रमजानमा कोरोना संक्रमणबाट जोगिन मुस्लिम धर्मगुरुहरूको अपिल

महामारीका रुपमा फैलिएको कोरोना (कोभिड–१९) संक्रमणबाट जोगिन र जोगाउन मुस्लिम धर्मगुरुहरूले सम्पूर्ण परम्परागत तथा धार्मिक  कार्य घरमै गर्न सामूहिक अपिल गरेका छन्।

हरेक वर्ष लगातार एक महिनासम्म मनाइने रमजान पर्वको पूर्वसन्ध्यामा नेपालगञ्जका मुस्लिम धर्मगुरु, मौलाना र अगुवाले जुमाको नमाज, पाँचपटकको नमाज र तरावीहको नमाजसमेत घरमै पढ्ने गरी व्यवस्था मिलाउन र कोरोना संक्रमणबाट जोगिन सार्वजनिक अपिल गरेका हुन्।

सम्वाद समूह बाँकेको सहजीकरणमा नेपालगञ्जमा गरिएको मुस्लिम धर्मगुरु र अगुवाबीचको अन्तरक्रियात्मक सम्वादपछि उनीहरूले स‌ंयुक्त रुपमा उक्त अपिल गरेका हुन्।

कोरोनाको जोखिमपूर्ण परिस्थितिकाबीच केही दिनमै रमजान सुरु हुँदैछ। रमजानका क्रममा हुन सक्ने पारिवारिक भेटघाटलाई पनि सीमा दूरी कायम गर्दै सचेतता अपनाउन पनि उनीहरूले अनुरोध गरेका छन्।

मुस्लिम समुदायका केही व्यक्तिमा कोरोनाको संक्रमण देखीएसँगै समुदाय लक्षित सार्वजनिक टिकाटिप्पणी भएकोप्रति पनि सचेत रहन आह्वान गर्दै उनीहरुले रोग कुनै एक धर्म र समुदायसँग जोडिएको विषय नभएको बताएका थिए।

जारी अपिलमा समुदायमा रहेका सम्भावित कोरोना संक्रमित, आशंकित व्यक्तिहरूको पनि पहिचान गरि स्वास्थ्य परिक्षण, उपचार गर्न/गराउन पनि सरोकारवाला पक्षलाई आहवान गरिएको छ।

केन्द्रीय हज कमिटी पूर्वअध्यक्ष मौलाना अब्दुल जव्वार मञ्जरी, जामा मस्जिद नेपालगञ्जका मुफ्ती कैफुल वरा खाँ मिसवाही, मदरसा व्यवस्थापन समितिका पूर्वअध्यक्ष मौलाना मन्सुर अहमद, जामा मस्जिदका महासचिव इरफान सिद्यिकी, संविधान सभाका सदस्य भोला सिद्यीकी, मदरसा गौसीयाका सचिव मो हारुन र मुस्लिम संगठन नेपालका सहसंयोजक अतहर हुसेन फारुकीद्वारा हस्ताक्षरित अपीलमा कोरोना नियन्त्रणमा जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्न र धार्मीक तथा सामाजिक सदभाव सुदृढ गर्न सबैले आ-आफ्नो क्षेत्रबाट संयमता अपनाउन अनुरोध गरिएको छ।

अपील जारी गर्नुअघि सामाजिक सदभाव सुदृढीकरण, कोरोनाको जोखीम न्यूनीकरणमा निर्वाह गर्न सक्ने भूमिकाका सवालमा व्यापक विमर्श गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय