कोरोना अस्पतालमा भुक्तानी लिन जाँदा कुटपिट

बसन्त ढुंगाना/चितवन
प्रकाशित
२०७७ वैशाख १८ गते १४:२५

भरतपर कोरोना विशेष (अस्थायी) अस्पतालमा सामान चोरीको आरोपमा बाहिरिएको भिडियोमा देखिएका कुटाई खाने व्यक्ति सन्तोष कुमार यादव हुन्। भरतपुर महानगरपालिकाको वडा नम्बर १ का इलेक्ट्रिसियनसमेत रहेका यादवले कोरोना अस्पताल निर्माणका क्रममा उधारोमा सामान किनेका थिए। उनले सोही सामानको पैसा लिन बैशाख ४ गते आफू अस्पताल पुगेको जानकारी दिए।

उधारोमा खरिद गरेको सामानको पैसा पाइएला भन्ने आसामा अस्पताल पुगेका यादवले अस्पताल पुग्दा अर्कै नियती भोग्नुपर्यो। साँझ करिव सात बजे अस्पतालको स्टोर शाखामा छिरेका उनीमाथि महानगरका लेखापाल फणिन्द्रप्रसाद खनालले कुटपिट गरे।

‘कोरोना अस्पतालको निर्माणको क्रममा विद्युत जडानका लागि आवश्यक विद्युतका सामान बाहिर पसलबाट ल्याएको थिए। त्यसको विल मैले दुई दिन अगाडी फणिन्द्र सरलाई बुझाएको थिए,’ उनले भने, ‘त्यो विलको पैसा लिन जाँदा कुटाइखानु पर्यो।’

उनले तार र एमसिसि स्विच गरी २८ हजारको सामान भृकुटि पथबाट खरिद गरेको बताए। त्यसमध्ये महानगरपालिकाले आफूलाई ७ हजार अग्रीम रुपमा पैसा दिएको उनले बताए। बाँकी पैसा उनले बिजुली पसललाई तिरेका छैनन्।

त्यो समयमा कोरोना अस्पतालको स्टोरशाखामा पुग्दा खनालसहित भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र भरतपुर महानगरपालिकाका कम्पुटर अपरेटरसमेत थिए। त्यतिखेर पनि उनिहरू सामान मिलाइरहेका उनले जानकारी दिए। उनीमाथी कुट्पिट् हुँदा उनलाई भरतपुर अस्पतालका कर्मचारी बरालले जोगाएको भिडियो फुटेजमा देखिन्छ। ‘पैसा लिन गएको थिएँ। एक्कासि कुटाई खाएपछि त्यहाँ बस्न मन लागेन र बहिर निस्केँ’, उनले भने, ‘भित्र के-के भैरहेको थियो। मलाई त्यति थाहा भएन।’

‘लकडाउनको समयमा पसल बन्द थियो। घरमा बसेका साहुँजीलाई बोलाई सामान ल्याएर वाइरिङ्ग गरेँ। अहिले साहुँजीले पनि मलाई फसायो भनेर गाली गर्नुहुन्छ,’ उनले भने, ‘अहिले अस्पतालले विलको पैसा देलाभन्दा कुटेर पठाउँछ।’

यादवले भरतपुर महानगरपालिकाको कार्यालयमा आठ महिना काम गरेका थिए। त्यसपछि उनी भरतपुर महानगरपालिकाकै वडा नम्बर १ को कार्यालयमा कात्तिक महिनादेखि कार्यरत छन्। महानगरपालिकामा काम गरेको आठ महिनाको तलबसमेत उनले पाएका नपाएको गुनासो गरे। अहिले उनलाई महानगरपालिकाले काम गरेको पैसा दिने आश्वासन मात्रै दिइरहेको उनको आरोप छ।

भरतपुर कारोना नियन्त्रण कार्यदलका सदस्य सचिव तथा कोरोना अस्पतालका प्रवक्ता डाक्टर भोजराज अधिकारीले कुट्ने कर्मचारीलाई कारवाही गर्ने बताएका छन्।

‘एउटा व्यक्तिले सार्वजनिक ठाउँमा अर्का व्यक्तिलाई कुटपिट गर्नु अवान्छिनिय कुरा हो। नैतिकताको आधारमा उहाँलाई कारबाही गरिन्छ’, अधिकारीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय