चीनबाट दुई अर्बको मेडिकल सामग्री ढुवानीकाे जिम्मा ललितपुरको फ्ल्यास फ्रेट कम्पनीलाई  

कोरोना रोकथाम तथा नियन्त्रणका लागि चीनबाट मेडिकल सामग्री ढुवानीकाे जिम्मा ललितपुरको फ्ल्यास फ्रेट लजिस्टिक प्रालिले पाएको छ।

खरिदको जिम्मा पाएको नेपाली सेनाले उक्त कम्पनीसँग झन्डै २ अर्ब रुपैयाँबराबरकाे मेडिकल सामग्री ढुवानी सम्झौता गरेको हो।

उक्त कम्पनीले वैशाख २४ गतेबाट मेडिकल सामग्री ल्याउन थाल्ने सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए।

शुक्रबारबाटै सामग्री ल्याउने योजना थियाे तर, मे १ बाट अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा चीनले पाँच दिनसम्म बिदा दिएको छ। मे २, ३, ४ र ५ दिनसम्म चीनमा बिदा छ।

सेनाले मेडिकल सामग्री खरिद चीनको सरकारी कम्पनी सिनोफार्म ग्रुप प्रालिबाट गर्दैछ।

चिनियाँ सकारी कम्पनी सिनोफार्म ग्रुप र फ्ल्यासबीच सामग्री ढुवानीको विषयमा पटक-पटक कुरा भइसकेको छ। ‘सिनोफार्मले हवाई माध्मद्वारा ल्याइने अत्यावश्यक सामग्री ग्वान्झाओस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइसकेको छ,’ प्रवक्ता पाण्डेले भने।  

पिपिई, ग्लोब्स, मास्क, कीट लगायतका अत्यावश्यक सामग्री जहाज चार्टर गरी ल्याउने सम्झौता फ्ल्याससँग भएको छ। बाँकी सामग्रीहरू कन्टेनरबाट ल्याइने सेनाले जनाएको छ।

सेनाले चीनबाट ३४२ टन मेडिकल सामग्री ल्याउँदैछ। सरकारले सिनोफार्म कम्पनीलाई १ करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलर भुक्तानी गरिसकेको छ। सो कम्पनीबाट ६९ प्रकारका चिकित्सकीय सामग्री ल्याउने सम्झौता छ।

चीनबाट सामान ल्याउन आह्वान गरिएको टेन्डरमा नेपालका ११ वटा ट्रान्सपोर्ट कम्पनीले फारम भरेका थिए।

सेनाले वैशाख १२ गते टेन्डर खोलेको थियो। १३ गते मूल्यांकन भएको थियो। १४ गते आशयपत्र तयार भई १५ गते आवेदकलाई दाबीबिरोधको समय दिइएको थियो।

१६ गते सबै प्रक्रियाको फाइल सेनाले रक्षा मन्त्रालयमा पठाएको थियो। १७ गते रक्षाले स्वीकृति दिएपछि सामान ल्याउने बाटो खुलेको थियो।

ग्वान्झाओ रूटको प्रतिघन्टा भाडा १८ हजार १ सय १० अमेरिकी डलर (२१ लाख ९० हजार १ सय रूपैयाँ) पर्छ। यसहिसाबले जान-आउन एक पटकमा ८ घन्टा ३० मिनेट वाइडबडी जहाज उडाउँदा भाडा मात्रै १ करोड ८१ लाख ७७ हजार ८ सय ३० रूपैयाँ पर्छ।

‘चीनमा लामो बिदाका कारण तत्कालै जहाज पठाउन सम्भव नभएपछि केही ढिलो भएको हो,’ पाण्डेले भने, ‘सेनाले सबै कानुनी प्रक्रिया पुर्‍याएर मेडिकल सामग्रीको टुंगो लगाएको छ।’   

नेपालका निजी कम्पनीहरूले नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चार्टर गरेर चीनबाट मेडिकल सामग्री ल्याइरहेका छन्।

यसपटक ठेक्का पाएको ट्रान्सपोर्टरले पनि वाइडबडी जहाज नै चार्टर गर्दैछ।  

निगमको जहाज नै एकपटक चार्टर गर्दा अधिकतम २३ टन सामग्री बोक्ने क्षमता राख्छ। खाली जहाज भएकाले सिटतिर समेत राख्न दिए ५५ टनसम्म बोक्न सक्छ।

यस हिसाबले १५ पटकसम्म वाइडबडी उडाउनुपर्ने अवस्था आउन सक्छ। ढुवानी खर्चलाई बचाउन सेनाले अत्यावश्यकबाहेकका सामग्री स्थलमार्गबाट ल्याउन टेन्डर गरेको छ।

नेपालबाट एकपटक वाइडबडी चार्टर गर्दा त्यसको भाडा १ करोड ८१ लाख ७७ हजार ८ सय ३० रूपैयाँ पर्न आउँछ।

काठमाडौंबाट ग्वान्झाओ जान वाइडबडीलाई ४ घन्टा २० मिनेट लाग्छ, ग्वान्झाओबाट काठमाडौं आउन ४ घन्टा १० मिनेट।

ग्वान्झाओ रूटको भाडा प्रतिघन्टा १८ हजार १ सय १० अमेरिकी डलर (२१ लाख ९० हजार १ सय रूपैयाँ) पर्छ। यसहिसाबले जान-आउन एक पटकमा ८ घन्टा ३० मिनेट वाइडबडी जहाज उडाउँदा भाडा मात्रै १ करोड ८१ लाख ७७ हजार ८ सय ३० रूपैयाँ पर्छ।

सरकारले यसअघि मेडिकल सामग्री खरिदका लागि विवादास्पद कम्पनी ओम्नी ग्रुपलाई जिम्मा दिएको थियो। दर्ता नै नभएको उक्त कम्पनीसँगको खरिद विवादमा आएपछि मन्त्रिपरिषद बैठकले जिटुजी प्रक्रियाबाट खरिद गर्न सेनालाई जिम्मा दिएको थियो।

सरकारले चीनबाट कोरोनाका लागि एक करोड तीन लाख ३८ हजार चार सय ४४ अमेरिकी डलर बराबर सामान आयात गर्दा पाटन मंगलबजार कृष्णगल्लीमा कार्यालय रहेको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल कम्पनी रोजिएको थियो।

कोरोना महामारीको मौकामा सरकारले निजी कम्पनीमार्फत रातारात चीनबाट सामग्री ल्याउँदा नेपाल वायुसेवा निगमको वाइडबडी विमान चार्टर्ड गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय