नेकपाकाे आन्तरिक विवादले कोरोना कार्यदल शिथिल

कोरोना भाइरस (कोभिड-१९) का कारण देशमा लकडाउन सुरू भएको बिहीबार एक महिना सात दिन पुगेको छ। यसबीचमा देशभर ५७ जना कोरोना संक्रमित बिरामी फेला परेका छन्।

लामो समयसम्म जारी लकडाउनको ढाँचा कस्तो बनाउने भन्ने विषयमा सरकारले मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदललाई जिम्मा लगाएको छ।

उक्त कार्यदल लकडाउनको ढाँचा बनाउन सक्रिय छैन। स्रोतहरूका अनुसार पछिल्लो विकसित राजनीतिक घटनाक्रमका कारण उच्चस्तरीय समितिका संयोजक रक्षा मन्त्री ईश्वर पोखरेल नै निष्कृय देखिएका छन्।

उच्चस्तरीय समिति बैठक नबसेको छ दिन पुगेको छ। यसअघि समितिको बैठक दुई दिन बिराएर हुने गर्थ्यो।

अहिले नेकपामा उत्पन्न विवाद उत्कर्षमा पुगेपछि बस्न छोडेको हो। नेकपा अहिले प्रधानमन्त्री केपी ओलीलाई हटाउने रणनीतिउन्मुख छ।

उच्चस्तरीय समिति बैठक कहिले बस्ने भन्नेबारे अहिले कुनै छलफल भइरहेको छैन,’ पोखरेलनिकट स्रोतले भन्यो। समितिका एक सदस्यका अनुसार लकडाउनको रणनीतिबारे कार्यदलले कुनै छलफल गरिरहेको छैन।

नेकपा प्रधानमन्त्री ओलीलाई सरकारबाट विस्थापन गर्ने दिशामा छलफल गरिरहेको छ। रक्षामन्त्री पोखरेल नेकपाको संसदीय समितिमा बहुमत जुटाउन व्यस्त छन्।

ओलीलाई सरकारबाट हटाउन संसदीय दलमा बहुमत पुग्नुपर्छ। ओली आफूलाई सुरक्षित गराउन सांसदहरूको समर्थन खोजिरहेका छन्। उनले समर्थन जुटाउने जिम्मा पोखरेललाई दिएका छन्। तर, प्रधानमन्त्रीनिकट एक सांसदले भने बुधबार नै बहुमत सांसदले प्रधानमन्त्रीलाई समर्थन जनाइसकेको बताए।

ती सांसदले भने, ‘प्रधानमन्त्रीले समर्थन खोज्नुभएको हो, बहुमत सांसदहरूलाई समर्थन छ भनेर प्रधानमन्त्रीलाई हस्ताक्षर बुझाइसकेका छन्।’

प्रधानमन्त्री ओलीले बुधबारको नेकपा सचिवालय समितिको बैठकमा कोरोना भाइरस नियन्त्रणमा आएपछि राजीनामा दिने बताइसकेका छन्।

उनले नेता वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएपछि सकिएको बैठक २० गते पुन: बस्दैछ। मन्त्री पोखरेलनिकट स्रोतले भने आवश्यकता हेरेर बैठक बस्ने नबस्ने निर्णय हुने बतायो। ‘समितिले आवश्यक निर्णय लिइरहेको छ, नयाँ निर्णय गर्नुपर्ने आवश्यकता हेरेर बैठक बस्छ,’ स्रोतले भन्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय