निजी प्रयोगशालाले पनि अब कोरोना परीक्षण गर्न पाउने

सरकारले निजी क्षेत्रलाई पनि कोरोना भाइरस परीक्षण गर्न दिने भएको छ।

लामाे समयदेखि भाइरस परीक्षण विस्तारको आवाज उठ्दै आए पनि सेवा विस्तारमा सुस्त देखिएको सरकारले पछिल्लोपटक यस्तो तयारी गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

केही दिनअघि मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना जाँचको क्षमता भएका र पूर्वाधार पुगेका प्रयोगशालासँग आवेदन माग गरेको थियो ।

जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षितले सरकारले विभिन्न मापदण्ड तय गरेर क्षमता भएका नीजि क्षेत्रका प्रयोगशालालाई पनि परीक्षण खोल्नु सकारात्मक भएको बताए ।

उनले आफूले पनि विभिन्न चरणमा मन्त्रालयमा भएका छलफलमा यस्तो सुझाब दिएको सुनाए ।

डा. दीक्षितले अहिलेको सरकारको योजना पूर्ण रुपमा खोल्ने भन्दा पनि आफूले नभ्याएको अवस्थामा मात्रै नीजिलाई दिने रहेको बुझेको सुनाए‍।

परीक्षणलाई बढाउन सरकारले मापदण्ड बनाएर नीजिलाई पनि अनुमति दिनुपर्ने विज्ञहरु बताउँछन् ।

अहिलेको सन्दर्भमा र्यापिड टेष्टभन्दा पिसिआर प्रविधिलाई बढाउनुपर्छ ।  अहिले उपत्यकाभित्र मात्रै पनि नीजि क्षेत्रका २० भन्दा बढी अस्पताल र प्रयोगशालासँग त्यो क्षमता छ ।

अहिलेको अवस्थामा नमूना संकलन, प्रेषण, व्यवस्थापन र रिपोर्टिङको प्रणाली बनाएर नीजि क्षेत्रलाई पनि खुल्ला गर्नुपर्ने र आशंका लागेकाहरुले आफ्नो अवस्थाको परीक्षण गर्न सहज अवस्था सृजना गरिनुपर्ने विज्ञहरु बताउँछन् ।

सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालाबाट कोरोना भाइसको पीसीआर परीक्षण सुरु गरेको छ ।

यो सँगै देशभरका १६ स्थानबाट कोरोना भाइरसको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, पाटन अस्पतालमा कोरोनाको परीक्षण हुँदै आएको छ ।

जनकपुर प्रादेशिक अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा, धुलिखेल अस्पतालमा परीक्षण हुँदै आएको छ ।

त्यसैगरी, राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र भैरहवा, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर र भरतपुर डायग्नोष्टिक प्रयोगशाला, भेरी अस्पताल नेपालगञ्जमा परीक्षण भइरहेको छ ।

डा. देवकोटाका अनुसार अब निजि अस्पतालका प्रयोगशालाले मन्त्रालयको अनुमति लिएर कोरोनाको परीक्षण गर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय