लाखौंको तरकारी किसानकाे खेतमै खेर

खेतबारीमा फलेका लटरम्म तरकारी। खान लायक भइसकेका तरकारी किसानले बजारसम्म पुर्‍याउन भने सकेका छैनन्। लकडाउनका कारण ढुवानी सहज नहुँदा किसानका तरकारी खेर गइरहेको छ।

पर्साको तत्कालिन भौराटार, विश्रामपुर, गम्हरीय र शिववर्वा गाविसलाई सरकारले २०७३ सालमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत तरकारी जोन घोषण गरेको थियो। विगतदेखि नै यस क्षेत्रका किसान अन्य बालीभन्दा तरकारी उत्पादनमा बढी सक्रिय थिए।
तरकारी जोन घोषणा भएपछि यान्त्रिकीकरण र अनुदानले तरकारी खेतीले अझै व्यावसायिक रू प लिएको छ।

‘खेतमा सबै तरकारी तयार भइसकेको छ। तर बजार कसरी लैजानु। लकडाउनले त डुबायो हामीलाई,’ भौराटारका किसान रामबाबु साहले भने, ‘बजारमा तरकारी पाइन्न भन्ने सुनिन्छ, हाम्रो खेतबारीबाट तरकारी कसरी लैजाने, हाम्रो यहाँ खेर गइरहेको छ।’

अत्यावश्यक सामग्री आपूर्तिका लागि दिउँसो केही घण्टाका लागि पसल खोलिए पनि तरकारी ढुवानीका लागि साधन चल्दैनन्। जसका कारण किसानको तरकारी खेतबारीमै खेर गइरहेको उनले बताए।

‘तरकारी जोन’ मा दैनिक करिब ५ सय क्विन्टलभन्दा बढी तरकारी उत्पादन हुन्छ। भौराटारमा मात्र किसानको दैनिक ७ लाखभन्दा बढीको तरकारी खेर गइरहेको किसान राम शकंरले बताए।

पर्साको यो तरकारी जोनमा खोर्सानी, गोलभेंडा, बोडी, घिरौला, लौका, करेला, काँक्रो, भिन्डी, परौल, भन्टालगायत मौसमी तथा बेमौसमी तरकारी उत्पादन हुन्छ।

‘तयार भइसकेको तरकारी कहाँ लैजानु अब,’ उनले भने, ‘बजारसम्म लैजाने साधन छैन। यहाँ पनि मान्छे आउँदैनन्। घरघरै लगेर बेच्ने अवस्था पनि छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय