प्रदेश २ मा सेनाको स्वास्थ्य टोली परिचालन

हेल्थपोस्ट नेपाल

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र छाउनीले प्रदेश २ का आठ जिल्लामा वृहत टोली खटाएको छ। प्रदेश २ का बारा, पर्सा, महोत्तरी, रौतहट, धनुषा, सर्लाही, सिरहा र सप्तरी जिल्लाका २६ स्थानमा स्वाब परीक्षण गर्न शुक्रबार सेन्टरबाट टोली खटिएको हो।

छाउनी स्रोतका अनुसार ती जिल्लामा १ हजार ५ सय २० जनाको स्वाब संकलन गर्ने लक्ष्य छ। टोलीमा स्वास्थ्य मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका स्वाथ्यकर्मी छन्।

छ वटा टोली गठन गरेर त्यहाँ पठाइएको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ। सो टोलीले शुक्रबार र शनिबार दुई दिनमा सो बराबरको स्वाब परीक्षण गरी काठमाडौं लगायतका प्रयोगशालामा पठाउने योजना बनाएको छ।

यस्तै, बृहत् स्वाब संकलनार्थ उदयपुर खटिएको स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको टोलीले वैशाख ७ र ८ गते २५२ जनाको स्वाब संकलन गरी टेकुस्थित प्रयोगशालामा पठाएको सेनाले जनाएको छ। सो टोलीले उदयपुरमा अझ व्यापक रूपमा स्वाब संकलन गर्ने जनाइएको छ।

उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केमा २८ जना कोरोना संक्रमित बिरामी फेला परेका छन्। उनीहरूको कोरोना अस्पताल विराटनगरमा उपचार भइरहेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *