क्वारेन्टाइन–कहर : भारतमा तीन हप्ताको क्वारेन्टाइनपछि गाउँमा फेरि दुई हप्ता

नेपाल र भारतको समझदारीमा सीमामा २६ दिन क्वारेन्टाइनमा बिताए गाउँ फर्केकाहरुलाई पुनः १४ दिनको क्वारेन्टाइनमा राखिएको छ।
२६ दिन भारतको नौतुनुवाको एक क्याम्पसको क्वारेन्टाइनमा बसेका अर्घाखाँचीका १ सय २८जनालाई गाउँ ल्याएर फेरि १४ दिनको क्वारेन्टाइनमा राखिएको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासले जानकारी दिए।

जिल्ला प्रशासन कार्यलयमा बसेको सबै पक्षीय बैठकबाट भारत र नेपाल सरकारको सहकार्यबाट सीमानाको क्वारेन्टाइनमा बसेका उनीहरुलाई जिल्लामा ल्याइएको हो ।

भारतबाट आएकालाई भैरहवामा कोरोना परीक्षण गरेर ल्याइएको भए पनि नेपाल सरकारको निर्देशनअनुसार पुनः क्वारेन्टाइनमा राख्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारीसमेत रहेको बेल्वासेले बताए ।

क्वारेन्टाइनमा बस्नेहरु दोहोरो मारमा परे नि त ? भन्ने जिज्ञासामा उनले सरकारको निर्णयलाई स्थानीय प्रशासनले कार्यान्वयन गरेको बताए । पहिले नै ल्याउनका लागि के को अप्ठ्यारो थियो त ? भन्ने अर्को जिज्ञासामा सूचना अधिकारी बेल्वासेले त्यतिबेला तयारी पूरा नभएकाले गर्दा त्यस्तो निर्णय भएको हुनसक्ने बताए । त्यतिबेला क्यारेन्टाइन पनि बनिसकेको थिएन सूचना अधिकारी बेल्वासेले भने, कहाँ राख्ने निधो नहुँदा त्यस्तो गरिएको हुनसक्छ ।

बेल्बासेका अनुसार अर्घाखाँचीमा अहिले बनेको क्वारेन्टाइनहरुमा ४९७ बेड क्षमता छ । जहाँ अहिले २ सय २५ जना व्यक्ति क्वारेन्टाइनमा छन् ।
उनका अनुसार भारतमा रोजगारी गरी फर्किएका मालारानी गाउँपालिकाका ९३, सन्धिखर्क नगरपालिका २०, पाणिनि गाउँपालिकाका ९, छत्रदेव गाउँपालिकाका ४ र शितगंगा नगरपालिकाका १ गरी एक सय २८ जनालाई सम्बन्धित पालिकाको क्वारेन्टाईनमा राखिएको छ ।

भारतीय सीमानाबाट आएकालाई क्वारेन्टाइनमा राख्ने तर काठमाडौंबाट आएकलाई क्वारेन्टाइनमा नराखेर घरघरमै पठाएपछि गाउँमा विरोध समेत भएको छ । काठमाण्डौंबाट आउने व्यक्तिलाई समेत क्वारेन्टाइनमा राख्ने क्षमता नभएको हुदा उनिहरुलाई नराखिएको स्थानीय तहका जनप्रतिनिधीहरु बताउँछन् ।

काठमाडौंबाट जिल्ला भित्रिएका ४ सय १ जनामध्ये २६ जना मात्र क्वारेन्टाइनमा बसेका छन् । अरु सबै घरघरमा गएका छन् । काठमाडौंबाट जिल्ला भित्रिएकालाई स्थानीय सरकारले निर्माण गरेको क्वारेन्टाइनमा राख्ने गरी स्थानीय तहलाई जिम्मा दिने निर्णय भएपनि उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन् ।

सबैलाई २ हप्ता क्वारेन्टाइनमा राख्न कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटीको बैठक र जिल्ला विपद व्यवस्थापन समितिको बैठकले निर्णय गरेपनि उक्त निर्णय स्थानीय सरकारले पालना गर्न सकेका छैनन् । जानकारीविना जिल्लामा काठमाडौंबाट पठाउँदा समस्या भएको सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विकले बताए ।

जिल्लाका ६ वटा स्थानीय सरकार मध्ये सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, छत्रदेव गाउँपालिका, पाणिनि गाउपालिका र मालारानी गाउँपालिका गरी पाँच स्थानीय सरकारले सबैलाई घरघरमा पठाएका छन् । तर भुमिकास्थान नगरपालिकाले सबैलाई स्थानीय सरकारले बनाएको क्वारेन्टाइनमा राखेको छ ।

भुमिकास्थान नगरपालिकाका २६ जनालाई स्थानीय सरकारले बनाएको क्वारेन्टाईनमा राखिएको नगर प्रमुख रेशम थापाले बताए । स्थानीय सरकारको रुपमा रहेका सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, छत्रदेव गाउँपालिका, पाणिनि गाउँपालिका र मालारानी गाउँपालिकाले सबैलाई साबधानी अपनाएर होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको भन्दै सबैलाई घरघरमा पठाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय