‘ओम्नी खरिद प्रकरण’ बारे लेखासमितिले छानबिन गर्ने, काजजात माग्ने निर्णय
ओम्नी इन्टरनेसनलसँग भएको स्वास्थ्य सामग्री खरिद प्रकरणकाबारे संसदको सार्वजनिक लेखा समितिले छानबिन गर्ने भएको छ।
समितिले छानबिनका लागि भएका सम्झौता, रद्द्ध गरिएको पुरानो टेन्डर, मूल्यसूचीलगायत सम्पूर्ण सामग्री झिकाउने निर्णय गरेको समितिका सभापति भरत शाहले जानकारी दिए।
सभापति शाहले कागजपत्र आउनासाथ परिस्थिति हेरेर तत्काल सम्बन्धित अधिकारी र सरोकारवालाई बोलाइने समेत बताए।
यसअघि सरकारले चैत दोस्रो साता सामग्री खरिद सम्झौता गरेको थियो।
कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिएको लामो समयसम्म अत्यावश्यक तयारीमा ध्यान नदिई सरकारले रातारात ‘सर्टकट’ मै १ अर्ब २४ करोड रुपैयाँबराबरको सामग्री खरिद प्रक्रिया सम्झौता गरेको थियो।
जसको पहिलो लट सामग्री चैत १५ बिहान काठमाडौं आइपुगेको थियो।
सभापति शाहले कागजपत्र आउनासाथ परिस्थिति हेरेर तत्काल सम्बन्धित अधिकारी र सरोकारवालाई बोलाइने समेत बताए
ओम्नीसँग सम्झौताका लागि पुरानो खरिद प्रक्रिया रद्ध गरेर उपप्रधानमन्त्री संयोजकत्वको समितिले चैत ११ गते २४ घन्टाभित्र सूचना जारी गरेर प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो।
सोही समितिले चैत १६ भित्र सामग्री नै आइपुग्ने गरी प्रक्रिया टुंग्याउने निर्णयपछि रातारात खरिदको काम सुरु भएको थियो। ओम्नीसँग भएको सम्झौतामा अनियमिताको आशंकासहित पहिलोपटक हेल्थपोस्टले चैत १५ गते समाचार प्रकाशित गरेको थियो।
१२ टन सामान आएपछि विवाद उत्पन्न हुनासाथ स्वास्थ्य सेवा विभागले चैत १९ मा ओम्नीसँगको सम्झौता रद्ध गरेको थियो। पछि सरकारले सेनालाई जिटुजी प्रक्रियाबाट सामान किन्ने दिने निर्णय गरेको थियो।