महामारीका बेला नेपालका सरकारी वैज्ञानिकहरू ‘बिदा’ मा

कोरोना भाइरस नियन्त्रण उपायका अनेक सम्भावनामाथि विश्वभरका वैज्ञानिक घोत्लिरहेका बेला नेपालका सरकारी वैज्ञानिकहरू चाहिँ बिदा मनाएर बसेका छन्।

सरकारी वैज्ञानिकहरूको संस्था नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) चाहिँ ‘लकडाउन’ को बिदामा छ। जसका कारण यहाँका जागिरे वैज्ञानिक सबै घरमै छन्।

कोरोना संक्रमण देखिएपछि सरकारले पूरै मुलुक लकडाउन गरेसँगै नास्ट पनि बिदा भएको हो। नास्टका प्रवक्ता तथा वैज्ञानिक डा. सुरेशकुमार ढुंगेलले आफूहरू घरमै बसेको बताए।

‘कार्यालय बन्द भए पनि आवश्यक काम पर्दा अनलाइनमार्फत् मिटिङ, छलफल गर्छौ,’ हेल्थपोस्टनेपालसँग उनले भने।

ढुंगेलका अनुसार यतिबेला घरेलु मदिराबाट स्यानिटाइजर बनाउने विधि सिकाउनुका साथै भाइरस नियन्त्रण तथा रोकथाममा आयुर्वेदको भूमिकाबारे अनुसन्धान भइरहेको छ।

‘नास्टको काम विज्ञानका क्षेत्रमा भइरहेका कामको वैज्ञानिक सुपरीवेक्षण गरी त्यसको पुष्टि गर्ने हो। स्रोतसाधनको सीमितताभित्र रहेर नास्टले आफ्नो काम गरिरहेको छ,’ उनले भने।

ढुंगेलले विश्वका विकसित मुलुकसरहै काम गर्ने चेष्टा नास्टको रहेको दाबी गरिरहँदा नास्टकै विज्ञान संकाय प्रमुख जया श्रीले चाहिँ स्वास्थ्य क्षेत्रमा काम गर्न नसकेको स्विकारिन्।

नास्टले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि ‘शिक्षा, अनुसन्धान, सत्यतथ्य सूचना सम्प्रेषण, प्रविधि विकास तथा नवप्रवद्र्धन, नीति तथा स्रोत व्यवस्थापन र आरडिटी र पिसिआर परीक्षण समिति बनाइ काम गरिरहेको ढुंगेलले जानकारी दिए।

‘महामारी नियन्त्रणका लागि नास्ट भेन्टिलेटर, कोरोना बुथ, एरोसेल बक्स निर्माण कार्यमा जुटिरहेको छ। यसका साथै बजारमा आएका स्वास्थ्य सामग्रीको प्रभावकारिता तथा गुणस्तर परीक्षण गरी त्यसबारे अनुसन्धान गरिरहेको छ र यसले निरन्तरता पाउँछ,’ ढुंगेलले भने।

महामारी नियन्त्रण तथा रोकथामका लागि विज्ञान सम्वाद सुरु गरेको बताउँदै उनले निजी क्षेत्रसँगको सहकार्यमा किट बनाउनेबारे छलफल भइरहेको समेत दाबी गरे।

कोरोनाजस्ता संक्रामक रोग परीक्षणका लागि किट बनाउनेबारे केही युवा तथा निजी क्षेत्रको प्रस्ताव आएको ढुंगेलले बताए। तर, नेपालमै किट बनाउन कति समय लाग्छ भनेर यकिन गर्न नसकिने उनको भनाइ छ।

ढुंगेलले विश्वका विकसित मुलुकसरह नै काम गर्ने चेष्टा नास्टको रहेको दाबी गरिरहँदा नास्टकै विज्ञान संकाय प्रमुख जया श्रीले चाहिँ स्वास्थ्य क्षेत्रमा काम गर्न नसकेको स्विकारिन्।

‘यस्तो महामारी तथा संकटको घडीमा नास्टले स्यानिटाइजर बनाउन सिकाउने र गुणस्तर परीक्षण गर्नेबाहेक स्वास्थ्य क्षेत्रमा काम गर्न सकेको छैन,’ जया श्रीले हेल्थपोस्टनेपालसँग भनिन्, ‘नास्टले केही गर्न नसक्ने होइन, तर लकडाउनले काम गर्न थप समस्या भएको हो।’

नास्टले बजेट तथा जनशक्ति अभावका कारण सोचेअनुसार अध्ययन तथा अनुसन्धान गर्न नसकेको जिकिर गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय