कोरोना महामारीविरुद्ध ‘मेची अभियान’ : ११ सयमै पिपिई

मुलुकमा विनाशकारी महाभूकम्प गएको आज पाँच वर्ष पुगेको छ । अर्थात् २०७२ वैशाख १२ गतेको महाभूकम्प गएको आज आधा दशक बितेको छ। महाभूकम्पमा हजारौंको ज्यान गयो, लाखौं मानिस घरबारविहीन भए। आफन्त र प्रियजन गुमाएको पीडा धेरैको मस्तिष्कमा अहिले पनि कहिल्यै निको नहुने खिल बनेर गडेको छ।

त्यसबेला भत्केका भौतिक संरक्षण बन्न अझै सकेको छैन। त्यही असीम पीडाका बेला तिनै भत्किएका मनहरुमा मलहपट्टी गर्ने अभिलाषा र योजनाका साथ मुलुकमा सुरू भएको एउटा अभियान अहिले पनि चलिरहेको छ।

खान नपाएकालाई खाना, नानाविहीनलाई नाना र छाना गुमाएकालाई छाना बनाउन सहयोग गर्ने उद्देश्यका साथ सुरू भएको मेची अभियान अहिलेको कोरोना संक्रमणको यो सन्त्रासमा पनि जारी छ।

उसबेला काभ्रेमा ६८ वटा घर र एउटा स्कूल, रामेछापमा दुई र दोलखामा एक र एक स्कूल निर्माण गरेर दरिलो उपस्थिति देखाएको मेची अभियान अहिले व्यक्तिगत सुरक्षा सामग्री ( पिपिई), मास्क, डिसइन्फेक्सन टनेल (सेनिटाइजर स्टल) निर्माण र वितरण तथा सेनिटाइजर हस्तान्तरणमा सक्रिय छ।

मेची अभियानका संयोजक हुन् विजय डालमिया। उनी कोरोना कहरको बेला पनि विपदमा परेकाको साथी बनिरहेका छन्, यो उनको कर्मले सिद्ध गरेको तथ्य हो। जब विपद आइलाग्छ उनी सक्रिय हुन्छन्, विपद पर्नासाथ उनी संयोजक रहेको अभियान झापामा पुनः सक्रिय भएको छ।

झापा मेचीनगर नगरपालिका–६ का युवा व्यवसायी विजयले भने, ‘पीडामा परेकालाई सहयोग गर्ने उद्देश्यले त्यसबेला थालिएको अभियान अहिले पनि जारी छ।’

मुलुकमा संविधान नभएको र राजनीतिक दल मूल मुद्दामा असहमत देखिएको र विपदको बेला एकीकृत बन्नु पर्ने सन्देश जनस्तरबाट दिन मेची अभियान सुरू गरिएको डालमियाले स्मरण गरे। ‘संकटको बेला फुटेर होइन, जुटेर अघि बढ्नु पर्छ भन्ने मान्यता त्यसबेला अभियानको थियो, अहिले पनि त्यही हो,’ उनले भने।

कोरोनासँग जुध्न र समस्यामा परेका नागरिकलाई जोगाउने प्रयास थालिएको संयोजक डालमियाले बताए। संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी र यो बेला परिचालन हुने सुरक्षाकर्मीहरुका लागि व्यक्तिगत सुरक्षा कवच (पिपिई)को अभाव हुन नदिने प्रयासमा आफूहरू रहेको उनले बताए।

डालमियाले भारतको राजधानी दिल्लीबाट २ सय थान पिपिई ल्याएर मेचीनगर नगरपालिकालाई हस्तान्तरण गरेका छन्। कोरोना संक्रमणको जोखिम बढेसँगै बजारमा सेनिटाइजरको अभाव भयो। व्यावसायिक सम्पर्कका आधारमा उनले तत्काल सेनिटाइजर ल्याएर उपलब्ध पनि गराए।

एक महिनाअघि चैत ११ गते सरकारले लकडाउन घोषणा गरेसँगै दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका धेरै परिवारलाई ‘मेची अभियान’मार्फत् खाद्यान्न सहयोग गएिको डालमियाले बताए।

उनीसँगै मेचीनगरका युवाको सक्रियतामा राजनितिक दलका स्थानीय प्रतिनिधिसमेत सम्मिलित छन्, ‘मेची अभियान’मा। नेपालमा कोरोना संक्रमणको जोखिम बढेपछि डालमियाले घरमा गुणस्तरीय मास्क र पिपिई सेट बनाइरहेका छन्। परिवारका सदस्यसमेत संकटका बेला नागरिकलाई बचाउन मास्क र पिपिई सेट तयार गर्न जुटेको उनले बताए।

लकडाउनको समयमा जिल्ला प्रशासन कार्यालय झापाबाट अनुमति लिएरै विराटनगर पुगेर त्यहाँका व्यवसायीसँगको समन्वयमा सामग्री ल्याएर घरमै पिपिई र मास्क बनाउने काम गरिरहेको डालमियाले बताए।

उनका अनुसार एक सेट पिपिईको मूल्य एक हजार एक सय छ। डालमियाको घरमा नै बनिरहेको मास्क तत्कालका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई मात्रै उपलब्ध गराइन्छ। र एउटा मास्कको ५५ रुपैयाँ पर्छ। आवश्यकता अनुसार पिपिई र मास्क बनाउन सकिने डालमियाको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय