भोजपुरका कोरोना संक्रमित युवाका परिवारका १४ जनामा कोरोना संक्रमण देखिएन

भोजपुर हतुवागढी गाउँपालिका-६ होम्ताङका २६ वर्षीय युवकका परिवारको स्वाब नेगेटिभ आएको छ। प्रदेश नम्बर १ सरकारका अनुसार हतुवागढीमा रहेका ती युवाका ९ जना, श्रीमती, छोरी र उदयपुर ससुरालीमा रहेका तीन जना सबैको स्वाब नेगेटिभ आएको हो।

बिहीबार स्वास्थ्य मन्त्रालयले ती युवालाई कोरोना संक्रमण पुष्टि गरेको थियो। वैदेशिक रोजगारीका लागि साउदी गएका ती युवा फागुन ३० गते नेपाल आएका थिए। ती युवासँग संगत भएका परिवारका सबै सदस्यको स्वाब परीक्षण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो। ‘संगत भएका परिवारका १४ जना सबैको स्वाब नेगेटिभ आएको छ,’ प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले हेल्थपोस्ट नेपालसँग भने।

ती युवा हिमालयन एयरलाइन्सको जहाजबाट त्रिभुवन विमानस्थलमा फागुन ३० गते बिहान ९ बजे उत्रिएका थिए। कार्कीका अनुसार ती युवा हतुवागढी पुगेपछि अन्य पचास जनाभन्दा बढी मान्छेहरूसँग भेटघाट गरेका थिए। तिनीहरूको स्वाब परीक्षणको प्रक्रिया थालिएको छ। ‘हामीले परिवारका सबै सदस्यको स्वाब लिँदा नेगेटिभ आयो, अब हेलमेल भएका अन्यको परीक्षण गर्दैछौं,’ मन्त्री कार्कीले भने। ती युवा काठमाडौंमा उत्रेपछि त्यही दिन रात्रि बस चढेर पूर्व गएका थिए।

भोजपुरका संक्रमित युवाको ट्राभल हिस्ट्री : काठमाडौंबाट रात्रिबस चढेर चतरा, उदयपुर ससुराली हुँदै ११ दिनपछि घर

भोलिपल्ट बिहान उनी सुनसरीको झुम्का उत्रिएएर चतारा पुगेका थिए। चतारामा डेरा गरेर बसेकी श्रीमती र छोरीलाई भेटेका थिए। उनी चैत ७ गतेसम्म चतारामै बसेका थिए। यो बीचमा उनी चतारामै कति घुमफिर गरे भन्ने यकिन हुन सकेको छैन। परिवारसँग सोधपुछ गर्दा उनी यो बीचमा बस चढेर श्रीमती र छोरीसहित एक दिन आफ्नो मावाली घर धरान गएका थिए।

धरान बजारमा किनमेल गरी साथीहरूसँग घुम्न इटहरी पनि गएका थिए। प्रहरीका अनुसार नेपाल आएको ११ दिनपछि उनी घर होम्ताङ पुगेका थिए। उदयपुर प्रहरीका अनुसार ती युवा चैत ९ गते मैनामैनी पुगेको देखिन्छ। ससुरालीमा दुई दिन बसेर उनी ११ गते मोटरसाइकलमा भोजपुर हिँडेका थिए। श्रीमती र छोरीलाई ससुरालीमै छोडेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय