाको खाध्यान्न अभाव, २०५०-५१ सालतिर भेरी अस्पतालमा हुँदाको जापनिज इन्सेफ्लाइटिस, २०६६ सालमा दैलेख, रुकुम, जाजरकोटमा फैलिएको झाडापखालाका महामारीलाई उनले नजिकबाट भोगे र सामना गरे।

२०६६ सालमा डा. अवस्थी दैलेख जिल्ला जनस्वास्थ्य कार्यालयमा कार्यरत् थिए। त्यो समाय हैजाले जाजरकोटमा चार सय हाराहारीको ज्यान गयो। छिमेकी जिल्ला दैलेखमा पनि झाडापखाला देखियो। उनले महामारी रोक्न सबै प्रयत्न गरे।

महामारीमा सरकारले दिने राहत पाउने लोभमा राजनीतिक पावर लगाएर ३१ जनाको नाम मृत्यु भएको सूचीमा दर्ता भएको तर मात्रै ९ जनाको ज्यान गएको उनको भनाइ छ।

कामका लागि अरु दुर्गम र सुगम भन्छन्। तर, डा. अवस्थी डाक्टरका लागि दुर्गम र सुगम हुन्न भन्ने मान्यता राख्छन्। जति अफ्ठेरो भूगोल र परिस्थितिमा काम गर्‍यो, त्यसले उति बढी आनन्द मिल्ने गरेको अनुभव उनले सुनाए।

सुदूरपश्चिमको सन्दर्भमा उनी चिकित्सक मात्रै होइनन्। सामाजिक अभियन्ता पनि हुन्। उनको अनुभवमा सुदूरपश्चिमको प्रमुख समस्या बालविवाह र छाउपडी हो। छाउपडी प्रथा र बाल विवाह रोके सुदूरमा प्रजनन् स्वास्थ्यमा किनै सुधार आउने उनको बुझाइ छ।

‘यसो गरे नवजात शिशुको मृत्युदेखि कुपोषणमा कमी आउँछ। एक रोग अर्को  समस्यासँग जोडिएर आउने विषय हुन्। सबैले सरकारले तोकेका स्वास्थ्य सावधानीका विधि अपनाउनुपर्छ,’ उनले भने।

स्वास्थ्यमा सुदूरलाई एक नम्बर बनाउने सपना

सरकारी सेवामा उनी अब २३ महिना रहन्छन्। यी २३ महिनालाई पनि निकै उपलब्धीमूलक बनाउने रणनीति लिएका छन्। सुदूरपश्चिमलाई देशमै स्वास्थ्यमा एक नम्बर बनाउने उनको एक मात्र चाहना छ। त्यसैले, १५ बुँदे रणनीतिका साथ उनी आफ्नो उद्देश्य पूर्तिका लागि दिनरात खटिरहेका छन्।

उनले आफ्नो रणनीति मुख्यमन्त्रीदेखि त्यहाँबाट निर्वाचित सांसदसम्मलाई बताइसकेका छन्। सबैबाट साथ पाउने उनको अपेक्षा छ।

कोरोनाले सताएको सुदूरपश्चिमका सबै बिरामी घर फर्किसकेका छन्। सुदूरमा सरकारले पहिलो नम्बरमा पिसिआर मेसिन पठाएको र देशमा कोरोनाको परीक्षणका लागि ७५ हजार किट आउँदा २० हजार सुदूपश्चिमलाई मात्र उपलब्ध गराएकोले नै सुदूरले कोरोना जितेको उनी बताउँछन्।

राज्यले खटाएको ठाउँमा सेवा प्रवाह गर्नु आफ्नो दायित्व ठान्ने अवस्थी अहिले पनि कुनै प्राथमिक स्वास्थ्य चौकीमा पठाए जान तयार छन्। तर, उनी मुलुक संघीयतामा गइसकेपछि सरकारले स्वास्थ्य क्षेत्रलाई तीन तहमा बाँडेकोमा भने दु:खी छन्। संघीयताका नाममा स्वास्थ्यको पुरानो संयन्त्र भत्किएको तर नयाँ बन्न नसक्दा स्वास्थ्य सेवा नै धराशयी हुन लागेको गुनासो उनको छ। नेपाल सरबारबाट २०६९ सालको उतकृष्ट स्वास्थ्यकर्मी पुरस्कार जितेका अवस्थी भन्छन्, ‘तीन तहको व्यवस्थाले स्वास्थ्यलाई जिकज्याक गरिदिएको छ।’

शिक्षा-स्वास्थ्यका बाटा क्लियर गरिएन भने कुनै पनि राष्ट्र अगाडि बढ्न नसक्ने बताउँदै उनले यसमा सरकार सचेत हुनुपर्ने बताए।

सेवा प्रवाह गर्ने निकायलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारको गृहकार्य नपुगेको उनको ठहर छ। ‘केन्द्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हुने। त्यो मन्त्रालय तीन करोड नेपालीलाई हेर्ने मन्त्रालय हो,’ उनले भने, ‘काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेशमा सामाजिक विकास मन्त्रालय, स्थानीय तहमा अर्कैगरी स्वास्थ्यलाई बाँडियो। यसरी तीन भागमा स्वास्थ्य संस्थालाई बाँड्न हुन्थेन।’

यसले एक-अर्काबीच समन्वयमा समेत समस्या भइरहेको उनले बताए। एउटै देशको स्वास्थ्यलाई तीन भागमा बाँड्नुभन्दा गाउँ–गाउँमा चिकित्सक र चिकित्सकीय उपकरण पुर्‍याउनमा सरकार केन्द्रित भए देशको स्वास्थ्य अवस्था सुदृढ हुने उनको बुझाइ छ।

कोरोना कहरको भोगाइ

धेरै महामारीलाई नजिकबाट हेरेका र नियन्त्रणमा काम गरेका डा. अवस्थी कोरोना भाइरससँग लड्ने तदारुकता र तयारीसँग पूर्ण सन्तुष्ट छैनन्। यो महामारी राज्य एक्लैले लड्न सक्दैन भन्नेमा सहमत छन्। तर, लडाइँको अग्रमोर्चा स्वास्थ्य मन्त्रालय सम्हाल्नुपर्ने उनले बताए।

जनशक्ति व्यवस्थापन, समयमा स्वास्थ्य सामग्री खरिद र महामारी नियन्त्रणका सन्दर्भमा विशेष रणनीति बनाउनमा कमजोरी जारी रहेको उनले बताए।

‘यति ठूलो जनस्वास्थ्य संकट आउँदा पनि लकडाउनसमेत पालना गर्न अटेरी गरेको देख्दा निराशा आउँछ,’ उनी भन्छन्।

अहिलेको सन्दर्भमा सरकारले केन्द्र, प्रदेश हुँदै वडास्तरसम्म कोरोना रोकथामका लागि समिति नै गठन गरेर काम गरेकाले कुराले पूरै निराश हुनुपर्ने अवस्था भने नभएको उनको भनाइ छ।

कोरोनाले सताएको सुदूरपश्चिमका सबै बिरामी घर फर्किसकेका छन्। सुदूरमा सरकारले पहिलो नम्बरमा पिसिआर मेसिन पठाएको र देशमा कोरोनाको परीक्षणका लागि ७५ हजार किट आउँदा २० हजार सुदूपश्चिमलाई मात्र उपलब्ध गराएकोले नै सुदूरले कोरोना जितेको उनी बताउँछन्।

कोरोनासँग लड्न केन्द्र सरकारले सुदूरमा ३३ जना चिकित्सक पनि पठाएको थियो। यसबीचमा सुदूर पश्चिमकै प्रमुख संस्था सेती प्रादेशिक अस्पतालमा पाँच भेन्टिलेटर जडान भए। महाकाली अस्पतालमा पनि भेन्टिलेटर जडान भयो। प्रदेश सरकारले सबै जिल्लामा भेन्टिलेटर जडानका लागि रकम छुट्याएको छ। यो बेला बिरोधभन्दा पनि सरकारलाई सहयोग गर्ने र नागरिकको जीवन रक्षा गर्ने समय भएको अवस्थी बताउँछन्। चिकित्सक र कर्मचारीलाई जनताको जीवन रक्षामा लाग्न अनुरोध गर्छन्।

2 thoughts on “राजासँग कर्णालीलाई अस्पताल माग्ने डाक्टर

  1. अाफनाे छाेरा लाई धनगढि मा राखेर बाजुरामा कार्यरत डाक्टरहरुलाई काम गर भनेर दवाब दिने मान्छे जाे परे यिनी , मिडियामा हिराे बनाईएका व्यक्ति हुन पत्रकार संग राम्रो नै मिलिभगत गर्न जानेका छन त्यसैले मिडियाले हिराे बनाउछ अस्ति मात्रै अषाढ मसान्तमा बजेट सक्काउने हेतुले बरिस्ठ पत्रकार सम्मेलन पनि गरेका थिए जहाँ बरिस्ठ १/२ जना मात्रै छन ।

    1. नेपालमा जति राम्रो काम र सेवा गर, चाहे भिमसेन थापा होस वा कुलमान घिसिङ वा डा. अवस्थी, तपाईं जस्तो केवल खुट्टा तान्ने बिरोधीहरू भएर होला, नेपाल सतिले सरापेको देश भएर रहेको ।

Leave a Reply to समय Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय