कोरोना महामारीमा पनि ‘कछुवा गति’ को कांग्रेस

अशोक अधिकारी/काठमाडौं
प्रकाशित
२०७७ वैशाख १७ गते २१:००

 

कोरोना भाइरसको विश्वव्यापी महामारीबीच नेपाल पनि लकडाउनको सास्ती झेलिरहेको छ। सरकार र प्रतिपक्ष दुवैको जिम्मेवारी र दायित्वबोध कमजोरीले नागरिकस्तरमा झनै ठूलो वितृष्णा पैदा गरेको छ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाददेखि ‘विभाजन’ सम्मका रेखाचित्र कोरिँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै रचनात्मक भूमिका प्रस्तुत गर्न सकेको छैन।

व्यक्तिगत रूपमा कांग्रेस नेताले राहत र तत्कालै आवश्यक सेवा प्रवाहमा नागरिकतहमा सहयोग गरे पनि पार्टीले सांगठनिक हिसाबमा सरकारलाई जनपक्षीय दायित्व सम्झाउन र कोरोना भाइरस महामारीको जोखिम न्यूनीकरणका लागि सशक्त कार्य गर्न दबाब सिर्जना गर्न सकेको छैन।

सरकार र प्रतिपक्षको भूमिकामा अहिले खासै ठूलो भिन्नता नरहेको बताउँछन् विश्लेषक विश्वभक्त दुलाल आहुति। ‘सत्ताधारी जस्तो छ, प्रतिपक्ष पनि त्यस्तै छ, सत्ताधारी दललाई यही मौका छोप्ने बाहेक अरू केही छैन, यही बेला मानवीय संवेदना र चिन्ता पनि देखा परेन,’ उनले भने।

विश्वव्यापी महामारीको सामना गर्नुपर्ने बेलामा सत्तारुढ दलले दायित्वबोध गर्नै नसकेको आहुतिको टिप्पणी छ। ‘भ्रष्टाचार यही बेला, यही बेला अरू पार्टी फोर्नुपर्ने, कतै तालमेल नहुने स्थितिमा सत्तापक्ष छ,’ उनले भने, ‘संसदीय व्यवस्थामा प्रतिपक्ष भनेको चाहिँ कुन बेला सत्ता आफ्नो हातमा आइपुग्छ भनेर कुरेर बस्ने मात्रै हो।’

‘कांग्रेसबाट रचनात्मक कामको अपेक्षा नगर्दा हुन्छ’

सत्तापक्षीय दलको मनपरीलाई हेरेर बसेको नेपाली कांग्रेसप्रति समग्र बुद्धिजीवी वर्ग र नागरिकस्तरमा पनि ठूलै आलोचना भइरहेको छ। सरकारका प्रायजसो सबै क्रियाकलापमा प्रतिपक्षी कांग्रेसको पनि संलग्नता रहेको आरोप लाग्ने गरेको छ।

सत्ता प्राप्तिको प्रतिक्षा बाहेक प्रतिपक्षसँग अर्को कुनै रचनात्मक भूमिका नहुने आहुतिको धारणा छ। उनले सत्तापक्षको कुनै ठोस मुद्दा आयो भने त्यसको विरोध गर्ने मात्रै प्रतिपक्षी दलको काम भएको तर्क गरे।

‘यो अवधिमा सत्तापक्षका जति पनि कमजोरी आएका छन्, ती सबै भ्रष्टाचार र अनियमिततासँग सम्बन्धित छन्, ती राष्ट्रियस्तरका छन्, सामान्य एक दुई वटा ठाउँको छैनन्,अर्बभन्दा माथिका छन्,’ आहुतिले भने, ‘ती सबैमा कुनै न कुनै रूपमा प्रतिपक्ष पनि गाँसिएका हुन्छन्, त्यस कारण प्रतिपक्षले अनियमितता र भ्रष्टाचारको पनि ठिक ढंगले विरोध गर्न सकेनन्।’

नेपाली कांग्रेसमा सिर्जनात्मक ढंगले ‘आइडिया जेनेरेट’ गर्ने कार्यमा धेरै पहिल्यै विश्राम लागेको आहुतिको भनाइ छ। ‘नेपाली कांग्रेसबाहेकका प्रतिपक्षी दल पनि आफूलाई सम्हाल्न सकिरहेका छैनन्, त्यसैले ती दलले केही गर्न सक्ने स्थिति नै रहेन, संसदीय व्यवस्थामा पक्ष र प्रतिपक्ष भनेको राज्य हो, दुईटै मिलेपछि राज्य बन्छ, नेपालको राज्य चाहिँ भाग्योदय चिठ्ठा जस्तो चलिरहेको छ,’ आहुति भने।

सत्तापक्ष र प्रतिपक्षको असफलतालाई प्रणालीकै असफलताका रूपमा व्याख्या गर्छन् आहुति। ‘कुनै एउटा पार्टी, दुईटा पार्टी, सत्तापक्ष र प्रतिपक्षको नभइ यो सिङ्गै प्रणालीकै असफलता हो यो,’ उनले भने।
विश्वभरि नै यही पद्धतिको विकास भइरहेको उनले बताए। ‘पैसा पहिल्यै जम्मा गरेर बसेका युरोपेली देश’ बाहेक अन्य देशमा सबैभन्दा बढी मारमा पारेको वर्ग श्रमिक रहेको उनले बताए।

‘ती श्रमिकका पक्षमा चाहिँ कहीको सत्ता पनि उभिन सकेन, अमेरिकाकै अवस्था पनि त्यही नै हो, भारतको अवस्था पनि त्यही नै छ, दिल्लीमा अलिअलि केही गर्न खोजेको जस्तो देखिए पनि अन्य क्षेत्रमा सत्ताधारीहरू जोगिने काम मात्रै भएको छ, यसको समग्र समस्याप्रणालीकै विषयसँग सम्बन्धित छ,’ उनले भने।

के छन् नेपाली कांग्रेसका अहिलेका एजेण्डा?

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बसेको छ। बैठकका मुख्य एजेण्डा सरकारका पछिल्ला गतिविधि, अध्यादेश जारी र फिर्ता तथा राहत, कोरोना भाइरसको महामारीको जोखिम नियन्त्रणका लागि गम्भीर ढंगले पहल गर्न सरकारलाई दवाव दिने लगायत छन्।

यद्यपि, नेपाली कांग्रेसका केन्द्रीय नेताहरूले सरकार पक्षमाथि आक्रोश व्यक्त गर्ने सिलसिला चाहिँ रोकेका छैनन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमाथि कटाक्ष नै गरे।

‘कोरानाजन्य वन्दावन्दीको कारण मर्कामा परेका कुखुरापालक, गाई–भैसीपालक र तरकारी–फलफूल खेती किसानलाई अहिलेसम्म कुनै राहत प्याकेज ल्याउन नसक्ने सरकार असक्षम र नालायक हो,’ उनले भने।

पौडेलले नेपाली कांग्रेसले पनि दायित्वबोध गर्ने बेला आएको बताए। नेपाली कांग्रेसले गहिरो चिन्तन गर्ने बेला आएको बताउँदै पौडेलले पूँजीवादमा पनि समस्या देखिएको र साम्यवाद पनि नेपालमा सान्दर्भिक नदेखिएकाले अब बीचको बाटोबाटै अघि बढ्नुपर्ने बताए।

‘बारम्बारको अग्निपरीक्षामा होमिँदै, दङ्गल खाँदै यहाँसम्म आइपुगेको नेपाली कांग्रेसले मात्र यो विकल्प दिन सक्छ कि भनेर जनता यसैतिर आशान्वित हुने अवस्था कसरी पैदा गर्ने हो? हामीले सोच्न जरुरी छ, व्यक्तिगत जोड घटाउ, आश र त्रासको राजनीति भन्दा माथि उठेर विचार, सिद्धान्त र सेवामा आधारित तथा निष्ठा र योगदानमा आधारित उच्च नैतिक धरातलमा आधारित राजनीति र कार्यशैलीका आधारमा जनताको मन जित्ने काम गर्नुपर्छ,’ पौडेलले भने।

देशलाई योगदान दिने पत्यारिलो शक्ति बनेर नेपाली कांग्रेसले नै लोकतन्त्र रक्षा र राष्ट्रोन्नतिको भरोसाको केन्द्र बन्न सक्नु पर्ने पूरानै सैद्धान्तिक तर्कलाई दोहोर्‍याए। ‘अब देशमा यस्ता लुटतन्त्र दाहोरिन नपाउन्, ठालूतन्त्र हावी हुन नसकुन्, लोकतन्त्रको विकल्प उच्चतम र अधिकतम लोकतन्त्र नै हो,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय