कोरोना हटस्पट भुल्केमा ‘कन्ट्याक्ट ट्रेसिङ’ तीव्र, जनस्वास्थ्य प्रमुख नै फिल्डमा

उदयपुरको त्रियुगा नगपालिकास्थित भुल्केमा ‘कन्ट्याक्ट ट्रेसिङ’ तीव्र पारिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी तीव्र पारेको हो।

जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीका अनुसार २८ जना संक्रमितका परिवार सदस्य तथा सम्पर्कमा आएका सबै व्यक्तिको पहिचान गरी परीक्षण कार्य भइरहेको छ।

‘अहिलेसम्म ५ सय ३० जनाको परीक्षण भइसकेको छ, आज करिव ५० जनाको परीक्षण सकिएको छ,’ जनस्वास्थ्य प्रमुख सुवेदीले भने, ‘संक्रमण फैलिएको क्षेत्रमा पूर्ण रूपमा लकडाउन गरेर कोरोनाको सम्भावित जोखिमको क्षेत्रमा परीक्षण कार्य भइरहेको छ।’

कोरोना भाइरसको संक्रमण देखिएको भुल्के क्षेत्रमा आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ। जलजले र मोतिगडा क्षेत्रलाई उच्च निगरानीमा राखेर र्‍यापिड डाइग्नोस्टिक टेस्ट र पोलिएमरेक्स चेन रियाक्सन (पिसिआर) टेस्ट भइरहेको प्रमुख सुवेदीले बताए।

‘संक्रमितहरू गएको क्षेत्र पहिचान भइरहेको छ, र संक्रमितको सम्पर्कमा गएका तथा त्यो संक्रमितको सम्पर्कमा आएका व्यक्ति निकटको पनि परीक्षण गरेर सम्भावित जोखिम नियन्त्रणका लागि जुटेका छौँ,’ सुवेदीले भने।

परीक्षणका लागि भिटिएमको अभाव भए पनि काम नरोकेको प्रमुख सुवेदीले बताए। ‘हामीलाई मात्रै होइन, यो राष्ट्रकै समस्या हो, केही दिनमा म्यानेज होला,’ उनले आशा व्यक्त गरे।

जनस्वास्थ्य प्रमुखको नेतृत्वमा फिल्टमा टिम

उदयपुर जिल्लामा स्थानीय तह र सम्बन्धित सरोकारवाला निकायले ४ सय १४ वटा क्वारेन्टाइन निर्माण गरेका छन्। आइसोलेसन ५६ वटा तयार रहेको जानकारी सुवेदीले दिएका छन्।

‘अहिलेसम्म संक्रमण देखिएका २८ जनालाई जिल्लामै उपचार भइरहेको छ, हामीले परीक्षण गरेर पठाउँदा उहाँहरूमा कुनै किसिमको बिरामको लक्षण देखिएको छैन,’ उनले भने।

२८ जना संक्रमितहरूलाई अहिलेसम्म सामान्य रूघाखोकी पनि नलागेको जानकारी प्रमुख सुवेदीले दिएका छन्। कुनै किसिमको गम्भीर समस्या देखिएमा तत्कालै विराटनगरस्थित कोभिड डेडिकेटेट अस्पतालसँग समन्वय गर्ने उनले बताए।

‘संक्रमितको उपचारका लागि हामीले पर्याप्त तयारी गरेका छौँ, यदि कुनै किसिमको समस्या भएमा र संक्रमितलाई स्वास्थ्य समस्या आएमा तत्कालै विराटनगर कोभिड अस्पतालमा पठाउँछौँ,’ उनले भने।

जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख सुवेदीको नेतृत्वमै भुल्केमा स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरिएको छ। परीक्षणसँगै जनचेतना जगाउनका लागि पोस्टरिङ, पम्प्लेटिङ र माइकिङ गरिएको सुवेदीले बताए।

‘जनतामा व्यापक सचेतना आइसकेको छ, सामाजिक दुरी कायम राख्नुपर्छ भनेर उहाँहरू सचेत भइसक्नु भएको छ,’ सुवेदीले भने, ‘नागरिकको यतिको सचेतता र साथ भएपछि हामीलाई संक्रमण रोक्न महत्त्वपूर्ण सहयोग पुग्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय