दिल्लीबाट पर्सा फर्केका चारै युवामा कोरोना संक्रमण

बुधबार पर्सा र बारामा भेटिएका तीन कोरोना संक्रमित दिल्लीबाट फर्केका मुस्लिम समुदायका युवा हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरू सबै फागुन २३ गते दिल्ली गएर फागुन २८ गते नेपाल आएका थिए। दिल्लीमा भएकाे तबलिगी जमाति भेलामा सहभागी भएर चारजना नेपाली युवा नेपाल आएका थिए।

तीमध्ये एक जनालाई केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि प्रहरीले ती युवाको कन्ट्याक्ट ट्रेसिङ थालेको थियो।

उनको प्रत्यक्ष सम्पर्कमा तीन जना देखिएका थिए। त्यो समूहमध्ये बाँकी तीन जना युवाको स्वाब परीक्षण गर्न नारायणी उपक्षेत्रीय अस्पताल पठाइएको थियो। उनीहरू सबैको स्वाब पोजेटिभ देखिएको हो। तर, स्वास्थ्य मन्त्रालयले आधिकारिक पुष्टि गरिसकेको छैन। प्रहरीले उनीहरू यो बीचमा कहाँ-कहाँ हिँडेका थिए कन्ट्याक्ट ट्रेसिङ गरेको छ।

दिल्लीमा भएकाे तबलिगी जमाति भेलामा सहभागी भएर चार जना नेपाली युवाहरू नेपाल आएका थिए।

बुधबार पुष्टि भएकामध्ये एक वीरगन्ज-२ छपकैयाका हुन्। यसअघि वीरगन्ज-१६ का युवालाई कोरोना पुष्टि भएको थियो। उनी पर्साको नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा छन्। अहिले देखिएका छपकैयाका युवाको घरमा सात जनाको परिवार छ। उता, १६ नम्बर वडामा देखिएका युवाको पनि सात जनाकै परिवार छ।

‘त्यो परिवारसँग भेटघाट तथा सम्पर्कमा रहेका व्यक्तिहरू अन्य १३ जना रहेको बुझिएपछि उनीहरूको नमूना परीक्षणमा पठाइएको छ,’ अस्पताललाई उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो। यस्तै, अरू दुई युवा बाराको जितपुर सिमरा-७ र १९ का युवा छन्। सिमरा-१९ मा बस्ने युवा स्थानीय मदरसामा पढाउँथे।

सिमरा-१९ मा बसिरहेका युवाको घर सिम्रनगढ हो। उनी त्यहाँ एक्लै बसिरहेको खुलेको छ। इलाका प्रहरी कार्यालय सिमराका अनुसार अर्का युवाको घरमा चार जना परिवार छन्। उनी भने घुमफिर गरिरहेको बुझिएको छ। दिल्लीबाट सप्तरी हुँदै पर्सामा पुगेका तीन भारतीयमा यसअघि नै कोरोना संक्रमण देखिएको थियो। बारामा देखिएको भने पहिलोपटक हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय