लकडाउनबारे सरकार अन्योलमा, सुझाव पेस गर्न मुख्यसचिव नेतृत्वको कार्यदललाई जिम्मा

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक सिंहदरबारमा सकिएको छ। बैठकले मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वमा रहेको कार्यदललाई ‘लकडाउन’ सम्बन्धी सुझाव पेस गर्न जिम्मेवारी दिएको छ।

कार्यदलमा विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा निकायका प्रमुख छन्। दोस्रोपटक सरकारले थप गरेको लकडाउन अवधि सोमबार सकिँदैछ।

कार्यदलले देशभरि एक महिनायता जारी लकडाउनको अवस्थाबाट सिर्जित परिस्थिति, लकडाउनको समय बढाउने-घटाउनेबारे भोलि बस्ने मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्ने पर्यटनमन्त्री योगेश भट्टराईले बताए।

‘अहिलेको परिस्थिति हेर्दा लकडाउन लचिलो पार्ने स्थिति छैन भन्ने सरकारको बुझाइ हो,’ भट्टराईले भने। उनको भनाइअनुसार भोलिको मन्त्रिपरिषद बैठकलले सम्भवत: लकडाउनको समय अरु एकसाता बढाउने छ। तर, विस्तारै लकडाउनलाई लचिलो पार्न कसरी सकिन्छ भन्नेबारेमा कार्यदलले अध्ययन अनुसन्धान गर्नेछ।

‘अन्तर्राष्ट्रिय अभ्यासहरूलाई समेत अध्ययन गरेर के कसरी अगाडि बढ्न सकिन्छ भन्ने कार्यदलले सुझाव पेश गर्ने छ,’ भट्टराईले भने। गत चैत ११ गतेदेखि मुलुकमा लकडाउन जारी छ। हालसम्म नेपालमा ४९ जनामा कोरोना संक्रमण देखिएको छ भने १० जना निको भइसकेका छन्।

बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु भने आगामी जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेकाे छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय