जनकपुरधाम उपमहानगरले बाँडेको राहतमा ‘सडेको’ चामल

जनकपुरधाम उपमहानगरपालिकाले ‘लकडाउन’ का कारण प्रभावित विपन्नलाई बाँडेको राहतमा कुहिएको र सडेको चामल भेटिएको छ ।

जनकपुरधाम-१६ मा उपमहानगरले कुहिएको चामल पठाएर वितरण गर्न लगाएको राहत लिएकाले आरोप लगाएका छन् । कोरोना रोकथाम गर्न अहिले पाँचौं चरणको ‘लकडाउन’ छ । तर, उपमहानगरपालिकाले आइतबारदेखि बल्ल पहिलो चरणको राहत वितरण कार्यक्रम सुरु गरेको छ।

प्रदेश सरकारले उपलब्ध गराएको २० लाख रुपैयाँ र आफ्नै विपद व्यवस्थापन कोषबाट समेत निकासा गरेर उपमहानगरपालिकाले राहत वितरण सुरु गरेको हो । उपमहानगरले वडा नम्बर १६ मा राहत वितरण गर्दा चामल सडेको र ढुसी परेको पाइएको छ । चौतर्फी दबाब बढेपछि उपमहानगरले राहत वितरण सुरु गरे पनि गुणस्तरहीन खाद्य सामग्री वितरण गरेको भन्दै स्थानीयवासी आक्रोसित छन् ।

सडेको चामल वितरण गरेर बेइज्जत गर्नुभन्दा राहत वितरण नगर्दा बेस हुने उनीहरूले बताएका छन् ।

‘लकडाउन’ यता झन्डै एक महिनापछि वितरण गरिएको राहतमा सडेको चामल पाएपछि विपन्नमा झन आहत पुगेको छ । स्थानीय रामचन्द्र ठाकुरले राहतमा पाएको पोको घर पुगेर खोल्दा ढुसी परेको चामल देखेको बताए। राहतका नाममा सडेको चामल नदिँदा ठीक हुने उनको भनाइ छ ।

अर्की स्थानीय रामा ठाकुरले सडेको चामल देखेपछि राहत वितरणस्थल पुगेर पोका नै फर्काइदिएको बताइन् ।

जनकपुरमा चामल नपाइएको भन्दै उपमहानगरले विराटनगरबाट चामल खरिद गरेर ल्याएको छ । प्रत्येक गरिब तथा विपन्न परिवारलाई १५ किलो चामल उपमहानगरले वितरण गर्ने निर्णय गरेको छ । वडा नम्बर १६ का वडाध्यक्ष रामाआशिष पञ्जियारले राहतमा वितरण गरिने चामलको पोका विराटनगरबाटै तयार भएर आएको बताए।

विराटनगरबाटै चामलको पोका तयार भएर आएकाले यसमा उपमहानगरपालिकाको कुनै गल्ती नरहेको उनको दाबी छ । सोमबार २ सय ३९ जनालाई राहत वितरण गरिएकोमा दुईजनामा यस्तो समस्या देखिएको पञ्जियारले बताए । चैत २२ मा बसेको उपमहानगरको बोर्ड बैठकले सबै आ–आफ्नो वडाका विपन्नको तथ्यांक संकलन गरेर कार्यालयमा बुझाउन वडाध्यक्षहरूलाई निर्देशन दिइएको थियो । उपमहानगरका २५ वटै वडाका वडाध्यक्षले बुझाएको तथ्यांकअनुसार करिब १८ हजार घरधुरीमा राहत वितरण गर्नुपर्ने छ ।

बोर्ड बैठकले प्रत्येक परिवारलाई ३० किलो चामल, तीन किलो दाल, एक लिटर तेल र दुई किलो नुनलगायत सामग्री वितरण गर्ने निर्णय गरेको थियो । उपमहानगरले पहिलो चरणमा १२ वडाका ७ हजार ६ सय परिवारका लागि राहत पठाएको छ । पहिलो चरणमा वडा नम्बर २, ३, ४, ५, ६, ८, ११, १४, १६, १७, १८ र २१ मा राहत पठाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय