कोरोना संक्रमित भेटिएपछि रौतहटका दुई गाँउ ‘सिल’

कोरोना संक्रमित भेटिएपछि रौतहटको दुई गाँउ सिल गरिएको छ। टेकुस्थित राष्ट्रिय प्रयोगशालाको परीक्षणमा मंगलबार दुईजना कोरोना संक्रमित रहेको पुष्टि भएपछि स्थानीय प्रशासनले रौतहटको वृन्दावन नगरपालिका–१ भुसाहा र देवाही गोनाही नगरपालिका–१ को नहरटोल सिल गरेको हो।

दुई गाउँ सील गरेसँगै स्थानीय प्रशासनले आवतजावतमा पूर्ण प्रतिबन्ध लगाएको छ । सिल गरिएको इलाकबाट कुनैपनि व्यक्ति बाहिर निस्कने र अन्यत्रबाट प्रवेश गरेका कडा कारबाही गरिने जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख छ।

वृन्दावन नगरपालिका–९ भुसाहाको दक्षिणमा भिम डाबर गाउँ, उत्तरमा आकरपाथर गाउँ पश्चिममा बहुअरी र बरगजवा गाउँ र पूर्वमा विर्ता गाउँको चार किल्लाभित्र रहेका गाउँहरु सील गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

यसैगरी देवाही गोनाही नगरपालिका–१ नहरटोल पूर्वमा कन्जुल मस्जिद, पश्चिममा लाल बकैया नदीको नहर, दक्षिणमा नहर (मन) र उत्तरमा खेसरहिया गाँउभित्रको इलाका सील गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

रौतहटको वृन्दावन नगरपालिका–१ भुसहाका २५ वर्षीय पुरुष र देवाही गोनाही नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा मंगलबार कोरोना पुष्टि भएको छ ।

यसअघि प्रादेशिक अस्पताल जनकपुरस्थित प्रयोगशालाको परीक्षणमा दुबैजनामा निगेटिभ नतिजा देखिएको थियो ।

मंगलबार कोरोना संक्रमित देखिएका दुबैजना बस्ने इलाका ‘मास स्क्रिनिङ’ गरी नतिजा नआएसम्म सील गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

राष्ट्रिय प्रयोगशाला टेकुमा पोजिटिभ देखिएका भुसहा घर भएका व्यक्ति १० दिनदेखि घर परिवारमा बसेर घुमफिर गर्दै आइरहेका थिए ।

यसैगरी कोरोना संक्रमित देखिएका देवाही गोनाही बस्ने हाल क्वारेन्टाइनमा रहेपनि यसअघि घरपरिवार एवं ससुराली बसेका थिए ।

संक्रमण भेटिएका २५ वर्षीय पुरुष भारतको कोलकत्ताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए ।

प्रादेशिक अस्पताल जनकपुरस्थित प्रयोगशालाको परीक्षणमा निगेटिभ देखिएका मध्ये हालसम्म तीनजनाको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पोजिटिभ नतिजा आएको छ ।

यसअघि सर्लाहीका एक बालकसमेत कोरोना संक्रमित देखिएपछि प्रादेशिक अस्पताल जनकपुरमा कोरोना परीक्षण बन्द भएको छ ।

प्रादेशिक प्रयोगशालामा परीक्षण भएका १०१ जनाको स्वाब पुनः परीक्षणको लागि टेकु पठाइएको निमित्त निर्देशक रामविनय साहले बताए ।

टेकु पठाइएको १०१ स्वाब मध्ये ३४ जनाको नतिजा आइसकेको जसमा तीनजना कोरोना संक्रमित रहेको पुष्टि भएको उनले जानकारी दिए ।

प्रादेशिक अस्पतालमा परीक्षण भएर पुनः परीक्षणको लागि टेकु पठाइएको मध्ये ६७ जनाको नतिजा आउन बाँकी रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय