थर्मल गन कालोबजारी: जिल्ला अदालतद्वारा अग्रवाललाई २५ लाख ५० हजार धरौटी

काठमाडौँ जिल्ला अदालतले शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतको आदेशलगत्तै २५ लाख ५० हजार रूपैयाँ बुझाएर अग्रवाल थुनामुक्त भएका छन्।

काठमाडौँ जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठका अनुसार मंगलबार परेको मुद्दाको सुनुवाइपछि न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले अग्रवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी अग्रवालको मुद्दामा बुधबार र बिहीबार थुनछेक बहस भएको थियो। अग्रवालविरुद्ध कालोबजारी तथा केही अन्य सार्वजनिक अपराध तथा सजाय ऐन २०२३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

कालोबजारी गरेको अभियोगमा महानरीय प्रहरी अपराध महाशाखाको टोलीले अग्रवाललाई गत चैत २५ गते पक्राउ गरेको थियो। प्रहरी टोलीले अग्रवालको साथबाट ६७ थान थर्मल गन बरामद गरी कारबाही अघि बढाएको थियो।

अग्रवालले ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न लागेकै बेला पक्राउ गरिएको थियो। महाशाखाका अनुसार अग्रवालले पाँच हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न खोजेका थिए।

अग्रवाल कीर्गिस्तानस्थित अवैतानिक महावाणिज्य दूत पनि हुन्। उनले कालोबजारी गर्न कूटनीतिक नियोगको गाडी दुरूपयोग गरेको पाइएको थियो।

प्रहरीका अनुसार अग्रवालले कूटनीतिक नियोगकै गाडी चढेर थर्मल गन बिक्री गर्न गएका थिए। अग्रवाललाई पक्राउ गर्दा प्रहरीले २०९ एचसीसी १ नम्बरको गाडी पनि नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार शंकर ग्रुपले २०७६ चैत २२ गते चीनको ग्वान्झाओबाट सात टन मेडिकल सामग्री ल्याएको थियो। एक निजी कम्पनीले मेडिकल सामग्री ल्याउन नेपाल एयरलाइन्सको विमान चार्टर गर्दा शंकर ग्रुपले पनि ल्याएको थियो।

शंकर ग्रुपले ल्याएका सामग्रीमध्ये ज्वरो नाप्ने थर्मल गन अग्रवालले दोब्बर बढी रकममा बिक्री गरिरहेको सूचना प्रहरीमा पुगेको थियो। कालोबजारी ऐन अन्तर्गत पाँच वर्षसम्म कैद, जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय