पाेखरामा राहत-किचलो : नपाएपछि वडा र नगरपालिका घेराउ

पोखरामा राहत बाँड्ने विषय पहिलो दिनबाटै विवादित हुँदै आएको छ । राहतका लागि फारम भर्दा अनेकथरि कागजात चाहिने भनिएपछि महानगरको चर्को आलोचना भयो । पहिचान खुल्ने कागजात भए हुने भन्दै त्यो विवाद सल्टाइयो । फारम भर्न हुनेखाने पनि लाइन बसे । वडा तहबाट जेनतेन विपन्न परिवार छनोट गरेर महानगरमा पठाइयो । तर, अहिले फेरि राहत नपाएको भन्दै सर्वसाधरण सडकमा उत्रिएका छन् ।

पोखरा–९ कृष्ण टोलका स्थानीयले आइतबार वडा कार्यालय घेराउ गरे । वडाध्यक्षले आश्वासन दिएर घर फिर्ता पठाएको भोलिपल्ट सोमबार उनीहरु महानगरको कार्यालय पुगेका हुन् । महानगर अगाडि प्रदर्शन गर्दागर्दै प्रहरीले त्यहाँबाट उनीहरुलाई हटायो । राहत माग्न महानगर पुग्नेको भीडमा भेटिइन् मनकुमारी परियार ।

उनका श्रीमान् घरबाट भित्रबाहिर गर्न सक्दैनन् । उनीसँगै भेटिएकी पवित्रा परियारले एकपटक पनि राहत पाएकी छैनन् । बालुवा चालेर जीविका चलाउने गरेकी उनी लकडाउन पछि घरमै छन् । चिनजान भएकालाई मोटरसाइकलमा बोकेर घरघरमै र्पुयाएको तर आफ्नो समस्या कसैले नबुझेको उनले सुनाइन् ।

घरमा भएको रासन सकिन लागेपछि बाध्य भएर कार्यालय घेराउ गर्न परेको पवित्राले बताइन् । ‘अहिलेसम्म कत्ति पनि राहत पाएको छैन । भएको रासन डेढ महिनामा खाइयो,’ उनले भनिन्, ‘भइन्जेल त्यसैले पुग्यो, नभएपछि कराउन पर्‍यो। राहत माग्दा वडाध्यक्षले भोलि आउँछ भने तर त्यस्ता भोलि कति गए गए ।’

चुनावताका उम्मेदवारको लाम लाग्ने गरेको पोखराको सुकुम्बासी वस्तीका झन्डै डेढ सयभन्दा बढी महानगरको कार्यालय पुगेका हुन् । पोखरा बसपार्कका सुकुम्बासी चुनावको नतिजाका मुख्य गोटी हुन् ।

‘अहिलेसम्म कत्ति पनि राहत पाएको छैन । भएको रासन डेढ महिनामा खाइयो,’ उनले भनिन्, ‘भइन्जेल त्यसैले पुग्यो, नभएपछि कराउन पर्‍यो। राहत माग्दा वडाध्यक्षले भोलि आउँछ भने तर त्यस्ता भोलि कति गए गए ।’

चुनावमा उनीहरुको मत मुख्य चासो बन्ने गरेको छ । उनीहरुको मत तान्न दलका नेताहरुले आश्वासन कति देखाए कति ! यस्ता चुनाव कति आए गए । तर उनीहरुको जीवनशैली रतिभर फेरिएको छैन । बरु उनीहरुलाई सपना देखाउने नेताहरुले भने आआफ्नो गतिलै प्रबन्ध गरेका छन् ।

हरेक चुनावमा आश्वासन मात्रै पाएका उनीहरु राहत माग्न काखे बालकसहित सडकमा उत्रिएका छन् । महानगरले उपलब्ध गराएको तथ्यांकमा उक्त वडाका ६ सय ८८ जनालाई राहत बाँडिएको उल्लेख छ । त्यसमध्ये ३ जनासम्म सदस्य भएको परिवारको संख्या २ सय ९६ र सोभन्दा बढी सदस्य भएकाको संख्या ३ सय ९२ छ ।

अरुले उक्साएको संकेत पाएका छौं – वडाध्यक्ष लामिछाने

टोलका बासिन्दा राहत नपाएको भन्दै वडा कार्यालय र महानगर पुगिरहँदा वडाध्यक्ष रामराज लामिछाने भने पटकपटक गरेर १ सय ४६ जनाले राहत पाइसकेको बताउँछन् । कसैले २र३ पटकसम्म राहत लिएको र पाउनुपर्ने कोही छुटेको उनले स्वीकार गरे । ‘टोलमा सबै गरेर १ सय ९४ घरधुरी छन् । त्यसमध्ये महानगरबाट राहत पाउने ५१ जना हो,’ वडाध्यक्ष लामिछानेले भने, ‘कोही दिनै नपर्नेले पाएको र कोही छुट्नु भएको साँचो हो ।’

राहत पाउन छुटेका ६६ जनाले निवेदन बुझाएको र मंगलबार उनीहरुलाई राहत वितरण गरिने उनले बताए । महानगरले दिने भनेको राहतका लागि १९ सय ४५ जनाले फारम भरेकोमा टोल विकास संस्थामार्फत ६ सय ८८ जनालाई वितरण गरिएको उनले जानकारी दिए ।

राहतका विषयलाई लिएर राजनीतिक दलले उक्साएको संकेत पाएको उनले सुनाए । ‘नदेखी भन्न मिल्दैन तर हामीले त्यस्तो संकेत नपाएको भने होइन । अरुले उचाल्दिने प्रवृत्ति छ ।’ उनले भने । राहत पाउन छुटेका ९ सय १५ जनाको सूची महानगरलाई बुझाएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय