सुदूरपश्चिममा ‘हुल का हुल’ मानिस भित्रिँदै, ‘ग्रीन जोन’ कसरी हुन्छ?

 सुदूरपश्चिम प्रदेशमा भेटिएका पाँचजना कोरोना भाइरस संक्रमितमध्ये चारजना निको भएर फर्किसकेका छन्। एकजनाको उपचार हुँदैछ।

१५ दिन यता सुदूरपश्चिममा कोरोनाका ‘नयाँ संक्रमित’ पनि फेला परेका छैनन्। यसबाट आमसुदूरवासीमा केही हदसम्म त्रास कम भएको छ। दुई सातासम्म कोरोनाको पोजेटिभ केस नदेखिएपछि सरकारले पनि प्रदेशलाई ग्रीन जोनमा राख्ने तयारी गरेको छ।

तर, केही दिनदेखि दैनिक सयौं मानिस देशका विभिन्न स्थानबाट प्रदेशमा भित्रिन थालेपछि अब भने प्रदेशलाई ग्रीन जोनमा राख्नु उचित होला त? भन्ने प्रश्न उठ्न थालेको छ । स्वास्थ्यकर्मीले हुलका हुल मानिस भित्रिँदा कोरोना फैलिने खतरा झनै बढ्ने भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् ।

सेती प्रादेशिक अस्पताल धनगढीका वरिष्ठ सर्जन डाक्टर शेरबहादुर कमरले नियन्त्रणमा आइरहेको कोरोनालाई चुनौती दिने गरी मानिसलाई गाउँगाउँमा पठाउनु सरासर गलत हुने बताए।

‘सिंगो प्रदेशलाई जोखिमा पार्नेकाम कसैले गर्नु हुँदैन’ कमरले भने–‘यसका लागि मापदण्ड अनि निर्देशिकाहरु नै बनाउन जरुरी छ।’

स्वास्थ्य परिक्षण विना देशका विभिन्न स्थानबाट सर्वसाधरणलाई बसमा राखेर गाउँगाउँमा पुर्‍याउँदा त्यसले झन् जोखिम बढाउने उनको तर्क छ।

‘एउटा संक्रमति व्यक्तिले बसमा यात्रा गर्दा सँगै रहेका सवैलाई जोखिम हुन्छ’ डाक्टर कमरले भने– ‘बसमा रहेका सवै एउटै स्थानका हुन्छन् भन्ने हुँदैन, जुन ठाउँमा जान्छन् त्यहाँ पनि जोखिम बढ्छ।’

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले पनि बाहिरबाट हुलका हुल मानिसलाई प्रदेशमा भित्र्याएर ग्रीनजोन बन्न नसक्ने बताए।

‘१५ दिनसम्म कोरोनाका नयाँ संक्रमित नदेखिएपछि सुदूरपश्चिममा केही राहत मिलेको छ’ उनले भने– ‘तर भारतबाट आएर सीमामा रहेका नेपाली तथा देशका विभिन्न स्थानबाट बसमा हुलेर मानिस ल्याउँदा पुनः खतरा मडारिएको छ।’

कञ्चनपुरको भिमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले स्थानीय तहसँग समन्वय नै नगरी संघीय सांसदहरुले गाउँगाउँमा मानिस पठाउन थालेको बताए।

‘हिजोअस्तिदेखि धमाधम मानिस गाउँमा आइरहेका छन्’ उनले भने– ‘केहीलाई प्रहरीको सहयोगमा क्वारेन्टाइनमा राखेका छौं, तर अरु पनि आएका हुनसक्छन् भन्ने अनुमान गरिएको छ, हामीले खोजिरहेका छौं।’

भारतसँग सिमाना जोडिएको यो नगरपालिकामा अहिले बनाइएका सबै क्वारेन्टाइनहरु भरिएका छन्। अब आएकाहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता थपिएको उनले बताए।

‘सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको ठूलो मेहनत र योगदानका कारण पछिल्लो दुई हप्तासम्म सुदूरपश्चिममा कोरानाका नयाँ संक्रमित फेला परेका छैनन्’ उनले भने– ‘तर स्थानीय तहलाई जानकारी नै नदिएर धमाधम बसमा मानिस पठाउँदा हामी फेरि ठूलो संकटमा पर्नसक्छौं, यसमा हामी सबै सचेत हुनुपर्दछ।’

विभिन्न क्षेत्रबाट बस चढेर मानिस गाउँगाउँमा भित्रिँदा स्थानीयलाई लकडाउनको पालना गर भन्न समेत समस्या भएको उनले बताए ।
संघीय सांसद र स्थानीय तहका जनप्रतिनिधिले विभिन्न क्षेत्रमा आलपत्र परेका आफ्ना क्षेत्रका नागरिकलाई ‘सवारीको जोहो’ गरेरै गाउँगाउँमा भित्र्याउन थालेका छन्।

लकडाउन भएयता मात्रै देशका विभिन्न स्थानबाट ३ हजार ६ सय ६१जना मानिस सुदूरपश्चिम प्रदेशमा भित्रिएका छन् । यसैगरी भारतबाट पनि लकडाउन पछि सयौं नागरिक भित्रिएका छन्, र भित्रिने क्रम अझै छ।

सांसद तथा जनप्रतिनिधीले विभिन्न स्थानमा अलपत्र परेका परेका नागरिकको उद्धार गरिएको भन्दै मानिसलाई भित्र्याइन थालेपनि त्यसको उद्देश्य भने राजनीतिक पकड बलियो बनाउनुनै देखिन्छ । यसरी ‘हुल का हुल’ मानिसलाई विना स्वास्थ्य चेकजाँच गाउँगाउँमा भित्र्याउन थालेपछि आम नागरिकसँगै स्वास्थ्यकर्मी समेत पुनः त्रसित बन्न थालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय