‘भिडियो बैठक’ ले किन थकित बनाउँछ?

तपाईंको चम्किरहेको स्क्रिन। तपाईंलाई एकटक हेरिरहेका एक दर्जन मुहार। कामको अव्यवस्थित थुप्रो, त्यसपछिको एक–एक व्यक्तिसँगको छुट्टाछुट्टै भर्चुअल बैठक अनि कार्यालयको कामको सम्पादनपछि साथीसंगी तथा परिवारका सदस्यसँग कम्प्युटरमार्फत् भेटघाट।

कोभिड–१९ को फलस्वरूप लागू गरिएको बन्दाबन्दीको हालको समयमा हामी अहिलेसम्मकै सबैभन्दा बढी समय भिडियो कल प्रयोगमा बिताइरहेका छौं तर कयौंले यसलाई थकाइपूर्ण पाइरहेका छन्।

तर, हामीलाई केले थकित बनाइरहेको छ?

बिबिसीले दिगो सिकाइ र कार्यस्थल विकास विषयमा खोज गरिरहेका इन्सेड विश्वविद्यालयका उपप्राद्यापक गिनपिएरो पेट्रिग्लेरी र कार्यस्थल सुस्वास्थ्य र समूहकार्यको प्रभावकारीताबारे अध्ययन गरिरहेकी क्लेमसन विश्वविद्यालयकी उपप्राद्यापक मरिसा सफ्लरसँग यसबारे कुरा गर्न सम्पर्क गरेको थियो।

के भिडियो च्याट कठिन हुन्छ? मानिस–मानिसबीच प्रत्यक्ष सम्वादभन्दा यो कसरी भिन्न छ?

पेट्रिग्लेरीका अनुसार मानिस–मानिसबीच प्रत्यक्ष सम्वादमा भन्दा भिडियो कलद्वारा गरिने सम्वादका लागि बढी ध्यान केन्द्रित गर्न आवश्यक रहन्छ। भिडियो च्याटमा अनुहारको भाव, बोलीको लय, शारीरिक इसारा, आवाजमा दिइने जोडलगायत अशाव्दिक अभिव्यक्ति बुझ्न  थप  सावधानी  अपनाउनुपर्छ,  जसका  लागि थप शक्तिको खाँचो पर्दछ।

‘यस्तो सम्वादको क्रममा हाम्रो मस्तिष्कसँगै हुने भए पनि हाम्रो शरीरले सो सामीप्यता महसुस गर्दैन। त्यो बेमेलपनाले द्वन्द्वको भाव निम्त्याउँछ जुन थकानपूर्ण हुन्छ। जसको कारण यस्तो भर्चुअल सम्वाद प्रत्यक्ष सम्वाद झैं आरामदायी हुँदैनन्,’ पेट्रिग्लेरी भन्छन्।

‘मौनता अर्को चुनौती हो,’ उनी थप्छन्।

‘कुराकानीको बीचमा अपनाइने मौनताले वास्तविक संवादमा प्राकृतिक लयको श्रृजना गर्दछ,’ उनी जानकारी दिन्छन्, ‘तर, भिडियो च्याटको क्रमको मौनताको कारण तपाईंलाई प्रविधिबारे चिन्तित हुन थाल्नु हुन्छ र यसले मानिसलाई बेचैन बनाउँछ।’

सन् २०१४ मा जर्मन अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले फोन वा अनलाईन संवादको क्रममा हुने छोटो समयको पनि ढिलाइले मानिसमा अर्को व्यक्तिबारे नकारात्मक सोचको श्रृजना गराउने देखाएको छ। अध्ययनअनुसार १.२ सेकेण्डमात्र संवादमा ढिला हुँदा मानिसले संवादमा रहेको अर्को व्यक्ति कम मिलनसार भएको वा ऊ संवादप्रति गम्भीर नभएको सोच्न थाल्दछन्।

सफ्लर भन्छिन्, ‘हामी क्यामरा अगाडि हुँदा आफूलाई कसैले हेरिरहेको भन्नेबारे सचेत रहन्छौं। भिडियो कन्फरेन्सको क्रममा मलाई सबैले हेरिरहेका छन् र म सबैको ध्यानको केन्द्रमा छु भन्ने सोच आउँछ। जसको कारण मैले राम्रो प्रर्दशन वा सम्पादन गर्नुपर्छ भन्ने चेतनाको विकास हुन्छ जुन आफैंमा तनावपूर्ण हुन्छ, भने स्क्रिनमा आफ्नो अनुहार देखिएको अवस्थामा अनुहारलाई नहेर्न तथा क्यामरा अगाडि मैले कसरी व्यवहार गरिरहेको छु भन्नेतर्फ सचेत नरहन पनि मानिसलाई गाह्रो हुन्छ।’

 कल्पना गर्नुस् तपाईं एउटा चिया पसलमा जानुभयो र त्यही पसलमा आफ्नो शिक्षक, अभिभावक र प्रेमिकालाई भेट्नुभयो भने यो वास्तवमै अनौठो घटना हुँदैन र?   हो, हाल त्यस्तै भइरहेको छ। हामी चिन्ता र दुविधा सिर्जना गराउनसक्ने गरी एक मात्र स्थानमा सीमित भएका छौं र बाहिरी संसारतिर चियाउन हामीसँग उपलब्ध एउटै आँखीझ्याल भनेको कम्प्युटरको स्क्रिनमात्रै हो।

हालको परिस्थितिले यसमा कस्तो योगदान पुर्‍याइरहेको छ?

माथि उल्लेखित तत्व वा पक्षहरू मात्र जुम भिडियो च्याटको थकाइको कारण होइनन्। हालको लकडाउन वा क्वारेन्टाइन वा वर्क फ्रम होम अथवा अन्य नयाँ दैनिकी लगायतले पनि यसमा उर्जा थपेका छन्।

पेट्रिग्लेरीका अनुसार भिडियो कलको प्रयोग गर्न हामीले महसुस गरेको बाध्यताको भावनाले पनि सोमा योगदान गर्दछ।

‘भिडियो कलले अस्थायी समयको लागि भए तापनि हामीले आफ्नो चिनजानका मानिसलाई गुमाएको जनाउ दिन्छ। अझ आफ्ना सहकर्मीहरूलाई अनलाइन देख्दा हामी यतिबेला कार्यालयमा सँगै हुनुपर्ने भन्ने सोच पलाउँछ,’ उनी भन्छन्, ‘मैले के पाएको छु भने हामी सबै हैरान भइसक्यौं। चाहे अन्तरमुखी हौं वा बहिर्मुखी, हालको लकडाउनको समयमा हामीले हाम्रो सुपरिचित वातावरण भंग भएको महसुस गरिरहेका छौं।’

काम, परिवार, साथी-संगतीलगायत जीवनको अलग–अलग पाटोहरू अहिले सबै एकै ठाउँमा आएर गोलमटोल भएर बसेको छन्। परिस्थिति अनुसारको सामाजिक भूमिका, सम्बन्ध, क्रियाकलाप तथा लक्ष्यसहितको मानिसको जीवनको विविध पक्षहरू हुने र यस विविधता स्वस्थ जीवनको लागि आवश्यक हुने भन्दै यस्तो विविध आयाममा कटौती आउँदा उनीहरूले खतराको महसुस गर्ने तथा नकारात्मक सोचको विकास गर्ने पेट्रिग्लेरी बताउँछन्।

‘हाम्रो विभिन्न सामाजिक भूमिका विभिन्न स्थान तथा वातारणअनुसार तय हुन्छन् तर हाल यस्तो स्थान वा वातावरणहरु भंग भएका छन्,’ उनी अगाडि थप्छन्, ‘कल्पना गर्नुस् तपाईं एउटा चिया पसलमा जानुभयो र त्यही पसलमा आफ्नो शिक्षक, अभिभावक र प्रेमिकालाई भेट्नुभयो भने यो वास्तवमै अनौठो घटना हुँदैन र?  हो, हाल त्यस्तै भइरहेको छ। हामी चिन्ता र दुविधा सिर्जना गराउनसक्ने गरी एक मात्र स्थानमा सीमित भएका छौं र बाहिरी संसारतिर चियाउन हामीसँग उपलब्ध  एउटै  आँखीझ्याल  भनेको  कम्प्युटरको  स्क्रिनमात्रै  हो।’

सफ्लरका अनुसार काम वा परिवारप्रतिको प्रतिवद्धता पूरा गरेपश्चात् हामीलाई उपलब्ध हुने थकान मार्ने समयको अभावले हामीलाई थप तनावपूर्ण बनाइरहेको छ भने अर्थतन्त्र, बेतलबी बिदा र जागिरको कटौती लगायतको चिन्ताको कारण कैयौं मानिसको मानसिक बोझ थप भएको छ।

‘कैयौंले त जागिर गुम्नसक्ने डरका कारण मैले हदैसम्मको कार्यसम्पादन प्रस्तुत गनुपर्छ भन्ने खालको अर्को अचेत दबाबलाई मलजल गरिरहेका छन्,’ उनी अगाडि बताउँछिन्।

तर, मैले त उदाहरणको लागि साथीहरूसँग जुममार्फत सञ्चार गरिरहेको छु। यसले मलाई सहज बनाउनुपर्ने होइन र?

चाहे खाना बनाउन होस् वा इष्टर पर्वको बेलुकीको खाना भर्चुअल रुपमा सबै जना मिलेर सँगै खान होस् वा कोही साथीको लागि जन्मदिनको भोज आयोजना गर्न नै किन नहोस्, हामीले जीवनमै पहिलोपटक ठूलो जमातका मानिससँग अनलाईन च्याट गरिरहेका छौं। यदि यो रमाइलोको लागि थियो भने हामीले किन थकान महसुस गरिरहेका छौं त?

‘तपाईं भर्चुअल च्याटमा सहभागी भइरहनुभएको छ किनकि तपाईँ यसमा सहभागी हुन इच्छुक हुनुहुन्छ वा सहकर्मीहरूसँग भर्चुअल रुपमा खुसीको पल साटासाट गर्नको लागि सहभागी हुनैपर्छ भन्ने सोच्नुहुन्छ,’ सफ्लर भन्छिन्, ‘यदि तपाईं सहभागी हुनैपर्छ भनेर सोच्नुहुन्छ भने यो कामबाट केही क्षणको लागि लिने विश्रामको उल्टो हुन्छ र तपाईं झन् धेरै समय अनलाइन बिताउनु हुन्छ।’

उनका अनुसार साथीभाइहरूसँगको आफ्नो असली स्वरुपसहितको उपयुक्त च्याटका कारण तपाईँले अलि बढी सामाजिक भएको सोच्नसक्नुहुन्छ भने जुम थकाइलाई पनि कम गर्न सक्नुहुन्छ।

मानिसहरूको हालखबर तथा सुस्वाथ्यबारे बुझ्न केही समय खर्चनुहोस्। यसले तपाईंलाई संसारसँग जोड्न, आपसी विश्वास बढाउन र थकान कम गर्न मद्दत गर्दछ

तर, ठूलो समूहमा गरिने च्याटमा तपाईंले सम्पादनमा बढी जोड दिनुहुन्छ, पेट्रिग्लेरी सचेत गराउँछन्। मानिसहरु टिभी हेर्न रुचाउँछन् किनकि टिभी हेराइले उनीहरूको दिमागलाई विभिन्न विषयमा घुम्न मद्दत गर्छ तर ठूलो समूहको च्याट ‘तपाईं टिभी हेर्दै हुनुहुन्छ र टिभीले तपाईंलाई हेरिरहेको छ’ जस्तै हो। उनका अनुसार ठूलो समूहको च्याटले मानिसको ‘अमानवीयकरण’ गर्दछ किनकि यसले व्यक्तिको रुपमा मानिसहरूको शक्लिाई कम गराउँदछ।

त्यसैले, फुर्सतको समय भनेर नाम दिइए तापनि यस्तो च्याट वास्तवमै फुर्सदिलो बन्दैन भन्दै उनी थप्छन्, ‘खुसी साट्ने क्षण वा बैठक भने पनि हामीमध्ये अधिकांशले यसलाई कामको लागि प्रयोग गरिरहेका हुन्छौं।’

त्यसोभए जुम भिडियो च्याटको थकानलाई कसरी कम गर्न सकिन्छ त?

यी दुबै विज्ञले आवश्यकताको बेलामा मात्रै प्रयोग गरी भिडियो कलको अवधिलाई सीमित गर्ने सुझाव दिएका छन्। उनीहरूका अनुसार क्यामराको प्रयोगलाई वैकल्पिक बनाउन सकिन्छ किनकि हरेक बैठकमा आफ्नो अनुहार देखाउन जरुरी पर्दैन। ‘क्यामराको प्रयोगविनाको भिडियो कलले तपाईंलाई म अर्को कोठामा छु भन्ने भान दिन्छ र त्यो त्यति थकानयुक्त हुँदैन,’ पेट्रिग्लेरी सुझाउँछन्।

उता सफ्लर भिडियो च्याट सबैभन्दा सशक्त विकल्प हो कि हैन भन्ने कुरालाई निर्क्यौल गर्दै यसको प्रयोग गनुपर्ने बताउँछिन्। उनको अनुसार टिपोटसहितको दस्तावेज बाँडफाँडले पनि कहिलेकाहीँ भिडियो च्याटको आवश्यकताको पूर्ति गराउन सक्छ। यसैगरी, कामको विषयमा प्रवेश गर्नुपूर्व एक–अर्काको हालचाल सोध्न र एक–अर्काप्रति सहानुभूति देखाउन पनि उनले सुझाव दिएकी छिन्।

‘मानिसहरूको हालखबर तथा सुस्वाथ्यबारे बुझ्न केही समय खर्चनुहोस्। यसले तपाईंलाई संसारसँग जोड्न, आपसी विश्वास बढाउन र थकान कम गर्न मद्दत गर्दछ,’ उनी सल्लाह दिन्छिन्।

यसबाहेक विज्ञहरूले भिडियो बैठकभन्दा अघि हल्का शारीरिक व्यायाम गर्न तथा पानी पिउन पनि सुझाएका छन्। ‘जुममा भिडियो संचार गर्नुभन्दा आफ्ना साथीहरूलाई चिठी पठाउनुहोस् र उनीहरूको बारे सकारात्मक सरोकार देखाउनुहोस्,’ पेट्रिग्लेरी सुझाउँछन्।

(अनुवादित सामग्री)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय