लकडाउनले सुदूरपश्चिमको कृषि क्षेत्र चौपट

कोरोना भाइरस संक्रमण महामारीबाट बच्न सरकारले गएको चैत ११ बाट लकडाउन गरेको छ।

यसको प्रत्यक्ष मार कृषि क्षेत्रमा पर्नु स्वाभाविक हो। त्यसमाथि सुदूरपश्चिम प्रदेशको कृषि क्षेत्रमा लकडाउनको गम्भीर प्रभाव पर्ने निश्चित भएको छ।

महामारीसँगै लकडाउनका कारण सुदूरका किसान चिन्तित छ्न्।

बाली भित्र्याउने समयमा महामारी फैलिएको र यसको नियन्त्रण तथा न्यूनीकरणका लागि गरिएको लकडाउनले किसानलाई काम गर्न र बाली भित्र्याउन कामदार पाउनसमेत गाह्रो भएको छ।

सरकारले कृषिलगायत अतिआवश्यक वस्तु ओसारपसारमा रोक नलगाए पनि परिस्थिति सहज छैन।

कैलालीको धनगढी– ६ फूलबारीका किसान सर्जन चौधरीले लकडाउनका कारण बाली भित्र्याउन समस्या भएको र दैनिक ज्यालादारी गरी गुजारा गर्ने किसान मारमा परेको गुनासो गरे। गहुँ भित्र्याउने समयमा लकडाउनले कामदार पाउन गाह्रो भएको र उब्जनीसमेत अन्य सालभन्दा कम भएको उनले बताए।

‘जेनतेन गरी बाली त भित्र्यायौं। अब धानको बिउ छर्ने बेला आउँदैछ, बिउ खोज्न किसानले बजार चहार्नुपर्छ,’ दुई बिघा जमिन रहेका चौधरीले भने, ‘ मलखादको जोहो गर्ने बेला आइसकेको छ। लकडाउन कहिले खुल्छ थाहा छैन। मल पाउने वा नपाउने चिन्ता छ।’

उनको अन्य रोजगारी छैन। त्यही खेतीपातीबाट वर्षभर गुजारा चलाउनुपर्छ। बाली भित्र्याएपछि वर्षभर पुग्ने गरी आफूलाई राखी बचेको बाली बेचेर घर खर्च चलाउँछन्। उब्जाएको यही अन्न बेचेर बालबालिकाको पढाइ, स्वास्थ्योपचार, घर खर्च सबै धान्छन। तर, लकडाउनका कारण बाली बेच्न नपाएकाले आर्थिक समस्या आएको उनले बताए।

‘त्यसमाथि बन्दका कारण मलखाद पाउन समस्या हुन्छ कि भन्ने पिर पर्न थालेको छ,’ उनी भन्छन्। खेतीकिसानी गरेरै आठजनाको परिवार पाल्छन् उनी।लकडाउनले आफूजस्ता सामान्य किसान समस्यामा परेको बताउँदै उनले जग्गाजमिन नभएका र बिहान काम गरी साँझ हातमुख जोड्नेलाई लकडाउनले बिचल्लीमा पारेको जानकारी दिए।

‘धानका लागि बिउ छर्ने बेला भइरहेको छ। देश लकडाउनमा छ। बिउ अभाव हुन्छ भन्ने पिर एकातिर छ भने मलखाद नपाउने अर्को,’ रानाले भने।

चौधरी प्रतिनिधिपात्र मात्रै हुन्। उनीजस्ता हजारौं किसान समस्यामा छ्न्।

धनगढी गेटाका अर्का किसान प्रेमसागर रानाको पनि समस्या उस्तै छ। उनीसँग पाँच कठ्ठामात्रै जमिन छ। खानलाउन समस्या हुने भएकाले एक बिघा जमिन अधियाँ लिएका छन्। त्यही अधियाँ जग्गाबाट आएको बालीले नै उनको घरको चुल्हो बल्छ। खेती गर्नुबाहेक अन्य कुनै विकल्प छैन उनको। यही बालीबाटै घर खर्च चलाउनुका साथै वर्षभर खानुपर्ने उनले बताए।

‘बन्दका कारण भित्र्याइसकेको गहुँसमेत बेच्न पाएको छैन। घर खर्च चलाउन गाह्रो भएको छ,’ रानाले भने, ‘घरमा कोही बिरामी भयो भने पनि पैसा छैन।’

बाउबाजेले गर्दै आएको खेतीकिसानीबाहेक उनीसँग अन्य विकल्प छैन। जहिल्यै किसान मारमा पर्ने गरेको भन्दै रानाले सरकारले किसानको हकहितमा काम नगरेको गुनासो गरे।

‘धानका लागि बिउ छर्ने बेला भइरहेको छ। देश लकडाउनमा छ। बिउ अभाव हुन्छ भन्ने पिर एकातिर छ भने मलखाद नपाउने अर्को,’ रानाले भने।

सुदूरका अधिकांश सर्वसाधारण रोजिरोटीका लागि भारत पस्छन्। खेतीपातीबाट वर्षभर खान पुग्दैन। भारत नै रोजगारीको प्रमुख गन्तव्य हो। भारत नपसी हजारौंको चुल्हो बल्दैन। हजारौंलाई घर खर्च चलाउन परिवार पाल्न भारत जानैपर्छ। भारतमा कमाएको पैसाले नै घरपरिवार चलाउँछन्।

बझाङको बुङ्गल नगरपालिकाका मेयर धनबहादुर विष्टले लकडाउनको समय लम्बिए नगरपालिकामा खाद्यान्न अभाव हुने बताए। उनका अनुसार गाउँको उब्जनीले ६ महिना पनि खान पुग्दैन। सर्वसाधारण भारत तथा अन्य काम गरी खाद्यान्न जोहो गर्छन्। खाद्य सामग्री बाहिरबाटैआउँछ। लकडाउनको समय थप भए नगरपालिकामा खाद्यान्न अभाव हुने देखिएको छ।

लकडाउनको समय लम्बिएपछि बुङ्गल नगरपालिकामा मात्रै होइन, सुदूरका पहाडी जिल्लामा खाद्यान्न अभाव हुने देखिएको छ। पहाडी जिल्लामा उब्जनी कम हुने हुँदा धान, गहुँलगायत खाद्य सामग्री तराईबाट ढुवानी गर्ने गरिन्छ भने भारतका सीमा नजिकका गाउँमा भारतबाटै खाद्यान्न जोहो गरिन्छ।

तर, यतिबेला भारत लकडाउन गरिएको छ। सिमानाका सिल गरिएका छन्। सिमानाका बन्द भएकाले खाद्यान्न आयात गर्न समस्या भएको छ। बझाङकै अर्को गाउँपालिका खप्तड छान्नाले पनि लकडाउनको समय थपिए गाउँपालिकामा खाद्यान्न अभाव हुने जनाएको छ।

‘असिनापानीले बाली नष्ट गरेको छ। लकडाउनको समय अझै एक–दुई महिना रह्यो भने गाउँपालिकामा खाद्य सामग्री अभाव हुनेछ,’ खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष बर्कबहादुर रोकायले गुनासो गरे, ‘गाउँमा खेतियोग्य जमिन छैन। उब्जनी नहुँदा बाहिरको भर पर्नुपर्छ, समस्या आउने पक्का छ।’

त्यस्तै बाजुराका किसानका समस्या पनि उस्तै छन्। कामका लागि अधिकांश सर्वसाधारण भारत पस्छ्न। गाउँमा खेतीयोग्य जमिन छैन। खेतीपातीले पाँच–६ महिनाभन्दा बढी खान पुग्दैन।

‘असिनापानीले बाली नष्ट गरेको छ। लकडाउनको समय अझै एक–दुई महिना रह्यो भने गाउँपालिकामा खाद्य सामग्री अभाव हुनेछ,’

गत हप्ता परेको असिनापानीका कारण किसान झन समस्यामा छ्न्। ‘यसै त कम उब्जनी हुने त्यसमाथि असिनापानीले पाक्न लागेको गहुँबाली नष्ट गरेको छ,’ बाजुरा त्रिवेणी नगरपालिकाका उमेश विष्टले भने, ‘लकडाउनको समय लम्बिँदै जाने हो भने खाद्यान्न अभाव हुनेछ।’

गहुँ पाक्ने समयमा परेको असिनापानीले किसान तथा सर्वसाधारणमा थप भय सिर्जना भएको उनले बताए। यसरी एकातिर किसान तथा मजदुर लकडाउनका कारण समस्यामा छन् भने अर्कोतिर खाद्यान अभाव हुने शंका सर्वसाधारणले गरेका छन।

किसान तथा सर्वसाधारणका यस्ता समस्या तथा गुनासाबीच सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनितादेवी चौधरीले कृषिजन्यलगायत अन्य अतिआवश्यक सामग्री ओसारपसारमा रोक नलगाए पनि लकडाउनले केहीमात्रामा असर पारेको बताइन्।

चौधरीले प्रदेशमा खाद्यान्न अभाव हुन नदिन सबै जिल्लामा रहेका बाँझो जमिन परीक्षण गरी उब्जनी हुन सक्ने बाली लगाउन समन्वय भइरहेको जानकारी दिइन्।

‘किसानलाई कृषिमा आधारित अनुदान सहयोग गरी उत्पादनमा लाग्न प्रेरित गर्न सरकारले काम गरिरहेको छ,’ मन्त्री चौधरीले भनिन्, ‘जनतालाई खान नपाएर भौंतारिन दिन्नौं, खाद्यान्नको सहज आपूर्ति गर्छौं।’

किसानले बिउ तथा मलखादको अभाव रहेको गुनासो गरिरहेको अवस्थामा ती सामान अभाव हुन नदिन कृषिजन्य सामग्री पाइने पसल खुला गरिनुपर्नेबारे छलफल भइरहेको मन्त्री चौधरीले जानकारी दिइन्।

सुदूरपश्चिममा एक सिजनका लागि करिब ४ हजार ५ सय टन मलखाद आवश्यक पर्छ। लकडाउनका कारण मलखाद पाउने वा नपाउने चिन्ता सर्वसाधारणमा बढेको छ। ‘केही परिमाणमा मल प्रदेश सरकारसँग स्टक रहेको छ। मलखाद अभाव हुन नदिन वीरगन्ज तथा भैरहवाबाट पनि मगाउने प्रक्रियामा छौं,’ उनले भनिन्, ‘मलखादको व्यवस्था गर्न केन्द्र सरकारसँग समन्वय भइरहेको छ।’

लकडाउनले सुदूरमा मात्र नभई नेपालभर खाद्यान्न अभाव उत्पन्न हुन सक्ने भन्दै मन्त्री चौधरीले महामारी समयमा सबै मिलेर अघि बढ्नुपर्ने र तीनवटै सरकारको समन्वयमा मात्रै महामारीलाई जित्न सकिने बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय