धार्चुलाका नेपाली फर्किँदै, कैलाली कञ्चनपुरमा अझै अनुमति छैन

कोरोना रोग नियन्त्रण तथा रोगथामका लागि सरकारले जारी गरेको लकडाउन र सीमा सिल गर्ने निर्णयपछि भारतको पिथौरागढको धार्चुलाका क्वारेन्टाइनमा राखिएका मजदुरहरूलाई स्वदेश ल्याउने काम आजदेखि सुरु भएपनि कैलाली र कञ्चनपुरका सीमावर्ती क्षेत्रमा रहेकाहरूको हकमा कुनै निर्देशन प्राप्त भएको छैन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कैलालीसँग सीमा जोडिएको भारतको पलियामा रहेका एक सय बढी नेपालीलाई स्वदेश फर्काउने सवालमा आफूलाई अनुमति नभएको बताए। प्रमुख जिल्ला अधिकारी बोहराले पलियामा झण्डै एक महिनादेखि क्वारेन्टाइनमा राखिएकाहरूलाई ल्याउने अनुमती नमिलेको बताएका हुन्। उनले गृह मन्त्रालयको निर्देशन कुरिरहेकाले अनुमती पाउने बितिकै पलियामा रोकिएका कैलालीसहित विभिन्न जिल्लाका एक सय २४ जनालाई ल्याईने जनाए। पलियामा कैलालीका ६९ जना, सुर्खेत, बैतडी, डडेल्धुरा, कञ्चनपुर लगायत जिल्लाका मजदुर रोकिएका छन्।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले समेत सीमा पारी रोकिएका नेपालीलाई ल्याउन अनुमती प्राप्त नभएको जनाएको छ। कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले भारतको वनबासा, खटिमा लगायतका क्वारेन्टाईनमा दुई सय ५१ जनालाई राखिएको बताए। तर, गृह मन्त्रालयबाट उनीहरूलाई ल्याउन कुनै परिपत्र नआएको सहायक प्रजिअ उपाध्यायले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा गरि दुई हजार ३८ नेपाली सीमा क्षेत्रमा अलपत्र रहेका थिए। ती मध्य दार्चुला र बैतडीसँग सीमाना जोडिएको भारतीय क्षेत्रमा निर्माण गरिएका क्वारेटिनमा राखिएका एक हजार पाँच सय बढी नागरिकलाई आज नेपाल फर्काइँदै छ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले उद्धार गरेर स्वदेश फर्काउन लागिएका भारतीय क्वोन्टाइनमा बसेका नेपालीहरूलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राखिने बताए। भारतीय भूमिबाट स्वेदेश फर्किने उनीहरू सबैलाई १४ दिन क्वारेन्टाइनमा राखिने छ। त्यसपछि आरडिटी गरिने बताइएको छ।

छिटो उद्धार गर्न माग गर्दै जनप्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालयमा दबाव दिँदै आएका थिए। केहि दिन पहिलेदेखि बैतडी र बझाङका स्थानीय तहका जनप्रतिनिधिहरू नै आफ्ना नागरिकहरूको उद्धार गर्नभन्दै प्रमुख जिल्ला अधिकारीलाई भेटेरै दबाब दिइरहेका थिए। स्थानीय तहले आवश्यक व्यवस्था गर्ने बताएपछि उनीहरूको उद्धार गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी कुँवरले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय