स्वास्थ्य सामग्री उत्पादन गर्दै, निःशुल्क  बाँड्दै महावीर पुन

हेल्थपोस्ट नेपाल

विश्वभर कोरोना भाइरस (कोभिड–१९) महामारी चलिरहेको छ। महामारीले उग्र रूप लिइरहेका बेला भाइरस रोकथाम तथा नियन्त्रण गर्न प्रयोग हुने स्वास्थ्य सामग्री अभाव भएको छ।

महामारी फैलिरहेको विषम परिस्थितिमा स्वास्थ्य सामग्री किन्नसमेत नपाइरहेका बेला राष्ट्रिय आविष्कार केन्द्रले कोरोना बुथ, एरोसोल बक्स, इमेर्जेन्सी भेन्टिलेटर बनाएर अस्पताललाई निःशुल्क बाँडिरहेको छ।

राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेका सामग्री ढुवानी गरेर लगिँदै। सबै तस्बिर : साैरभ रानाभाट/हेल्थपाेस्ट नेपाल

त्यतिमात्रै नभई केन्द्रले सरकारी अस्पतालमा बिग्रिएर थन्किएका भेन्टिलेटरसमेत बनाएर अस्पताललाई दिइरहेको छ। आविष्कार केन्द्रले अस्पतालको चिठीबिनै लाइसेन्सको फोटोकपी, संस्थाको नाम र एम्बुलेन्सको नम्बर टिपाएकै आधारमा पिपिई उपलब्ध गराउने गरेको छ।

पैसा तिरेर किन्नसमेत नपाइरहेको अवस्थामा केन्द्रले सिँत्तैमा स्वास्थ्य सामग्री वितरण गरिरहेको छ। केन्द्र जनस्वास्थ्यका लागि सहयात्री बनेको छ। उपत्यकाका सबै एम्बुलेन्स चालकसहित मुलुकभरका ३ सय ५० भन्दाबढी एम्बुलेन्स चालकलाई पिपिई वितरण गर्नुका साथै चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई समेत पिपिई उप्लब्ध गराइरहेको केन्द्रले जनाएको छ।

‘केन्द्रको पछिल्लो उत्पादनमा कोरोना बुथ एक हो। वर्षौं सरकारी अस्पतालमा बिग्रेर थन्किएका भेन्टिलेटर बनाइ अस्पताललाई दिने गरेका छौं,’ केन्द्रका म्यानेजर सुजित बानियाँले भने, ‘हालसम्म केन्द्रमा आएका २८ भेन्टिलेटर बनाएर पठाइसकेका छौं भने १८ वटा बनाइरहेका छौं।’

आविष्कार केन्द्रले ४ हजार पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पिपिई), १० कोरोना बुथ, १० एरोसेल बक्स र तीन स्यानिटाइजर स्प्रे टनेल बनाइसकेको छ। कोरोना भाइरस संक्रमण रहे वा नरहेको पत्ता लगाउन बिरामीको स्वाब परीक्षण गर्न र स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न केन्द्रले कोरोना बुथ निर्माण गरेको छ।

‘कोरोना भाइरस संक्रमण रहेका बिरामीसम्म औषधि र खानेकुरा पठाउने नर्सिङ रोबोट निर्माण गरिरहेका छौं,’ आविष्कार केन्द्रका इन्जिनियर गौरवकुमार दासले भने, ‘रोबोटले संक्रमित बिरामीबाट उहाँहरूलाई सुरक्षित बनाउँछ। केन्द्रले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सामग्री बनाइरहेको छ।’

केन्द्रले टेकु अस्पताल, वीर अस्पताल, काठमाडौं मेडिकल कलेज, सैनिक अस्पताल,  सशस्त्र प्रहरी अस्पताल, भक्तपुर अस्पताल, मेची अस्पताल, विराटनगर, धरान, इटहरी, वीरगन्ज, सुर्खेत, बुटवल, पोखरा बागलुङ र धनगढी गरी १६ अस्पताललाई कोरोना परिक्षण बुथ पठाइसकेको छ।

कोरोना परीक्षण बुथको माग बढे पनि बुथ बनाउन हम्मेहम्मे परेको म्यानेजर बानियाँले जानकारी दिए। महामारी समयमा जनस्वास्थ्यको ख्याल गरी आवश्यक स्वास्थ्य सामग्री बनाउने केन्द्रको प्रयास जारी रहेको मेकानिकल इन्जिनियर दासले बताए।

केन्द्रले दैनिक करिब २ सय ५० पिपिई उत्पादन गर्छ भने एउटा परीक्षण बुथ निर्माण गर्न दुई दिन र एरोसोल बक्स दिनमा तीनथान बनाउन सकिने जनाएको छ। पिपिई, कोरोना बुथ र एरोसोल बक्सको माग बढी रहेको केन्द्रले जानकारी दिएको छ।

एरोसोल बक्स प्रयोग गर्दा बिरामीले हाछिउँ गर्दा र स्वास फेर्दा स्वास्थ्यकर्मीसम्म नपुग्ने केन्द्रले दाबी गरेको छ।

‘सरकारी, निजी, सानो, ठूलो र धनी गरिब नहेरी आवश्यकताअनुसार पिपिई कोरोना परीक्षण बुथ र एरोसोल बक्स वितरण गर्ने गरेका छौं,’ बानियाँले भने, ‘स्वास्थ्य संस्थाले चाहिएको जति स्वास्थ्य सामग्री माग्न सक्छन् तर त्यसको महत्व बुझुन्। सही सदुपयोग गरुन्।’

केन्द्रले ठूला अस्पताललाई २५, सानालाई १० देखि १५, प्राथमिक स्वास्थ्य केन्द्रलाई ६ र हेल्थपोस्टलाई तीनवटा दरले पिपिई उपलब्ध गराइरहेको छ।

स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामग्री निर्माण गर्न केन्द्रमा १८ प्राविधिक खटिएका छन्। केन्द्रका अधिकांश प्राविधिकले १६ घन्टा बढी खटिनुपरिरहेको इन्जिनियर दासले बताए। कामको भार बढी भएकाले उनीहरूका लागि खाने– बस्ने व्यवस्था केन्द्रमै गरिएको छ।

‘महामारी समयमा हामी १८ घन्टासम्म काम गरिरहेका छौं। महामारी रोकथाम तथा नियन्त्रणमा सबै मिलेर लाग्नुपर्छ,’ बानियाँले भने। नर्सिङ रोबोट निर्माण कार्य भइरहेको बताउँदै केन्द्रले रोबोट बनेपछि उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई थप सहज हुने बताएको छ।

राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले महामारीका समयमा सबैले एकजुट भई लाग्नुपर्ने बताए। केन्द्रले कुनै नयाँ आविष्कार गरेको नभई कपी गरेरै भए पनि सेवा गर्ने मौका पाएको उनले बताए।

‘आफ्नो क्षमता र बलबुताले भ्याएसम्म काम भइरहेको छ। अहिलेसम्म सबै स्वास्थ्य सामग्री निःशुल्क बाँडिरहेका छौं,’ केन्द्र प्रमुख पुनले भने,  ‘आवश्यक परेको बेला सबैले लाग्नुपर्छ, केन्द्रले पनि सक्ने काम गरिरहेको छ।’

महामारी समयमा सानो भए पनि काम गर्न पाउनु केन्द्रका लागि खुसीको कुरा भएको भन्दै उनले आविष्कार केन्द्रले अगामी दिनमा पनि गर्न सक्ने काम गर्ने बताए।



Leave a Reply

Your email address will not be published.