कलकत्ताबाट आएकै दिन क्वारेन्टाइन पुर्‍याइएका रौतहटका युवा रिपोर्ट नेगेटिभ आएपछि घर फर्केका थिए

भारतबाट नेपाल छिरेका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

रौतहट बृन्दावन नगरपालिका-९ भुसाहा टोलका २४ वर्षीय युवा र देवाही गोनाही नगरपालिका-१ करुनीका ३५ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको हो।

दुवै मुस्लिम समुदायका हुन्। संक्रमितमध्ये एकजना १६ दिन क्वारेन्टाइन बसेर घर फर्किएका थिए।

उनीहरूको स्वाब संकलन गरी काठमाडौं पठाइएको थियो। टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले मंगलबार दुवैमा कोरोना संक्रमण पुष्टि गरेको हो।

रौतहट बृन्दावन नगरपालिका-९ का वडाध्यक्ष शेष नाजिरका अनुसार संक्रमित युवा चैत २२ गते कलकत्ताबाट नेपाल आएका थिए। उनी तीन महिना पहिले कलकत्ता गएका थिए।

विपन्न परिवारका उनी कलकत्तामा ब्याग बनाउने कारखानामा सिलाइकटाइको काम गर्थे। नेपाल आएकै दिन उनलाई चन्द्रपुरको क्वारेन्टाइनमा पठाइएको थियो।

नाजिरका अनुसार उनलाई त्यहाँ १६ दिनसम्म राखिएको थियो। यो बीचमा एकपटक जनकपुरमा पिसिआर टेस्ट गराउँदा नेगेटिभ आएको थियो।

कोरोना नदेखिएको रिपोर्ट आएपछि उनी वैशाख ६ गते घर फर्केका थिए।

दोस्रोपटक लिइएको स्वाब काठमाडौंमा परीक्षण गर्दा उनमा कोरोना देखिएको हो।

‘१६ दिन क्वारेन्टाइनमा राखेर परीक्षण गर्दा नेगेटिभ आएपछि हामीले घर फर्काएका थियौं,’ वडाध्यक्ष नाजिरले भने।

उनको परिवारमा आमा-बुवा, श्रीमती र दुई छोराछोरी छन्।

उनको घर हिन्दु र मुस्लिम बाहुल्य समुदायमा छ। भारतसँग सीमा जोडिएको यो नगरपालिका बोर्डरबाट ३५ किलोमिटर उत्तर छ।

घर फर्केपछि ‘स्वतन्त्र’ भएका उनका परिवारका सबै सदस्यको तत्काल परीक्षण गर्नुपर्ने भएको छ। ‘यो बीचमा परिवारका साथै अन्य कति जनासँग सम्पर्क भएको छ, हामी खोजी गरिरहेका छौं,’ वडाध्यक्ष नाजिरले भने।

‘दुई दिन घरमै रहँदा कति ओहोरदोहोर भयो भन्ने कुरा हामी खोजिरहेका छौं, परिवारकै १५ जनाको तत्काल परीक्षण आवश्यक देखिएको छ,’ लुरूलाहले भने।

देवाही गोनाही नगरपालिका-१ गोनाहीका ३५ वर्षीय युवा पनि दिल्लीबाट आएका थिए। उनी त्यहाँको ब्याग कारखानामा काम गर्थे।

उनी वैशाख ४ गते नेपाल प्रवेश गरेका थिए। उनी दुई दिन घरमै बसेका थिए।

वडाले यो खबर थाहा पाएपछि उनलाई देवाही गोनाही-९ को क्वारेन्टाइनमा राखेको थियो।

उनी अहिले पनि क्वारेन्टाइनमै छन्। क्वारेन्टाइनमा रहेकै बखत गरिएको परीक्षणमा कोरोना देखिएको हो।

वडाध्यक्ष बेख लुरूलाहका अनुसार पाँच दिनअघि चन्द्रनिगाहापुरबाट आएको स्वास्थ्यकर्मीको टोलीले स्वाब लिएर गएको थियो।

उनको घरमा पन्ध्र जनाको परिवार छ। मुस्लिम समुदायको बाक्लो बसोबास रहेको उक्त क्षेत्रमा त्यो परिवारसँग सम्बन्ध जोडिएका अन्य २० जना छन्। उनीहरूबीच ओहोरदोहोर बाक्लो हुने गर्थ्यो।

‘दुई दिन घरमै रहँदा कति ओहोरदोहोर भयो भन्ने कुरा हामी खोजिरहेका छौं, परिवारकै १५ जनाको तत्काल परीक्षण आवश्यक देखिएको छ,’ लुरूलाहले भने।

ती युवासँगै दिल्लीबाट आठ जना मुस्लिम युवा आएका थिए।

सोही समूहका सर्लाहीका अर्का एक युवामा यसअघि नै कोरोना संक्रमण देखिएको वडाध्यक्ष लुरूलाहले बताए।

मंगलबार संक्रमण पुष्टि भएका दुबै युवालाई वीरगन्ज लैजाने तयारी भइरहेको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्रप्रसाद पटेलले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय