‘सलामी’ चढाइदिने डाक्टर म !

टाउको र दुबै कुमलाई पछ्यौराले सजाएर कुर्सीमा बस्छिन् एक ३० वर्षीया महिला। पटुकाले पूरै पेट बेरिएको छ।

मनको अशान्ति अनुहारका कुनाकाप्चामा देखिने गरी मलिनता छाएको छ।  बेखुसी व्याप्त देखिन्छ।

हिँडाइमा सुस्तता छ। सासै फेर्न गाह्रो भएजस्तो गरी लामो सुस्केरा पनि सुनिन्छ। त्यही सुस्केरामा उनको ‘सलामी’ (सलाइन) पानीको आशा लुकेको छ।

‘डाक्टर बाबु! हाड्ज्वरो आम्च। गरम हुन्छ। केही गरी सितल गर्नुपर्‍यो।’

उनी आफ्नो व्यथा पोख्छिन्, ‘पोहोर साल यहीबेला सलामी चडाएर सितल भा’को। शरीरमा पानी सकिएछ। सलामी चडाउनुपर्छ भन्थे डाक्टरले।’

यस्तो कथा सुन्ने बानी परेको त पत्तै भएन छ मलाई। पहिलेजस्तो प्रतिक्रिया नै आउन छाडिसकेछ। फेरि अर्को ‘सलामी’को गहिरो जरो बसेको बिरामी आयो भनेर जाँगर नलाई-नलाई फर्किएर उनको नाडी छाम्छु।

आफ्ना शब्दहरू खर्चिन मन लाग्दैन मलाई। खै किन हो जाँगर नै लोप भइसकेछ। पहिले यस्ता कथा सुन्दा-सुन्दा र सल्लाह दिँदा-दिँदा जाँगर भन्ने कुरा लोपोन्मुख थियो। अब पूरै लोप भएछ भनेर आश्चर्य लागेन मलाई।

आफ्नै बसाइ पनि त्यति सहज नभएकोमा ‘सलामी’को सितलताको कथा सुनेर बेलाबखतमा सोचमग्न हुने गर्छु म।

पुरानो काठको कुर्सी छ। अढेस लाउँदा ढाड बिझाउँछ। बस्दा-बस्दा पुठा दुख्छन्। हात राख्दा कुर्सीको घेराबारामा ठोक्किन्छ। बिरामी बस्छन् टुलमा।  यसो फर्केर जाँच्न लाग्दा शरीर नै बाङ्गो हुन्छ। अनि घर्‍याक्क पारेर लतार्छु र मोड्छु कुर्सीलाई। के गर्नु? घुम्ने कुर्सी त मेडिकल अधिकृतको सुविधामा पर्दो रहेन छ। किनकि, कसैले ठट्टा गरेर हो कि साँच्चै हो बत्तीस दाँत ङिच्च देखाउँदै भनेका थिए- डाक्सा’प निदाउनुन्छ कि भनेर तपाईंलाई घुम्ने कुर्सीभन्दा काठको कुर्सी बेस हुन्छ भनेर त्यस्तो राखेको हो।

यस पटक भने मैले कुर्सी मोडिन। टाउको मात्र घुमाएर कुरो सुनेजस्तो गरें।  काठकै कुर्सीमा पनि हाई आउन लाग्यो।

यो देखेको भए त त्यही कुर्सी पनि हटाएर टुल राख्थे होला ती सज्जनले! यो कुरा मनमा खेल्दै गर्दा सलामीको महिमा सुनाउँदै गरेकी महिलातिर ध्यान मोडिन्छ। कति कुरा त छुटिसकेछन्।

‘हरेक वर्ष शरीरमा पानी सकिन्छ। हाम्ची रेचार्ज गर्नुपर्छ। भित्री ज्वरो पनि सितल हुन्छ। सलामी चडाएपछि तागत लाग्छ। शरीर तंग्रिन्छ। जाँगर बड्छ।’

त्यो महिमा सुन्दै गर्दा कमी थियो त शेष नागको मात्र।

‘शरीरबाट पानी सकिन त पखाला, बमन, धपेडी आदि हुनपर्‍यो। पानी कम पिएर हो। सलामीभन्दा पानी पिउनु नाम्रो हो। प्रेसर नाडीको गति सबै राम्रो छ’ भनेर एक बचन बोली फुट्नै आँटेको थियो।

बीचमै रोकियो। विगतका अनुभवहरू स्मृतिमा आउन लागे। त्यो भन्यो भने त बेखुस अनुहारमा कता-कता बाँकी रहेको कान्ति पनि उडेर गएको धेरैपटक  देखेको छु। नैराश्यता छाएको देखेको छु। असन्तुष्ट सेवाग्राहीको संख्या बढ्दै गएर संस्थामा उपचार गर्न आउनै छाडेको अनुभव गरेको छु।

‘कस्तो डाक्टर आएछन्। पहिलेकोले त चडाइदिन्थ्यो। कस्तो गतिला थिए तिनी! हाम्ची पैसा पनि खोज्दैनथे!’ आदिजस्ता सेवाग्राहीका प्रतिक्रिया स्मरणमा तुफानसरी आउँछ। आफ्नै इज्जत राख्न सकिने सलामीको आग्रहलाई नकारेर लामो समयदेखि आफू जनसमाजको आँखाको तारो भएको भान हुन  थाल्यो। गाउँमा त सबैलाई ‘सलामी’ चडाइदिए चुनाव पनि जितिन्छ कि जस्तो लाग्यो!

मेरा सहकर्मी साथी भर्खरै नियुक्ति भएर गाउँतिर धकेलिएर आइपुगेका छन्।   उनी र म सँगै बिरामी हेर्छौं। अरु बेला धेरै शब्द बक्ने मैले ती महिलामा मितव्ययिता अपनाएको देखेर उनी छक्क पर्छन्। उनलाई पनि बिरामीको यो सलामीको आग्रह चित्त नबुझेको प्रष्ट देखिन्छ। त्यस्तो किसिमको आग्रहलाई अनेक तरिकाले बुझाउने जमर्कोमा हुन्छन्। यस्तो मानसिकता केही परिवर्तन नै गर्छु भन्ने जोश छ उसमा। कुन दिन जोश सेलाएर म जस्तै  प्रतिक्रियाशून्य हुने हो भन्ने यकिन छैन। कुनै बेला यो निश्फल प्रयास नगर्ने सुझाव दिन मन लाग्छ। तर, आफैंले निचोड निकालेको, अझै राम्रो होला भनेर रोकतोक गर्दिनँ।

नगरपालिकामा पोस्टिङ परेछ भनेर खुसीले बत्तिँदै आएको केही दिनमै दुर्गम नगरपालिका भोगेर निराश भएका थिए। जूनाकीरीजस्तो झिपझिप बत्ती, खोलामा नित्य शावर, डाँडामा उक्लेपछि मात्रै तंग्रिने नेटवर्क भोगेर निराश मेरा साथी बिरामीको उपचारमा पनि निराश हुन्छन् कि भन्ने गहिरो पिर छ मलाई।

धेरै समय सलामीको बिरामीमा नअल्मलिने निधो गरेर पर्चामा ‘सलामी’  चढाउने आग्रहलाई उतारी सलामीको लागि मेरा अर्का कर्मचारी साथीलाई भनें।  त्यति सुन्नेवित्तिकै उनको अनुहारमा निभ्नै लागेको कान्ति फेरि जागेर आयो।  अनुहारमा खुसीका रेखाहरू दौडिन लागे। ओंठले दबिएको मुस्कान फिजार्‍यो।

कस्तो अचम्म! यो सलामी पनि तीन महिने सुइजस्तो रहेछ उनको लागि! मेरो मौन स्वीकृति पाएर उनी हर्षित थिइन्। एउटा अर्को व्यक्तिको नजरमा म प्यारो साबित भएँ। मौन स्वीकृति नदिएर पनि उपाय छैन।

जाँगर बढेर होला टुलमा अलि चनाखो भएर बसिन्। अनि जुरुक्क उठेर सलामी चढाउने इमर्जेन्सी कोठातिर लागिन्। सायद सलामीले गर्दा म उनको आँखाको नानी भएँ।

आहा! कहिलेकाहीँ त सही सल्लाह नदिएर नै प्यारो भइने!

‘सलामी’ सकिएपछि उनी शिष्टाचार निभाउन आइन्। बिदावारी मागेर फेरि  तीन महिनामा आउने बचन दिएर निस्किन्। कस्तो अचम्म! यो सलामी पनि तीन महिने सुइजस्तो रहेछ उनको लागि! मेरो मौन स्वीकृति पाएर उनी हर्षित थिइन्। एउटा अर्को व्यक्तिको नजरमा म प्यारो साबित भएँ। मौन स्वीकृति नदिएर पनि उपाय छैन।

एक्लै विचारको युद्ध जित्न सकिन्न। सलामीको आग्रह मैले नमाने पनि  च्याउसरी मेडिकलमा गएर चढाइहाल्छन्। कमाइ खाने उपायमा ग्रामीण भेगमा सलामीको हौवाले राम्रो काम गरेको छ। मेडिकल चलाउनेहरू मुख खोलेर बसेका हुन्छन्, कर्लप्पै खान्छु भनेर।

उनीहरूको मुख खुलुन्जेल यो सलामीको गाथा चलिरहनेमा दुविधा छैन। दुविधा त केवल मैले जनभ्रमको निरन्तरतालाई टेवा दिएँ कि सेवाग्राहीको सेवा गरें भन्ने कुरामा छ। जे भए पनि म यसरी धेरैका दिलदिमागमा बस्दै गएको र बस्ने कुरामा भने विश्वस्त छु! सायद चुनाव जित्ने दाउ पनि यस्तै हुँदो हो भन्ने लाग्छ।

दुई वर्ष अगाडिको यो अनुभव अहिले दुर्गममा खटिएका डाक्टरमा पनि उस्तै छ कि?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय