कोरोना ‘अस्थायी’ अस्पतालमा भरतपुर महानगरको मनपरी खर्च

भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालका लागि अहिलेसम्म ७४ लाखभन्दा बढी खर्च भएको छ।

कर्मचारी तलब, इन्धन, कार्यालय सञ्चालन, सवारीसाधन मर्मत, सञ्चार महसुल, औषधी, खरिद, भवनको संरचनात्मक सुधारका लागि ७४ लाख ४४ हजार रुपैयाँ खर्च भएको हो।

कोरोना अस्पतालका अनुसार सबैभन्दा बढी खर्च औषधी तथा मेसिनरी औजार खरिद गर्दा भएको छ।

यसका लागि अहिलेसम्म ५२ लाख २८ हजार २ सय १० रुपैयाँ खर्च भएको भरतपुर महानगरपालिकाले जानकारी दिएको छ।

यो खर्च बजेटको सिलिङभन्दा बढी हो। यस शीर्षकअन्तर्गत ४५ लाखसम्म खर्च गर्न भनिएको थियो।

कार्यालय सञ्चालन खर्चमात्रै करिब १२ लाख

भरतपुर कोरोना अस्पतालको कार्यालय सञ्चालन खर्च करिब १२ लाख रुपैयाँ भएको छ। करिब एक महिनाको अवधिमा कर्मचारी तलब, इन्धन खर्च, सवारी मर्मत, सञ्चार महशुल, औषधी खरिदका खर्चबाहेक अस्पतालको कार्यालय सञ्चालन खर्चमात्रै ११ लाख ८६ हजार ८ सय २३ रुपैयाँ खर्च भएको हो। कार्यालय सञ्चालन खर्च शीर्षक छुट्याइए पनि कुन प्रयोजनमा खर्च भयो भनेर स्पष्ट पारिएको छैन।

सवारी साधन मर्मत र इन्धनमा एक लाख खर्च

कोरोना अस्पतालमा सवारी साधान र इन्धन खर्च एक लाख बराबरको भएको छ। सवारी साधान मर्मत र इन्धन प्रयोजनका लागि ९९ हजार ९ सय रुपैयाँ खर्च हुँदा कर्मचारीको तलबतर्फ १ लाख ५३ हजार ६ सय १२ मात्र खर्च भएको देखिन्छ।

कार्यालय सञ्चालनतर्फ ११ लाख ८६ हजार ८ सय २३, सञ्चार महशुल तर्फ २७ हजार ६ सय रुपैयाँ खर्च भएको भरतपुर महानगरपालिकाका लेखापाल फणिन्द्र प्रसाद खनालले जानकारी दिए। यसैगरी, निर्मित भवनको संरचनात्मक सुधारतर्फ १ लाख ४० हजार, फिर्निचरतर्फ २ लाख १३ हजारल ८ सय ८८ र विविध शीर्षकतर्फ ३ लाख ९५ हजार रुपैयाँ खर्च भएको खनालले बताए।

कोटेसनबिनै सामान खरिद

कोरोना विशेष अस्पतालले आपतकालीन परिस्थिति देखाएर कोटेसनबिनै सामान खरिद गरेको छ।

एकदेखि पाँच लाखसम्मका सामानहरू खरिद गर्दा कोटेसनका आधारमा सामान खरिद गर्नुपर्ने भए पनि कोटेशनबिना नै सामान खरिद गरेका छन्।

२० लाखसम्मको औषधी खरिद गर्दा कोटेसन निकाल्न नपर्ने भरतपुर महानगरपालिकाका लेखापाल खनालले दावी गरे।

तर, ५ लाख भन्दा माथिको सामान खरिद गर्दा कोटेसनका आधारमा खरिद गर्नुपर्ने सार्वजनिक खरिद ऐनमा स्पष्ट उल्लेख गरिएको छ।

१३ लाखसम्मको पिपिई एउटै कम्पनीबाट खरिद गरिएको छ। १६ दिनको बीचमा अस्पतालले ७ सय वटा पिपिई खरिद गरेको जनाएको छ।

समृद्धि गार्मोन्ट प्रालिबाट ३ सय, मेडिलाईन इक्यूपमेन्ट सर्भिसबाट २ सय, नेशनल सर्जिकल हाउसबाट १ सय ४० वटा खरिद गरिएको छ।

प्रत्येक कम्पनीबाट फरक-फरक मूल्यमा पिपिई खरिद गरिएको छ।  २७ लाख ९० हजार रुपैयाँको पिपिई खरिद भएको छ । त्यस्तै, दुई लाख ३० हजार ९ सय रुपैयाँको मास्क खरिद भएको अस्पतालले जानकारी दिएको छ।

मास्क र पिपिई वितरणमा मनपरी

कोरोना अस्पतालमा आएका बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि विभिन्न संघ संस्थाले ३ सय ८५ वटा पिपिई सहयोग गरेका छन्। त्यस्तै, एन-९५ मास्क ५सय ५०, र १२ हजार ३ सय वटा सर्जिक मास्क सहयोग गरेको देखिन्छ। कोरोना अस्पतालमा आएका पिपिई र एन-९५ मास्क व्यक्ति र निजी अस्पतालमा वितरण गरिएको छ।

चितवन मेडिकल कलेज, चितवन मेडिकल साइन्सेसमा ५०/५० निजी अस्पताल(अफिन)लाई ६० वटा पिपिई दिइएको छ। त्यस्तै, एन-९५ मास्क डाक्टर अनिल विक्रम कार्की र सञ्जय बरालले ५०/५० वटा व्यक्तिगत रुपमा लगेको देखिन्छ। तर, भरतपुर कोरोना अस्पतालमा काम गर्ने चिकित्सकहरू व्यवस्थापन राम्रो नहुँदा दुई जनाले राजीनामा दिएका छन् ।

चैत २३ गतेदेखि कोरोना अस्पताल भरतपुर अस्पतालबाट सञ्चालित छ। सो समयमा कोरोना अस्पतालले भरतपुर अस्पताललाई त्यहाँ भएका सामानहरू हस्तान्तरण गरेको थियो। १६ दिनको अवधिमा विभिन्न संघ-संस्थालाई ७ सय ३५ वटा पिपिई वितरण गरेको छ। १ हजार ८५ वटा पिपिइमध्ये ३ सय ५० वटा मात्र भरतपुर अस्पतालाई हस्तान्तरण भएको देखिन्छ। निजी अस्पताल, रेडक्रस, एम्बुलेन्स चालक, सुरक्षाकर्मी, भरतपुर महानगरपालिका लगायतलाई पिपिई उपलब्ध गराइएको छ।

कोरोना विशेष अस्थायी अस्पतालले चैत्र ७ गतेदेखि औपचारिक रुपमा सेवा सुरू गरेको हो। अस्पताल सञ्चालन गर्नका लागि वाग्मती प्रदेश सरकारले एक करोड रुपैयाँ सहयोग गरेको छ। अहिलेसम्मको खर्च सोही बजेटको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय