कोरोनासँग जुध्न अझै ‘तयार’ छैन प्रदेश २

नारायणी अस्पताल वीरगन्जबाट आइतबार डिस्चार्ज भएकाहरू। वीरगन्ज छपकैया मस्जिदमा बसेका तीन भारतीयलाई काेराेना भाइरस संक्रमण भएकाे थियाे। निकाे भएपछि उनीहरू डिस्चार्ज भए पनि आइतबार थप दुईजनालाई स‌ंक्रमण पुष्टि भएकाे छ। तस्बिर : आराेहण शाह

गत ११ चैतमा स्वास्थ्यमन्त्रालयले कोरोनासम्बन्धी अपडेट गरिरहँदा जनकपुरमा एकजना कोरोना संक्रमित रहेको जानकारी गरायो। स्वास्थ्य मन्त्रालयले यस्तो जानकारी गराइरहँदा जनकपुरमा एक्कासि कोरोनाको त्रास फैलियो ।

पछि जनकपुरमा कोरोना संक्रमित भनिएका ती व्यक्ति सर्लाहीको एकजना १४ वर्षीय बालक रहेको खुल्यो।

प्रादेशिक अस्पताल जनकपुरले गरेको पिसिआर जाँचमा निगेटिभ नतिजा आएको ती बालक कोरोना संक्रमित रहेको राष्ट्रिय प्रयोगशाला टेकुले पुष्टि गरेपछि थप त्रसित बन्यो जनकपुर ।

फरक नतिजा आएपछि प्रादेशिक अस्पताल जनकपुरमा जडान भएको पिसिआर मेसिन नै शंकाको घेरामा पर्‍यो।

र, अन्ततः प्रादेशिक प्रयोगशालामा कार्यरत प्राविधिकहरुले सही नतिजा दिन नसक्ने मेसिनबाट परीक्षण नगर्ने भनेपछि अहिले पिसिआर

परीक्षण बन्द भएको छ। नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज पठाइएको बढी क्षमताको पिसिआर जडान हुन नसकेपछि थन्किएको छ । मेसिन जडान गर्न आवश्यक अन्य उपकरणहरु नहुँदा वीरगंज पठाइएको पिसिआर सञ्चालन हुन नसकेको हो ।

पर्सादेखि सप्तरीसम्म एउटा पनि पिसीआर मेसिन नहुँदा क्वारेन्टाइनमा रहेकाहरुको स्वाब संकलन भइरहेपनि परीक्षणको लागि टेकु पठाउनुपर्ने बाध्यता देखिएको छ ।

त्यतिमात्र नभएर सर्लाहीका ती बालकमा कोरोना पुष्टि भइसकेपछि उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरले भर्ना समेत गर्न सकेन् । कारण थियो, कोरोना उपचारको लागि प्रादेशिक अस्पताल अझै तयार हुन नसक्नु ।

अन्ततः नजिक रहेपनि कोरोना संक्रमित सर्लाहीका ती बालकलाई नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा भर्ना गर्नुपर्‍यो । अहिले उनको उपचार वीरगंजमा भइरहेको छ । सर्लाहीको बालकलाई उपचारको लागि जनकपुर नपठाएर वीरगंज पठाएपछि त्यहाँ विरोध प्रदर्शनसमेत भएको थियो ।

संघीय सरकारको निर्देशनअनुसार प्रदेश सरकारले कोरोना जाँच गर्न सुविधासम्पन्न आइसोलेसन वार्ड निर्माण कार्य सुरु ग¥यो । तर, कोरोना महामारी रोक्न ‘लकडाउन’ लागु भएको एक महिनाभन्दा बढी भइसक्दासमेत आइसोलेसन वार्ड तयार हुनसकेको छैन् ।

प्रादेशिक अस्पताल नजिकै रहेको नर्सिङ क्याम्पसको होस्टलमा आइसोलेसन वार्ड निर्माण कार्य सुरु भएको छ । एक साताअघि सुरु भएको ५० बेडको आइसोलेसन वार्ड तयार हुन अझै १०÷१५ दिन समय लाग्ने बताइएको छ।

‘एसी, अक्सिजन पाइप जडानलगायतका कामहरु अझै बाँकी छ, आइसोलेसन वार्ड तयार हुन १०/१५ दिन लाग्न सक्दछ,’ प्रादेशिक अस्पतालका एक चिकित्सकले भने ।

प्रदेश २ भित्र सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल र वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पताल संघीय सरकार मातहत छ । यसैगरी जनकपुरस्थित प्रादेशिक अस्पताल, महोत्तरीको जलेश्वर, सर्लाहीको मलंगवा, रौतहटको गौर र बाराको कलैया अस्पताल प्रदेश सरकार मातहत छ । संघीय सरकार मातहत रहेको दुई र प्रदेश सरकार मातहत रहेका कुनैपनि अस्पतालमा अहिले पिसिआर जाँच भइरहेको छैन् । यसअघि कोरोना उपचारको लागि छुट्टै अस्पतालको स्थापनासमेत हुनसकेको छैन् ।

प्रदेश २का सरकारी अधिकारी क्वारेन्टाइन अनुगमण गर्दै।

कोरोना संक्रमणको जोखिम बढिरहेको बेला प्रदेश २ अझै पूर्णरुपमा तयार हुन नसकेको चिकित्सकहरुको बुझाइ छ । कोरोनाविरुद्धको लडाइँमा प्राथमिकता पहिचान गरी योजनावद्ध रुपमा अगाडी बढ्नुपरे पनि हालसम्म त्यस्तो हुन नसकेको चिकित्सकहरु बताउँछन् ।

भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत रगत रोग विशेषज्ञ डा.अजय झा कोरोनासँग लड्न सरकारले हालसम्म प्राथमिकताको पहिचान गर्न नसकेको बताउँछन् ।

‘अहिलेको प्राथमिकता ट्रेसिङ, कन्ट्याक्ट ट्रेसिङ, बढीभन्दा बढी परीक्षण हुनुपर्दथ्यो, तर यो काम भएको जस्तो लागेको छैन्,’ वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले स्थापना गरेको कोरोना समन्वय समितिका सल्लाहकारसमेत रहेका डा.झा भन्छन्,‘ट्रेसिङ छोडौं, निगेटिभ भनिएर घर पठाइएकामा कोरोना संक्रमण पुष्टि भएको छ यहाँ ।’ कन्ट्याक्ट ट्रेसिङ गर्नु पक्कै पनि चुनौतीपूर्ण कार्य हुन्छ उनको भनाइ छ ।

‘प्रादेशिक अस्पतालमा परीक्षण रुकिसकेको छ, वीरगंजको मेसिन त्यतिकै थन्किएको छ,’ उनले भने,‘वीरगंजदेखि राजविराजसम्म करिब पाँच सय किलोमिटरको सेरोफेरोमा कहिँकत्तै परीक्षण भइरहेको छैन्, यस्ता विषयहरु सरकारको प्राथमिकतामा पर्नु पर्‍यो । तर, परेको देखिन्न ।’

प्रादेशिक अस्पताल जनकपुर र टेकुको प्रयोगशालामा देखिएको फरक नतिजाले ठूलो प्रश्नचिन्ह खडा गरेको बताउँदै उनले हालसम्म यहाँ गरिएको सम्पूर्ण जाँचहरुको पुनः परीक्षण गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

कोरोनासँग लड्न अहिलेसम्म के कस्तो तयारी भएको छ जनतासामु सरकारले प्रष्ट पार्नुपर्ने उनको भनाइ छ । ‘कोरोना उपचार गर्न प्रदेशभित्र सुविधासम्पन्न अस्पताल निर्माण हुनसकेको छैन्, प्राथमिकताअनुसार सरकारले तयारी गर्नसकेको जस्तो लागेको छैन् । यस्तै अवस्था रहे परिस्थिति कठिन आउन सक्दछ,’ उनले भने ।

कोरोना जाँचको यस्तो छ अवस्था

वीरगंजमा आइतबारमात्र दुईजना नयाँ कोरोना संक्रमित फेला परेका छन् । वीरगंज महानगर वडा नम्बर २ र ३ का दुई पुरुषमा पिसीआर परीक्षणको क्रममा पोजिटिभ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

वीरगंज महानगरपालिका कार्यालयका सफाइ कर्मचारी वीरगंज–३ छपकैया बस्ने ४९ वर्षीय पुरुष र वीरगंज–२ बस्ने ५५ वर्षीय एकजनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यसअघि वीरगंजमा उपचार भइरहेको तीन भारतीय र एक नेपाली आइतबार डिस्चार्ज भइसकेका छन् । लगातार दुईपटक गरिएको पिसिआर परीक्षणमा निगेटिभ नतिजा देखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजका प्रमुख डा.मदन उपाध्यायले जानकरी दिए ।

चारजना डिस्चार्ज भएकै दिन वीरगंज अस्पतालमा कोरोनाका दुईजना नयाँ बिरामी भर्ना भएका छन् ।

पर्सामा हालसम्म ३३३ जनाको स्वाब संकलन भएकोमा एकजनाको नतिजा आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । यसैगरी हालसम्म त्यहाँ २ हजार १२३ जनाको आरडीटी भएकोमा २ हजार १२२ जनामा निगेटिभ नतिजा आएको मन्त्रालयको तथ्यांकमा भनिएको छ । आरडीटी जाँचमा एकजनामा पोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी बारामा १३४ जनाको स्वाब संकलन भएको छ भने ६९ जनाको नतिजा आउन बाँकी रहेको छ । अन्य सबै ६५ जनामा निगेटिभ देखिएको छ । बारामा १४६ जनाको आरडीटी भएकोमा सबैजनामा निगेटिभ देखिएको छ ।

रौतहटमा २६७ जनाको स्वाब संकलन भएकोमा ११२ जनाको नतिजा आउन बाँकी छ । रौतहटमा हालसम्म ४४५ आडीटी जाँच भएकोमा सबै निगेटिभ रहेको मन्त्रालयले जनाएको छ ।

सर्लाहीमा १२४ जनाको स्वाब संकलन भएको छ भने ११९ जनाको नतिजा आउन बाँकी छ । सर्लाहीमा १३७ जनाको आरडीटी भएको छ । महोत्तरीमा ४७ जनाको स्वाब संकलन भएकोमा ११ जनाको मात्र नतिजा आएको छ भने ३६ जनाको आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । महोत्तरीमा १६५ जनाको आडीटी भएकोमा सबै नतिजा निगेटिभ देखिएको छ ।

यसैगरी धनुषामा ३५६ जनाको स्वाब संकलन भएकोमा २९४ जनाको नतिजा आउन बाँकी रहेको जनाइएको छ । स्वाब संकलनको नतिजाअनुसार धनुषामा ६२ जनामा निगेटिभ नतिजा आएको छ । स्वाब संकलन भएको मध्ये प्रादेशिक अस्पताल जनकपुरमा ९१ जनाको स्वाब परीक्षण भएको बताइएको छ । धनुषामा ४३९ जनाको स्वाब परीक्षण भएको छ ।

सिरहामा ३५६ जनाको स्वाब संकलन भएकोमा हालसम्म २९४ नतिजा आउन बाँकी रहेको छ । नतिजा आइसकेको सबै ६२ निगेटिभ रहेको र ३३९ आडीटी जाँच भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी सप्तरीमा २२३ जनाको स्वाब संकलन भएकोमा १६२ जनाको नतिजा आउन बाँकी रहेको छ । यसअघि नतिजा आइसकेका ६१ मा निगेटिभ देखिएको छ । सप्तरीमा हालसम्म ७२९ आरडीटी परीक्षण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय