कोरोना कहरकै बीच डेंगी र औलो

गर्मीयाममा देखिने विभिन्न रोग नियन्त्रण गर्न समयमै पूर्वतयारीमा लाग्नुपर्ने विज्ञहरूले बताएका छन्। विश्वप्यापी फैलिएको कोरोना भाइरसका कारण नियमित स्वास्थ्य सेवा अवरुद्ध छ। तर, गर्मी सिजनमा देखिने डेंगी र औलोका बिरामी पनि अहिले देखिन थालेका छन्, त्यो पनि क्वारेन्टाइनमा बसेकामा।

भारतबाट आएर सुदूरपश्चिमको क्वारेन्टाइनमा बसेका १५ जनामा औलो पोजेटिभ तथा ५० जनाभन्दा बढी डेंगी संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जनाकारी दिए।

गर्मीमा औलोको प्रकोप बढ्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ। शनिबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. विकास देवकोटाले गर्मीमा औलोले प्रकोपको रूप लिन सक्ने बताए।

‘क्वारेन्टाइनमा बस्नु भएका व्यक्तिमा औलोको लक्षण देखिएको छ,’ डा. देवकोटाले भने, ‘अब क्वारेन्टाइनमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ।’

कोरोना नियन्त्रणसँगै गर्मीयाममा देखिने रोगको पूर्वतयारीमा नलागे महामारीको रूप लिन सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. विवेक कर्ण लाल बताउँछन्।

गत वर्ष वैशाख ३० मा धरानबाट फैलिएको डेंगी नियन्त्रणमा सरकारले चालेको प्रयास प्रभावहीन भएको थियो। सरकारले विभिन्न रणनीति अपनाउँदा पनि डेंगी नियन्त्रण हुन सकेको थिएन। यस वर्ष पनि बेलैमा योजनाअनुसार काम गर्नुपर्ने देखिन्छ।

गर्मीयाममा देखिने रोगको पूर्वतयारीमा जुटिरहेका महाशाखाका निर्देशक डा. पाण्डे बताउँछन्। ‘हामीले स्थानीय तहसँग समन्वय गरेर काम गरेका छौ,’ उनले भने, ‘क्वारेन्टाइनमा बसेका सबैलाई परीक्षण गर्ने निर्देशन दिएका छौं।’

उृनका अनुसार अब डेंगीको प्रकोप सुरु भइसकेको छ। गत वर्ष पनि डेंगीले महामारी रूप लिएको हुनाले नियन्त्रणका लागि योजनासहित अघि बढ्नुपर्ने छ। केन्द्रले डेंगी परीक्षण किट किनेर पठाउने तयारीमा जुटेको महाशाखाले जनाएको छ।

डेंगी महामारीमा गत वर्ष दुईदेखि तीन महिनामा ६७ जिल्ला प्रभावित भएसँगै ११ हजारभन्दा बढी संक्रमित भएका थिए।

कोरोना भाइरस त्रासका कारण भारतमा बस्ने धेरै नेपाल फर्किएका छन्। यस वर्ष औलो फैलिने खतरा बढेको डा. लाल बताउँछन्। ‘विगतका वर्षका अनुभवले पनि नयाँदिल्ली, राजस्थानबाट आएकाले सुदूरपश्चिममा औलो फैलाउने गरेका थिए,’ डा. लालले भने, ‘क्वारेन्टाइनमा बसेका सबैलाई परीक्षणको दायरामा ल्याउनुपर्छ।’

विगत वर्षको अनुभव हेर्ने हो भने औलो, झाडापखाला, टाइफाइड नियन्त्रणका लागि तयार हुनुपर्ने देखिन्छ।

‘हाल कोरोनाका कारण स्वास्थ्य सेवा बलियो भएका देशमा पनि कठिन चुनौती देखापरेको छ,’ डा. लाल भन्छन्, ‘हाम्रोजस्तो स्वास्थ्य सेवा कमजोर भएको देशमा पहिलादेखि नै केही तयारी गर्न नसके ठूलो महामारी खेप्नुपर्ने छ।’

महाशाखाको तथ्यांकअनुसार चालू आर्थिक वर्ष साउनदेखि कात्तिकसम्ममा स्क्रब टाइफसबाट १ हजार २ सय ७१ जना संक्रमित भएका थिए। पश्चिम नेपालको पाल्पाबाट सुरु भएको स्क्रब टाइफस संक्रमणले ६७ भन्दा बढी जिल्ला प्रभावित बनाएको थियो।

‘लकडाउन भएसँगै धेरै मानिस स्वास्थ्य संस्था जान वञ्चित छन्। कतिपय अज्ञात रोगका सूचना माथिल्लो तहसम्म आइरहेको छैन,’ डा. लाल भन्छन्, ‘यसका लागि अनुसन्धान तीव्र बनाउनुपर्छ।’

मन्त्रालयलको तथ्यांकअनुसार सातै प्रदेशमा १७ हजार २५ जना क्वारेन्टाइनमा बसिरहेका छन्।

डेंगी र यसबाट बच्ने उपायबारे विराट मेडिकल कलेज शिक्षण अस्पतालका डा. रामकुमार मेहतासँगको कुराकानी :

डेंगी के हो ?

डेंगी भनेको भाइरल इन्फेक्सन हो । यो एडिज लामखुट्टेको टोकाइबाट सर्छ । एडिज लामखुट्टे प्रायः कृत्रिम भण्डारण गरिएको सफा पानीमा बस्छ र यसले प्रायः दिउँसोको बेलामा टोक्ने गर्छ । डेंगी विभिन्न प्रकारका हुन्छन् । साधारणतया सबै डेंगी खतरनाक हुँदैनन् । डेंगी कुनै साधारण लक्षण देखिएर पनि हुन्छ भने कुनै असाधारण लक्षण देखिए पनि हुनसक्छ।

यो रोग लागेका ९७ प्रतिशतलाई सामान्य ज्वरोका रूपमा लक्षण देखिन्छ । यो साधारण लक्षण हो । शरीरका कुनै पनि भागबाट रक्तस्राव बढी हुने, रक्तचाप कम हुने र रगतमा प्लेटलेट्स कम भयो भने खटिरा धेरै आउने लक्षणहरू देखिएमा यी असाधारण लक्षण हुन् र यो अवस्थालाई जटिल मानिन्छ । यसको निर्मूल गर्ने उपचार भने हुँदैन, लक्षणअनुसारको उपचार मात्र हुन्छ । सँगसँगै यसले अरू रोगसँग लड्न सक्ने क्षमतालाई पनि कम गरिदिन्छ, जसले गर्दा अरू रोगले आक्रमण गरेमा झन् जटिल हुनसक्छ।

डेंगी संक्रमण कसरी हुन्छ ?

डेंगीको संक्रमण एक किसिमको एडिज लामखुट्टेले गराउँछ । हात मिलाउँदैमा, अँगालो मार्दैमा सँगै खाना खाँदैमा यो भाइरस सर्दैन । संक्रमित व्यक्तिलाई यदि कुनै लामखुट्टेले टोक्यो र त्यही लामखुट्टेले अन्य स्वस्थ व्यक्तिलाई टोक्यो भने डेंगी सर्छ । पानी जम्ने ठाउँमा गर्मीमा र पानी बग्ने व्यवस्था राम्रोसँग नहुने ठाउँमा एडिज लामखुट्टे बढी सक्रिय हुने गछन् ।

डेंगीका लक्षण के हुन् ?

साधारण लक्षण

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ–२००९) का अनुसार डेंगी विदाउट साइन (लक्षणविनाको डेंगी) मा एकदमै बढी ज्वरो (१०२ डिग्री) आउँछ । यसका ५ देखि ७ दिनसम्म जिउ एकदमै दुख्ने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखामुनि दुख्नेजस्ता साधारण लक्षण हुन् ।

असाधारण लक्षण

खटिरा आउने, रक्तस्राव बढी हुने, बान्ता हुने, शरीरमा प्लेटलेट्सको संख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकाले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, पिसाब कम हुने, रक्तचाप निकै कम हुने हुन्छन् । अधिकांश रोगी सामान्य उपचारपछि निको हुने भए पनि वेलैमा उपचार नगरेमा मानिसको ज्यानै जान सक्छ ।

डेंगीबाट बच्ने उपाय के छन् ?

– लामखुट्टेको टोकाईबाट बच्नुपर्छ ।

– घरवरपर पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्छ ।

– घरनजिक कुनै पनि किसिमका झाडी राख्नुहुँदैन ।

–लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने वा लामखुट्टेको धूप वा क्रिम प्रयोग गर्नुपर्छ ।

– झ्याल–ढोकामा जाली राख्नुपर्छ ।

– शरीर पूरै ढाक्ने कपडा लगाउनुपर्छ ।

– सरसफाइमा ध्यान दिनुपर्छ ।

– आफ्नो घरवरिपिर मात्र नभई समुदाय, समाजलाई पनि सफासुग्घर राख्न मद्दत गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय