कोरोना भाइरस संक्रमणबाट भारतमा ‘कम मृत्यु’ को रहस्य के हुनसक्छ?

महामारीको चपेटामा परिरहेको विश्वका कयौं देशका तुलनामा भारतमा कोरोना भाइरसको संक्रमणबाट निकै कम मानिसको मृत्यु भएको छ।

मृत्युको यो आंकडा अहिले भारतमा चर्चाको विषय बनेको छ। वास्तवमै भारतमा कोरोना संक्रमणका कारण कम मृत्यु भइरहेको छ वा त्यसलाई लुकाइएको छ? भन्नेबारेमा अहिले भारतमा चर्चा हुन थालेको छ।

एकातिर मानिस भनिरहेका छन् कि, यो घातक भाइरसबाट हुने मृत्युलाई रोक्न भारत सफल भइरहेको छ। अनि कतिले यो पनि भनेका छन् ‘यो एउटा रहस्य हुनसक्छ।’

दुई महिना पहिले कोरोना भाइरसको पहिलो पोजेटिभ ‘केस’ रेकर्ड गरिएको भारतमा अहिलेसम्म ३१ हजार भन्दा बढी मानिस संक्रमित भएका छन्। जब कि, १ हजार ७ जनाको मृत्यु भएको छ।

बितेका नौ दिनमा मात्रै भारतमा भाइरसका कारण मृत्यु हुनेको संख्या दोब्बर भएको छ।

जब कि संक्रमणको यो अवधिमा अमेरिकामा तीन गुणा बढी मानिसको मृत्यु भएको थियो।

भारतमा भइरहेको निकै ‘कम मृत्यु’को कारणलाई विभिन्न कोणबाट हेरिएको छ।

कतै चर्चा भइरहेको छ कि, भारतमा संक्रमण हुँदासम्म यो भाइरसले आफ्नो रुप फेरिसकेको छ, अर्थात् त्यसको शक्तिमा परिवर्तन आइसकेको छ।

कतिले यो पनि भनेका छन् कि, भारतले गरेको लकडाउनका कारण यसमा कमी आएको छ।
अनि कतिले भनेका छन् ‘भारतमा गर्मी बढेका कारण भाइरस कमजोर भएको छ।’

जनस्वास्थ्य क्षेत्रका विशेषज्ञहरुले भने यसलाई लकडाउनको प्रभाव भनेका छन्। ‘नत्र यो बेलासम्म मृत्युको आंकडा निकै माथि चढिसकेको हुनेथियो’ उनीहरुले भनेका छन्।

यद्यपि यसको कुनै कारण बाहिर आएको छैन। वा यसको बारेमा कुनै त्यस्तो आधिकारिक अध्ययन भएको छैन। जब कि, कोरोनाको उपचारमा खटिएका डाक्टरहरु भनिरहेका छन्, यो भाइरस पनि उत्तिकै शक्तिशाली संक्रामक छ, जति अन्य देशमा छ।’

एउटा अन्र्तवार्तामा भारतीय मूलका अमेरिकी चिकित्सक तथा क्यान्सर रोग विशेषज्ञ सिद्धार्थ मुखर्जीले भनेका छन् ‘खास भन्ने हो भने भारतमा मृत्युको आंकडा किन कम छ भन्नेबारेमा मलाई पनि थाहा छैन। न त दुनियालाई नै थाहा होला। तर, मलाई जहाँसम्म लाग्छ कि, कम परीक्षणका कारण पनि यस्तो भएको होला। भारतमा अपेक्षाअनुसार परीक्षण नै भएको छैन। जति धेरै परीक्षण भयो, उत्ति धेरै कारणहरुको बारेमा विश्लेषण गर्न सकिन्छ।’

योसँगै विश्लेषकहरुले यो पनि आंशका गरिरहेका छन् कि भारतले कोरोना संक्रमणबाट भएको मृत्यु पत्ता लगाउन नसकेको पनि हुनसक्छ।
केही समयअघि फाइनान्सियल टाइम्सले गरेको एउटा अध्ययनमा भनिएको थियो संक्रमणबाट धेरै प्रभावित १४ देशमा मृत्युको आंकडा अहिले देखिएको भन्दा ६० प्रतिशत बढी हुनसक्छ।

यसको कारण महामारीको यो अवस्थामा मृत्युको सही आंकडा आउन सक्दैन।

चीनको उहानमा पनि मृत्यु भएका भनिएका २ हजारभन्दा बढीको मृत्यु संख्या पछिमात्रै थपिएको थियो।

टोरन्टो विश्वविश्वविद्यालयका प्रभात झा भन्छन् ‘मृत्युको आंकडा सही तरिकाले हुनुपर्छ, छुटेका मृत्युको संख्या पनि सामेल गरिनुपर्छ।’
उनका अनुसार भारतमा करिब ८० प्रतिशत मृत्यु घरमै हुने गरेको छ। जहाँ निमोनिया, मलेरियालगायतका बिरामी हुन्छन्। निमोनिया, दम तथा स्वास प्रस्वासका ८० प्रतिशत बिरामी अस्पताल नआएर घरमै उनीहरुको मृत्यु हुने गरेको छ।

‘त्यसैले पनि मृत्युको आंकडालाई सही बनाउनका लागि अर्काे कुनै तरिका अपनाउन पनि जरुरी छ’ उनी भन्छन्।

उनले मृत्युको आंकडालाई सही बनाउनका लागि मोबाइल एपहरुको प्रयोगलाई आम मानिसमाझ पुर्‍याउन, अस्पतालले ट्रयाकिङ सिस्टम बनाउनुपर्ने जस्ता उपायहरु पनि सुझाएका छन्।

बिबिसीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय