शंकाको घेरामा पिसिआर मेसिन, प्राविधिकद्वारा परीक्षण गर्न अस्विकार

कोरोना परीक्षण गर्न प्रादेशिक अस्पताल जनकपुरमा जडान गरिएको पिसिआर मेसिन भरपर्दो नरहेको भन्दै प्राविधिकहरूले प्रयोग गर्न अस्विकार गरेका छन्।

प्रादेशिक अस्पतालमा स्वाब परीक्षण गर्दा नेगेटिभ आएको एक बालक कोरोना संक्रमित रहेको भन्दै राष्ट्रिय प्रयोगशाला टेकुले पुष्टि गरेपछि मेसिनको विश्वसनीयतामाथि प्रश्न उठाउँदै प्राविधिकहरूले यथास्थितिमा परीक्षण गर्न नसकिने बताएका हुन्।

भारत दिल्लीबाट चैत २३ मा रौतहट हुँदै सर्लाहीको धन्कौल पुगेका एक बालक कोरोना संक्रमित रहेको टेकुमा भएको स्वाब परीक्षणपछि पुष्टि भएको छ। यसअघि गत आइतबार प्रादेशिक अस्पताल जनकपुरमा बालकको स्वाब परीक्षण हुँदा नेगेटिभ नतिजा आएको थियो।

शंकास्पद देखिएका ती बालकको प्रादेशिक अस्पताल जनकपुरमा दुई पटक नमूना संकलन गरेर स्वाब परीक्षण भएको थियो। दुईपटक गरिएको नमुना परीक्षणमा उनी कोरोना संक्रमित नरहेको देखिएको थियो।

प्रादेशिक प्रयोगशालाका निमित्त निर्देशक रामविनय साह फरक नतिजा आउनुमा पिसिआर मेसिन प्रमुख कारण रहेको बताउँछन्। उनले स्तरीय पिसिआर नहुँदा स्वाब परीक्षणको नतिजा भरपर्दो हुन नसकेको बताए। निमित्त निर्देशक साह मेसिनकै त्रुटिले सर्लाहीको बालकमा पनि फरक  नतिजा आएको दाबी गरेका छन्।

अहिलेकै पिसिआर मेसिनबाट नमुना परीक्षण गर्ने अवस्था नरहेको बताउँदै उनले बढी क्षमताको मेसिन जडान नहुँदासम्म आफूहरूले नमुना परीक्षण नगर्ने उल्लेख गरे।

‘सयभन्दा बढी स्वाब परीक्षण गरिसकेका छौं, मेसिन भरपर्दो छैन,’ उनले भने,‘विहिबारको नतिजाले अहिलेसम्मको सबै मिहिनेत बर्बाद भएको छ। पछिल्लो नतिजाहरूमा अब आफैलाई विश्वास लाग्न छोडिसकेको छ। सही परिणाम नै नदिने मेसिनमा परीक्षण गर्नुको कुनै अर्थ छैन्।’

विश्वसनीय र बढी क्षमता भएको अर्को मेसिन जडान नहुँदासम्म परीक्षण गर्न नसकिने उनले बताए।

मेसिनमाथि सुरुदेखि शंका रहेकोले आफूहरूले यहाँ परीक्षण गरिसकेपनि पुनः परीक्षणको लागि स्वाबको नमूनाहरू राष्ट्रिय प्रयोगशाला टेकु पठाउने गरेको उनले जानकारी दिए।

‘सर्लाहीकै बालकको घटनामा हामीले दुईपटक स्वाब परीक्षण गरेका थियौं, दुबैपटक निगेटिभ देखाएको थियो, तर टेकुले पोजिटिभ भन्यो, मेसिनको समस्या हो,’ उनले भने।

‘प्रादेशिक अस्पतालमा ‘पोर्टेबल’ मेसिन जडान भएको छ, उच्च संख्यामा रहेको भाइरसमात्र यसले जाँच गर्नसक्दछ,’ उनले भने,‘दक्ष प्राविधिकहरू रहेपनि नतिजा फरक आएको छ, अर्को मेसिन जडान नभएसम्म यहाँ जाँच गर्नु बालुवामा पानी फ्याले सरहमात्र हुनेछ।’

अहिलेको मेसिन हटाएर नयाँ मेसिन जडान गर्नबारे आफूहरूले सम्बन्धित सरोकारवलालाई जानकारी गराइसकेको साहले बताए। उनी बढी क्षमताको मेसिन जडान नभएसम्म भरपर्दो नतिजा नआउनुका साथै विश्वाससमेत गुम्ने बताउँछन्।

‘प्रादेशिक प्रयोगशालामा कार्यरत सबै प्राविधिकहरू पिसिआर मेसिन चलाइसकेका छन्, जनशक्तिमा कुनै समस्या छैन्, सबै अनुभवी छन्, मेसिनले साथ नदिँदा फरक नतिजा आएको हो ,’ उनले भने। अहिलेकै मेसिनले स्वाब नमूना जाँच गर्नु भनेको व्यर्थ रहेको उनको भनाइ छ।

प्रादेशिक अस्पताल जनकपुरमा अहिलेसम्म जाँच गरिएका सबै स्वाब रिपोर्ट निगेटिभ आएको छ। प्रादेशिक अस्पताल जनकपुरमा विहिबारसम्म सयभन्दा बढी स्वाब परीक्षण भइसकेको छ। यहाँ जाँच भएका सबै नमूनमाहरूमा निगेटिभ नतिजा आएको छ। तर, विहिबार फरक नतिजा आएपछि यसअघि भएका सबै नमूनाहरू शंकाको घेरामा परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय