कोरोना भाइरस कसरी नियन्त्रण गरिरहेछ भारत?

भारत गुवाहटीकाे एक बसपार्कमा भाैतिक दूरी कायम गर्दै बस कुरिरहेका यात्रु। तस्विर : पिटीआई

करिब एक महिना अघिसम्म भारतको भविष्य निराशाजनक देखिएको थियो।

विज्ञले यहाँका दशाैं लाख मानिस भाइरस संक्रमित हुने आँकलन गरेका थिए भने चिकित्सकले संक्रमणको बढ्दो संख्यालाई थेग्न नसक्दा देशको कमजोर स्रोत–साधनयुक्त स्वास्थ्य प्रणालीमा अत्यधिक दबाब आउने अनुमान लगाएका थिए।

मानिसले खचाखच भरिएको र आधारभूत सरसफाइ तथा स्वच्छताको सुविधाविहीन सुकुम्बासी बस्तीमा कोरोना भाइरस आगो झैं आक्रमक रूपले फैलने भन्दै मानिस चिन्तित थिए।

तर, हालसम्म विश्वको दोस्रो ठूलो जनसंख्यासहितको यो राष्ट्रले अतिदुर्भाग्यपूर्ण घटना पाखा लगाउन सफल भएको छ।

अहिलेसम्मको तथ्यांक अनुसार भारतमा ३१ हजार ३ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण भएको र संक्रमितमध्ये १ हजार ७ जनाको मृत्यु भएको पुष्टि गरेको छ, जुन प्रति १ लाख जनामा ०.७६ जनाको मृत्यु हो। उता अमेरिकामा भने प्रति १ लाखमा १ सय ७५ जनाले ज्यान गुमाइरहेका छन्।

केही बिज्ञहरुले संक्रमणलाई नियन्त्रणमा लिन भारत सरकारले लागु गरेको लकडाउन हालको लागि प्रभावकारी भएको टिप्पणी गरेका छन्।

‘समस्याले बिकराल रुप लेओस् भनेर भारत पर्खने पक्षमा छैन,’ मे ३ सम्म राष्ट्रब्यापी लकडाउन थप गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले अप्रिल १४ मा भनेका थिए, ‘त्यसको बिपरीत समस्या देखिने बित्तिकै सोलाई रोक्न हामीले तत्कालै निर्णय लियौं। यस्तो आकष्मिक निर्णय नलिएको भए कस्तो परिस्थिती श्रृजना हुन्थ्यो भनेर म कल्पनासम्म पनि गर्न सक्दिनँ।’

तर बिज्ञहरुले अहिले नै भारतले आफैलाई बधाई दिन निकै चाँडो हुने चेतावनी दिएका छन्।

‘हामी जति मात्रामा त्रसित थियाैं त्यति मात्रामा भाइरसले अहिलेसम्म क्षति नगरेको देखिन्छ । तर यसको मतलब हामीले जोखिमको अध्याय सम्पन्न गरिसक्याैं भन्ने चाहीँ कदापि होइन,’ पब्लिक हेल्थ फाउण्डेशन नामक गैर–नाफामुलक संस्थाका अध्यक्ष श्रीनाथ रेड्डी भन्छन्।

मोदीले कत्तिको द्रुत निर्णय लिएका थिए ?

जनसंख्याको आधारमा भारतभन्दा ठूलो चीनले विभिन्न शहरहरुमा मात्र लकडाउन कायम गरेको अवस्थामा मार्च २४ का दिन मोदीले भारतमा तीन हप्ते राष्ट्रब्यापी लकडाउनको घोषणा गरे जसको असर अकल्पनीय हुन पुग्यो।

उक्त निर्णय उच्चरुपले संवेदशील थियो । लकडाउनमा जाँदा दशाै‌ं लाख दैनिक मजदुरी गरी जीवनयापन गर्ने भारतीय नागरिकहरु कमाइविहिन हुन्थे।

तर लकडाउन नगर्दा भारतको कमजोर स्वास्थ्य प्रणालीमाथि थप जोखिम र भार बढ्ने सम्भावना पनि उत्तिकै थियो। सामाजिक दूरीको उपाय अवलम्बन नगरे जुन महिनासम्म करिब १५ करोड मानिस संक्रमित हुनसक्ने एक अध्ययनले देखाएको थियो। भारतको एक महामारी बिशेषज्ञले गत साता लकडाउन कायम नगरेको भए हालसम्म दैनिक एक लाख जनामा संक्रमण देखिन सक्ने बताएका छन्।

पाँच सय १९ जनामा संक्रमण पुष्टि हुँदा लकडाउन गरेको भारतले सो निर्णय चाँडै लिएको हो। तुलनात्मकरुपमा नौ हजार २ सय जनामा संक्रमण पुष्टि भएपश्चात मात्रै इटाली लकडाउनमा गएको थियो भने छ हजार ७०० जनामा संक्रमण नहुँदासम्म पनि बेलायतले यस्तो घोषणा गरेको थिएन।

हामी जति मात्रामा त्रसित थियाैं त्यति मात्रामा भाइरसले अहिलेसम्म क्षति नगरेको देखिन्छ। तर यसको मतलब हामीले जोखिमको अध्याय सम्पन्न गरिसक्याैं भन्ने चाहीँ कदापि होइन

सेन्टर फर डिजिज् डाइनामिक्स एण्ड इकोनोमिक पोलिसीका निर्देशक रामानन लक्ष्मी नारायणले चाँडै लकडाउन गर्ने निर्णयले सम्पर्कको दरलाई ब्यापकरुपमा घटाएको हुनसक्ने प्रतिक्रिया दिएका छन्।

उक्त निर्णयपछि रोजगारीमा कटौती आउँदा ठुलो संख्याका भारतीय मजदुरहरु प्रमुख शहर छोडी आ–आफ्नो गाउँघर जाने प्रयास गरे। यात्राको क्रममा अरुलाई संक्रमण सार्ने सम्भावनालाई ध्यान दिइ कैयाैं राज्यका अधिकारीहरुले उनीहरुलाई ‘डिस्इन्फेक्टान्ट’ छर्ने काम गरे जुन कोरोना भाइरस नियन्त्रणमा प्रभावकारी कदम बन्न पुग्यो।

लकडाउनको हप्ता दिनपछि मुम्बाइस्थित मानिसको घुइँचोयुक्त सुकुम्बासी बस्तीका दुई जनाको मृत्यु भयो जसपश्चात अधिकारीहरुले मृतकका परिवारका कैयाैं सदस्यहरुको स्वास्थ्य परिक्षण गरी उनीहरुलाई घरभित्र एकान्तबासमा रहन लगाउँदै ३०० वटा झुपडपट्टि तथा ९० वटा पसलहरु रहेको सम्पूर्ण आवादी क्षेत्रलाई नै बन्द गरेको थियो।

त्यसो त लकडाउनको घोषणा गर्नुपूर्व नै भारतले सुरक्षाका विविध उपायहरु अपनाइसकेको थियो।

मार्च ११ को दिन भारतले जारी गर्दै आएको सम्पूर्ण पर्यटक भिसामा प्रतिबन्द लगाउँदै पछिल्लो केहि हप्ताभित्र विश्वको अति प्रभावित देशहरुमा यात्रा गरेका पर्यटकहरुलाई दुई हप्तासम्म क्वारेन्टाइनमा राख्यो। यसैगरी मार्च २२ मा सबै अन्तराष्ट्रिय हवाइ सेवाका साथसाथै यात्रुरेलको सेवा बन्द गरेको थियो।

कतै तथ्यांक नै पो गलत हो कि ?

कुनै पनि राष्ट्रमा कोरोना भाइरसको प्रभाव कस्तो छ भनेर थाहा पाउने एकमात्रै साधन भनेको उपलब्ध तथ्यांक नै हो। यो तथ्यांक राष्ट्रहरुले गरेको स्वास्थ्य परीक्षणमा निर्भर रहन्छ।

यसै साताको आइतबारसम्म भारतको स्वास्थ्य मन्त्रालयले करिब छ लाख २५ हजार जनाभन्दा बढीको स्वास्थ्य परिक्षण गरिसकेको जनकारी दिएको छ। दक्षिण कोरियाको भन्दा बढी यस स्वास्थ्य परिक्षणको संख्याको कारण भारत सरकारको प्रशंसा गरिएको छ।

सरकारले कति तीव्र गतिमा परिक्षण गरिरहेको छ भनेर स्वास्थ्य बिज्ञहरुले अध्ययन गरिरहेता पनि उनीहरुले जम्मा परिक्षणको संख्यालाई मात्र अन्तिम मान्दैनन्। बरु सो परिक्षणको सकारात्मक दरमाथि उनीहरु चनाखो रहन्छन्। यदि परिक्षणको ठूलो अनुपातको परिणाम सकाराकात्मक आएमा गम्भीररुपमा थलिएर अस्पताल भर्ना भएका बिरामीहरुको मात्र परिक्षण गरिएको छ भन्ने बुझिन्छ।

विश्व स्वास्थ्य संगठनको हेल्थ इमर्जेन्सी प्रोग्रामका कार्यकारी निर्देशक माइक रायनका अनुसार प्रति एक सकारात्मक परिणाम बराबर १० वटा नकारात्मक परिणाम आएको खण्डमा उपयुक्त मापदण्ड कायम भएको मानिन्छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार भारतमा गरिएको कुल परिक्षणको करिब चार प्रतिशत सकारात्मक परिणाम आएको छ जुन अमेरिकाको १७ प्रतिशत र बेलायतको २१ प्रतिशतको मापदण्डभन्दा अधिक राम्रो परिणाम हो।

यदि कोरोना भाइरस संक्रमितहरुको संख्या उल्लेख्यरुपले बढेता पनि बिरामीहरु परिक्षणबाट छुटेका भए यहाँका स्वास्थ्य केन्द्रहरुमा बिरामीहरुको भिड जम्मा भैसकेको हुन्थ्यो

अर्को उपयोगी विधी भनेको गम्भीररुपमा बिरामी परेका मानिसहरुको अनुपात हो जुन इटाली, बेलायत र फ्रान्सको १३ प्रतिशतभन्दा बढी रहेको छ भने भारतमा तीन प्रतिशतमात्र रहेको छ। यसले भारतले अति गम्भीर बिरामीबाहेकका मानिसको स्वास्थ्य परिक्षण गरेको देखाउँछ।
तर भारतको प्रति ब्यक्ति परिक्षणको दर अन्य राष्ट्रको तुलनामा अति न्यून रहेको छ। प्रति एक लाख मानिसमा जम्मा ४८ जनामा मात्र परिक्षण भएको छ तर यो दर दक्षिण कोरियामा एक हजार १७५ र अमेरिकामा एक हजार ७४० रहेको छ।

अब्जर्भर रिसर्च फाउण्डेसनका अध्यक्ष समिर शरणले भारतले आफ्नो परिक्षण क्षमतामा नाटकिय सुधार गरेता पनि हालको संख्याबाट आफू खुसी नभएको बताएका छन् ।

विभिन्न विज्ञहरुले भारतको समुदायहरुमा संचालन गरिएको बृहतस्तरको परिक्षण अब्यवहारीक तथा श्रोतको नाशमात्र भएको जनाइरहँदा शरण भने कामका लागि अधिक संख्याका भारतीय नागरिकहरु विभिन्न क्षेत्र वा राज्यहरुमा यात्रा गरिरहेको तर्फ सरकारले ध्यान दिनुपर्ने बताउँछन् ।

रेड्डीले यदि भारतले पर्याप्त मात्रामा परिक्षण नगरेको भए अस्पतालहरुमा संक्रमितहरुको घुइँचो लागिसक्ने दाबी गरेका छन् । ‘यदि कोरोना भाइरस संक्रमितहरुको संख्या उल्लेख्यरुपले बढेता पनि बिरामीहरु परिक्षणबाट छुटेका भए यहाँका स्वास्थ्य केन्द्रहरुमा बिरामीहरुको भिड जम्मा भैसकेको हुन्थ्यो,’ उनी भन्छन्।

तर हालका लागि उनले भनेको जस्तो दुबै खाले संकेत देखिँदैन।

कोरोना भाइरसले किन भारतमा प्रभाव जमाउन सकेन ?

भारतको सुरक्षाको द्रुत नीतिले अधुरोमात्र कथा भन्छ। लकडाउन गर्नुअघि नै यहाँ कोरोना भाइरसले प्रवेश गरिसकेको थियो। त्यसैले भारत सरकारले कोरोना भाइरसको केहि ‘केस’हरुबारे जानकारी दिएको थियो ।

जनवरी ३० मा चीनको वुहानको यूनिभर्सिटीमा अध्ययनरत एकजना विद्यार्थीमा भएको संक्रमणलाई भारतले पहिलो ‘केस’को रुपमा चिनाएको थियो। बेलायत, फ्रान्स र इटालीले पनि करिब सोहि समयमा पहिलो ‘केस’को जनाउ दिएतापनि यि राष्ट्रहरुले नाटकियरुपमा गम्भीर अवस्थाको सामना गरे। हाल यि तीन देशमा संक्रमितहरुको संख्या एक लाख नाघिसकेको छ।

 बैज्ञानिक तथ्यले यस सम्भावनालाई नकारेको छ भने विश्व स्वास्थ्य संगठनले हालसम्म हात लागेको प्रमाणले कोरोना भाइरस तातो वा चिसो सबै खाले वातावरणमा सर्ने देखाएको बताएको छ।

तर भारतमा भने कोरोना भाइरसले कसरी फरक स्वरुप देखायो भन्ने विषयमा यहाँका बिज्ञहरु अचम्ममा परेका छन्। ‘एउटा सम्भावित कारण भनेको चिसो वातावरणमा फस्टाउने कोरोना भाइरस प्राय सँधै ३० डिग्रीभन्दा बढी रहने भारतको तापक्रममा राम्रोसँग बिस्तार नभएको हुनसक्छ,’ रेड्डी अनुमान लगाउँछन्।

तर बैज्ञानिक तथ्यले यस सम्भावनालाई नकारेको छ भने विश्व स्वास्थ्य संगठनले हालसम्म हात लागेको प्रमाणले कोरोना भाइरस तातो वा चिसो सबै खाले वातावरणमा सर्ने देखाएको बताएको छ ।

यसैगरी अन्य बिज्ञले क्षय रोगको निवारणको लागि लगाइने भ्याक्सिनले पनि भारतीय नागरिकलाई कोरोना भाइरसप्रतिरोधी बनाएको हुनसक्नेतर्फ औंल्याएका छन्। बासिलस क्याल्मेट गेरिन नामक यस भ्याक्सिनलाई कोरोना भाइरसको उपचारका लागि प्रयोग गर्ने उदेश्यका साथ विश्वभरि विभिन्न अध्ययन तथा परिक्षणहरु चलिरहेता पनि संगठनले भने यस भ्याक्सिनले मानिसलाई कोभिड–१९ बाट बचाउने कुनै पनि प्रमाण फेला नपरेको स्पष्ट गराइसकेको छ।

‘हामीलाई के ले यस खतरनाक भाइरसबाट बचायो भन्ने विषयमा केही थाहा छैन,’ रेड्डी अगाडी थप्छन्।

(विभिन्न समाचार एजेन्सीहरुबाट अनुदित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय